“नानि ७ बजि सक्यो,चाडै उठ, आज तेरो Interview हैन?” जहिले आमाले उठाउने बानि| उठ्न त म बिहान ६ बजे नै उठिसकेकि हुन्छु, तर ओछ्यान नछोड्ने मात्र हो| ५:३० देखि ६:०० बजे सम्म ६ वटा Alarm लगाएको हुन्छु जहिले, तर कहिले पनि ५:३० देखि ५:५५ बीचको ५ वटा अलार्मले मलाई उठाउन सक्दैन, जहिले ६ बजेको छैठो Alarm ले बिउझाउने गर्छ मलाई, त्यो पनि snooze गर्दा गर्दै जहिले ६:१५ पुर्याउने मैले| अनि त्यसपछि म के गर्छु थाहा छ? मोबाइल चार्जमा हालेर,मोबाइल चलाउन लाग्छु| राति फेसबुक र युटुब चलाउदा चलाउदै कुन बेला निदाउछु पत्तो हुदैन, जहिले बिहान उठ्दा मोबाइल स्विच अफ हुने अवस्थामा पुग्ने| अनि जब सात बज्छ, आमाले जहिले उठाउन आउने मलाई|
उठ्ने बित्तिकै भान्सामा छिरे म, चिया बनाउन आफ्नु लागि| बा-आमालाइ चाही पर्दैन, म उठ्नु अगाडी नै २ कप पुगिसकेको हुन्छ उहाहरुको| चिया बिना दिनको सुरुवात नै हुन्न मेरो, बिहान ओछ्यान छाड्ने बित्तिकै चिया र फेसबुकको न्युज फिड,यसरि नै जान्छ मेरो सुरुको आधा घण्टा| त्यसपछि भ्याए सम्म आमालाई भान्सामा सहयोग गर्छु अनि खाना खाएर ब्रस गर्न लाग्छु| यो मेरो बानि धेरैलाइ अचम्म लाग्दो रैछ,सबैले बिहान उठ्ने बित्तिकै ब्रस गर्छन् तर म चाही खाना खाएर मात्र गर्छु ब्रस| त्यो चाही किन भने,राति ओछ्यानमा पस्नु अघि ब्रस गरेर मात्र पस्ने गर्छु,त्यसैले|
धेरैले भन्ने गर्छन्, हामि केटीहरुलाई तैयार हुनलाइ घन्टौ लाग्छ तर यसमा चाही सहमति जनाउन सक्दिन म | हामीलाई तैयार हुनलाई धेरै लाग्दैन,१०-१५ काफी छ| समय लाग्ने भनेको तैयार हुन लाइ के लगाउने र के नलगाउने भनेर छुट्याउनलाइ हो, हिजो त्यहि मन परेर लगाएको लुगा आज आएर मलाई मन न पर्न सक्छ| हिजोको कुरा के गर्नु, अहिले भर्खर मन परेर लगाएको लुगा, एकछिनमा जुत्ता संग मेल खाएन भने मन पर्दैन| मेकअप गर्न चाही अलि अल्छी लाग्ने गर्छ मलाई, मुखमा र हातमा Sunscreen, ओठमा लिपस्टिक, आखामा गाजल र निधारमा त्यहि गाजलको सानु टिका, यती नै हो मेरो मेकअप भनेको| यति गरेपछि म तैयार भए, फेरी यो मेरो जहिलेको तालिका हो,सधै भनि रहनु नपरोस् भनेर आज छेउ देखि टुप्पो भन्दैछु नि|
आज मेरो interview, पुरानो अफिस छाडेर घर बसेको १ महिना नपुग्दै एउटा नया ठाउबाट जागिरको लागि अफर आयो र नाई भन्न सकिन| पुरानो अफिस छाड्नुमा आफ्नु केहि ब्यकिगत कारणहरु छन्, कथाले मागे भने त्यो पनि बताउनेछु| अहिले म जान लागेको कम्पनीको नाम थियो “कोड लाइट इन्फोटेक” र म बस्ने ठाउ(संगम टोल) बाट लगभग १० देखि १५मिनेटमा पुगिन्छ,हिडेर हैन नि फेरी| बाबाले नै पुर्याइदिन्छु भन्नु भएको छ आज, अभ त्यो १०-१५ मिनेट लाग्ने बाटोमा म आफ्नु बारेमा भन्छु है| भन्नु पर्ने कुराहरु त धेरै होला तर चाहिने जति मात्र भन्छु है आज| म बिहान उठे देखि के गर्छु अघिनै भने है, अभ चाही म मेरो बारेमा भन्छु|
कोहि संग सुरु पल्ट बोल्दा चाही अलि असजिलो हुन्छ मलाइ तर जब चिन्दै जान्छु त्यो मान्छेलाई, त्यसपछि चाही त्यो मान्छे वाक्क हुन्छ,कति बोल्दि रैछे भनि| फेरी मेरो मिल्ने साथीहरु पनि औलामा गन्न मिल्छन्, नाम अहिले एकछिनमा भन्छु है| अरु जो संग नि बोल्न सक्छु तर सुरुको एक दुइ दिन चाही गार्हो हुन्छ अघि भनिसके मैले| ल अहिले चाही interview दिने बेला भयो, बाकि निक्लिएर भन्छु है|
