Part 1

“हिड्नु भयो?” “कुन बेला हिड्नु हुन्छ?” “हिड्ने बेला मेसेज गर्नु है|” “हजुर आउने हो नि?” “एउटा मेसेज  रिप्लाई गर्न सकिन्छ नि?”

मोबाइलमा मेसेजको बाढी नै आएको छ| कोहि मेरो मेसेज पर्खिएर बसेको छ, त्यसैले यति धेरै मेसेज छ मेरो मोबाइलको मेसेज बक्समा| हरियो रंगको मेसेजको आइकनले पनि टिका लगाएको छ, अंकको टिका| ५ वटा मेसेज छ मेरो मोबाइलमा| अहिले सम्म यो पनि बुझीसक्नु भयो होला, कि यो सबै मेसेज पठाउने व्यक्तिले प्रतिक्षा गर्दै छिन्, मेरो रिप्लाईको मात्र हैन, मेरो पनि| मेसेज आएको थाहा नपाएर मेसेजको रिप्लाई नगरेको हैन मैले| मेसेज आएको मैले थाहा पाउदा केहि हुन्न, तर अरुले थाहा पाउनु हुन्न| त्यसैले मोबाइल भाइब्रेसनमा राखेको थिए| तर जब मनमा डर हुन्छ, आफ्नो गल्तिहरुले सताई रहन्छ| मेसेज आउदाको त्यो सानो भाइब्रेसनको अवाज पनि मेरो लागि कुनै चत्यांगको आवाज जस्तै लाग्दैथियो| 

मैले आफ्नो परिचय दिन बाकि छ है? मेरो नाम आयुष्मान, आयुष्मान राज चौधरी| मेरो परिचय दिने शैली फिल्मी भयो है? यस्तै छु म, रमाउन मन लाग्छ मलाई| रमाउछु पनि तर कहिले खुलेर अनि कहिले लुकेर| म बिबाहित पुरुष हु| धेरै गम्भीर तरिकाले भने है मैले फेरी? यस्तै छु म, हाइ हुल्ला दिल खुल्ला भन्ने गर्छन् साथीले मलाई| मेरो शब्द अनि हजुरको समय, दुवै खेर नजाने तरिकाले, छोटकरीमा सक्याउछु आफ्नो परिचय| म ब्यापारी हु| ब्यापार मेरो चाहना हैन तर बाध्यता, यो मेरो धर्म हुन पुगेको छ| “यदि परिवारमा बस्नु छ भने, तैले ब्यापार हेर्नै पर्छ|” बुवाले यति भनेपछी म ब्यापारमा लाग्नै पर्ने भयो| परिवारको हिस्सा नहुनु भनेको, बुवाको अथाहा सम्पतिको हिस्सा नहुनु हो| म मुर्ख छु तर यति ठुलो मुर्ख हैन| सुरुमा मन नलागे पनि, समय संगै रुची बढ्दै गयो मेरो| मार्बल, तार, हार्डवेयर, खादान्ना, हामीले ब्यापार गर्ने धेरै सामान मध्य मुख्य सामान यहि हुन्| इन्डियाबाट आउने गर्छ धेरै सामान| म हजुरहरुलाई पकाउदै छु है, ल ब्यापारको कुरा गर्दिन अब|

मैले मेरो बिबाह भयो भने है? तर .. तर बिबाह मेरो चाहना पनि थिएन.. भयो, झनै वाक्क लाग्नेछ मैले आफ्नो बिहेको बारेमा भने भने| यदि समय अनि कथा, दुबैले माग्यो भने चाही अबस्य राख्ने छु यो घटना  पनि सबैको सामु| यस्तो गरौ न बरु, भुतको कुरा नगरौ, भबिस्यको कुरा नगरौ, बर्तमान मात्र बताउछु म| अहिले कसरि बाच्दै छु, अहिले के गर्दै छु, मेसेजको रिप्लाई किन नगरेको मैले, यहि बताउछु| अनि कहाँ जादै छु भनि पनि बताउछु|

मेरो बिहे भइसक्यो| हत्तेरी, तेस्रो पटक यहि कुरा बताउदै छु| घुमीफिरी यहि नै बताउदै छु| यसरि आफ्नो कथा अरुलाई भन्ने बानि छैन मेरो, त्यसैले पनि आत्तिएको हुनुपर्छ म, या उत्सुक पनि भन्न मिल्छ होला| धेरै राज छन्, जुन मलाई थाहा छ अनि मलाई बाहेक कसैलाई थाहा छैन| धेरै राज छन्, जुन मलाई थाहा छ अनि म बाहेक थोरैलाइ मात्र थाहा छ| अनि केहि यस्ता राज पानि छन्, जुन मलाई थाहा छ अनि म बाहेको त्यो एक व्यक्तिलाइ पनि थाहा छ, त्यहि पनि हामि बीच यो राज जस्तै रहन्छ, हामि दुवै यो राजबाट अविदित भएको नाटक गर्छौ हामि| अल्छी लाग्यो है? जान्दिन के म, जान्दिन आफुलाई व्यक्त गर्न| सक्दो सरल बनाउछु है मैले भन्न खोजेको कुरालाइ|

मेरो बिहे भइसक्यो| हत्तेरी चौथो पटक| मेरो बिहे भइसक्यो, त्यहि पनि म अरु कोहिसंग सम्बन्धमा गासिएको छु| यो कुरा मेरो श्रीमतीलाइ पनि थाहा छ| थाहा छ भन्ने कि शंका छ भन्ने| मात्र उनलाई थाहा छ| उनले थाहा पाए पनि थाहा नपाएको झैँ गर्छिन्| सहमति जस्तै हो यो, हामि बिचको सहमति, जसमा हामीले कहिले सल्लाह गरेको छैनौ त्यहि पनि सहमति जस्तै हो| यति हो, हामि एक अर्काको सम्मान गर्छौ, त्यसैले उनको अगाडी म उनको श्रीमान बन्छु| तर उनलाई राम्ररि थाहा छ, म अरु कुनै सम्बन्धमा गासिएको छु भनि| यसमा उसलाई केहि आपत्ति छैन, र मलाई पनि| उनले मलाई स्वतन्त्र भएर बाच्न दिएकी छिन्, अनि मैले उनलाई| ल यहि हो मेरो बैबाहिक जीवन, कसरि भने थाहा छैन, तर भन्न सकेको सबै भने मैले| मेरो श्रीमती म संगै छिन्, त्यसैले मैले मेसेजको रिप्लाई नगरेको हो|

म अहिले पोखरा जादै छु| घरमा ब्यापारको सिलसिलामा भनेको छु, कारण केहि अरु छ| जुन मलाई, हजुरलाइ अनि मेरो श्रीमती, सबैलाइ थाहा छ| मेरो घर लहान हो| हाम्रो ब्यापार क्षेत्र बिराटनगर हो| हिजो हाम्रो छोराको बर्थडे, त्यसैले लहानमा सबै भेला भएका हौ| श्रीमतीले एन.जी.ओ चलाउछिन्| सिमा पारि चेलीहरुलाई बेचिनबाट जोगाउनु नै त्यो एन.जी.ओ को मुख्य उदेश्य हो| बुडी उता एन.जी.ओ मा ब्यस्त, म ब्यापारमा| परिवारको लागि खुसि छौ हामी,  खुसि छौ हामि, तर एक अर्कासंग हैन, एक अर्काको लागि हैन, आफ्नो लागि| 

कार स्टार्ट गरे, कारमा एक्लो छु म| एक्लै जादै छु पोखरा, यात्राको सहयात्री कोहि नभए पनि, गन्तब्यमा कोहि पर्खिदै छ मलाई| पुस्पा नाम हो उनको| उनलाई नै भेट्न जादै छु पोखरा| ६ महिना भयो हाम्रो सम्बन्धको| हाम्रो सम्बन्धको बारे एकछिनमा भन्छु| सुरु देखि अहिले सम्म| तर पहिले केहि जरुरि काम गर्नु छ| पुस्पाको मेसेजको रिप्लाई दिनु छ| उनि चिन्तित छिन्| चिन्ता गर्नु पर्ने बिषय त हैन यो| मैले आउछु भनेर भनिसकेको थिए, पोखरा नजाने कुरै हुन्न| फेरी उसलाई यस्तो बेला मेसेज नगर भनेर हिजै सम्झाएको थिए| त्यहि पनि मेसेज नगरी नहुने| उनको माया हो तर मलाई गाह्रो पर्छ भन्ने उनले बिर्सिने|

“हिडे| चिन्ता नगर्| काठमाण्डौ पुगेर मेसेज गर्छु|” 5 वटा मेसेजको एउटा रिप्लाई दिए|

“ पेडा ल्याउनु भनेको बिर्सिनु भएको त छैन नि?” धन्न उनले सम्झाइन् नत्र बिर्सि सकेको थिए| बरमझियाको पेडा उनलाई निकै मन पर्ने| मैले गर्दा स्वाद पाएकी उनले, अब उनलाई त्यो स्वाद नभई नहुने| बिहानको ५ बजेको छ भर्खर, यात्रा लामो छ, झन् लामो हुने भयो| पेडा पाउने ठाउ उल्टो बाटोमा पर्छ, मेरो घरबाट ४५ मिनेटको दुरीमा, बिहान बाटो खालि हुन्छ, ३०-३५ मिनेटमा पुग्छु होला| फर्किदा पनि त्यहि हो| आज कुल मिलाएर १२ घण्टा कार चलाउनु पर्ने छ| यात्रा लामो छ तर यसमै मजा छ| 

“हिजो लिएको भए बासि हुन्थियो, अहिले लिन जादै छु|” बहाना बनाए र मोबाइल अफ गरे| उनलाई थाहा छ, जहिले लामो यात्र गर्दा , मेरो मोबाइल अफ नै हुन्छ भनि| चिन्ता लाग्दो हो उनलाई तर बानि अनि बाध्यता, मोबाइल अफ गर्नै पर्ने मैले| खालि बाटोमा, कारको गति १४० सम्म पुग्ने| बाटो खालि अनि सिधा, निर्धक्क भएर कार चलाउदै थिए र ३१ मिनेट लाग्यो बरमझिया पुग्न| फर्किदा पनि गति तिब्र,  7:10 मा बर्दिबास पुगे|

बल्ल रोमान्चक बाटो सुरु भयो| मोबाइल अन गरे, पुस्पालाइ अनि घरमा, एउटा एउटा मेसेज पठाए, बर्दिबास पुगे भनि, अनि फेरी मोबाइल अफ गरेर यात्रा सुरु भयो मेरो| बर्दिबासबाट बिपी हाइवे हुदै पोखरा जाने योजना हो मेरो| सिन्धुली बजारमा एउटा मिठो चिया पाउने पसल छ, त्यहाँ पुग्दा सम्म, पुस्पा र मेरो सम्बन्धको बारे सुनाउछु है त…

Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts