“तिमीलाई म त्यसै रिसाए जस्तो लाग्यो होला है? तर म त्यसै रिसाएकी हैन| आफै सोच न, एक दिन अघि भेटेको मान्छेसंग म यति धेरै नजिकिए| स्वयम्भुको यात्रासंगै हामीले दुइ मन बिचको यात्रा पनि तय गरेउ| अनि त्यसपछि अचानक तिमीले फोन उठाएनौ| फेरी एक पल्ट हैन , दुइ पल्ट हैन, अनेकौ पल्ट| मेरो मनमा के के खयाल आए तिमीलाई कसरि बुझाउ म| अस्तिको रात पछी तिमीले फोन नउठाउदा मैले आफ्नो मनलाई के भनेर सम्झाउनु भन त?………….” कन्चनले यसरि नै आफ्नो मनको कुरा एक पछी अर्को गरि भन्न लागिन्| मैले पनि उसको हरेक भावाना बुझ्दै गए र आफ्नो पक्षको सफाई पनि राखे उसको अघि|
उसको रिस मर्न केहि समय लागेन| एकछिन कालो बादलको भुमरीमा फसेको हाम्रो मायाको बिमान, सकुसल निक्लियो त्यो भुमरीबाट| अब अघि छ त केवल एउटा सुन्दर दृश्य, भबिस्यको सुन्दर द्रिस्य| जीवनमा धेरै अघि लग्नु छ यो सम्बन्ध, यति चाडै कसरि हार मान्नु| बर्तमान हैन भबिस्य पनि कल्पिएको छु कन्चनसंग| कन्चनलाइ चिनेको कति नै दिन भयो र तर माया र सम्बन्धको गहिराइ दिनमा नाप्न नमिल्ने रैछ| म पनि कस्तो लाटो, माया कसले पो नाप्न सकेको छ र| माया त महसुस गर्नलाइ हो, यसको परिभाषा खोज्नु ब्यर्थ हो|
कन्चन र मेरो, दुबैको कलेज बिहानको समयमा| म यता ठिमीबाट गाडी चढे पछी उनीलाई फोन गर्ने, उनि पनि आफ्नो घरबाट हिड्ने| अनि दुबैको भेट लोकन्थलीमा हुने| बिहानको समय, गाडी खालि नै हुने ठिमीबाट त्यसैले मैले चाही बस्ने सिट सजिलै पाउने| तर लोकन्थली पुग्दा पुग्दै सिट एउटा खालि नहुने| उसलाई उभिएको देख्दा देख्दै म कसरि बस्नु सिटमा? त्यसैले उनको लागि सिट छाडेर म उभिन्छु| फर्किदा पनि संगै नै हुन्छौ हामि| कहिले उनीले पर्खिनु पर्ने र कहिले मैले|
“एउटा कुरा भन्छु, नहास है?” फोनमा गफ सामान्यरुपमा नै अघि जादै थियो| गफ केहि हाम्रो केहि अरुको हुदैछ, गफ केहि मिठा र केहि मजाकिलो हुदैछ| यसै बीच कन्चनले यसो भनिन्|
“ हास्दीन कसरि भनौ? यदि तिमीले हास्ने कुरा नै भनेउ भने, म नहासी कसरि बस्नु? अनि फेरी म हासे भने तिमि रिसाउने होला|” कुरै नसुनी, कुरै नबुझी कसरि हास्दीन भनि बाचा दिनु कन्चनलाइ|
“भन्न त मन छ तर तिमि हासेउ भने?” कस्तो दोधारमा परेकी कन्चन पनि|
“भन न भन| नहास्ने कोशिश गर्छु|” कन्चनलाइ केहि भए पनि भरोसा दिनु पर्यो, मा हास्दीन भनि|
“मलाई हरेक बेला कसैले पछ्याउदै छ जस्तो लाग्छ|” कन्चनले नहास्नु भनेर हास्ने कुरा गर्दै छिन्, अब म कसरि नहासु|
“अनि म हुन्छु नि त सधै तिम्रो वरीपरि|” बोल्न पाएको मौका खेर फ्यालिन मैले|
“तिमि हरेक कुरामा किन जिस्किन्छौ के?” कस्तो अचम्मको प्रश्न हो यो| आफैले जिस्किने कुरा गर्छिन् अनि म संग उल्टै रिसाउन पाइन्छ?
“ सुरु कसले गरेको?”
“म जिस्केको हैन के, मैले साच्ची भनेको|”
“मतलब?”
“बिहान कलेज जानको लगी चौकसम्म आउदा पनि कोहि मेरो पछी जस्तो लाग्छ| फर्किदा पनि त्यस्तै नै लाग्छ| एकछिन घरबाट कहिँ निक्लिदा पनि कसैले मेरो पिछा गर्दै छ जस्तो लाग्छ?”
“त्यस्तो लागेको मात्र होला| किन कसैले तिम्रो पिछा गर्छ?”
“ मेरो मनको भ्रम हुन सक्छ तर एकदिन दुइ दिन हैन| ६ दिन भयो आज|”
“त्यसो भए म भोलि आफै लिन आउछु तिमीलाई तिम्रो घर|”
“हुन्छ, तर तिमीलाई केहि थाहाछैन जस्तो गर है|”
कन्चन केहि चिन्तित थिइन् र उनको त्यो चिन्तित स्वर सुनेर म पनि चिन्तित हुदैछु| जीवनमा एउटा मात्र चाहना छ, उनको सबै इच्छा पुरा होस् तर उनीले अहिले जे सोच्दै छिन्, त्यो चाही पुरा नहोस्| उसको मनमा अहिले पनि यहि एउटा कुरा खेल्दै छ भनि मलाई थाहाछ| त्यसैले नाना थरि गफ गर्दा त्यताबाट अरु तिर उनको ध्यान केन्द्रित गराउन खोज्दै छु म| त्यति गरेपछि मात्र मलाई मिठो निन्द्रा लाग्यो|
अरु दिन भन्दा बिहान अलि छिट्टै उठे, कन्चनलाइ उनकै घर लिन जानु पर्ने| हिजोको सहमति अनुसार म कन्चनको घर अघि पुगे र उनीलाई फोन गरे| त्यहाँबाट कलेज सम्म र फर्किदा पनि कलेजबाट उनको घरसम्म नै म संगै नै भए आज| चिन्ता त उसको मनमा पनि थियो र मेरो मनमा पनि तर म खुसि पनि छु| अरुदीन भन्दा आज उनिसंग अलि धेरै समय बिताउन पाएको छु, अनि किन खुसि नहुनु म?
उनीलाई उनको घर सम्म पुर्याइसकेपछि, म जाने भनेको आफ्नो घर हो| हो म आफ्नो घर पुगे| मैले भने कि म सी.ए. पढ्दै छु भनि? छैन होला सायद| कन्चनलाइ मैले अनि मलाई कन्चनले समय नदिने हैन तर घर पुगेको 3 घण्टा भने हामि एक अर्कासंग नबोल्ने भनि सहमति नै भएकोछ| मतलब घर पुगेपछि दिउसो 4 बजे सम्म हाम्रो गफ नै हुन्न| 4 बजे सम्म मेरो छेउमा मोबाइल नै हुन्न भने पनि हुन्छ| मोबाइल आफ्नो कोठामा छाडेर म छतमा गएर पढ्छु|
आज पनि केहि फरक रहेन| घर पुगेर खाना खाएपछी म किताब बोकी मोबाइल छोडी, छतमा पुगे| जब छतबाट फर्किए, केहि भिन्न देखे आफ्नो मोबाइलमा|……..
