आजको दिन यसरि नै बित्यो, थप केहि गफ अनि केहि पुराना दिनको सम्झना| यता मेरो मन पनि हलुको र उता उसको पनि| मन हलुको गरेर सुत्नुको खुसि महसुस गर्दै छु, जीवनमा चाहिने यति त हो नि, हैन र? भोलि पल्ट म उठ्नु अघि नै मेसेज आइसकेको रैछ| बिहान पनि हैन, हिजो राति निष्ठासंग गफ गर्ने बित्तिकै म निदाएको थिए तर निष्ठा चाही सुतेकी रैनछ| फोन राखेको ३० मिनेट पछि निष्ठाले मेसेज पठाएको रैछे| “आज एकदम हलुको महसुस गर्दैछु म, धन्यबाद|” यति लेखिएको छ उसले पठाएको मेसेजमा|
राति ढिलो नै भएको थियो सुत्दा, बिहान ढिलो आखा खुल्नु पनि स्वाभाविक नै हो| फेरी उठ्ने बित्तिकै एकछिन योगा, अनि नित्य कर्म र एक कप कफी| यति काम गरिसकेपछी मात्र म मोबाइल हातमा लिन्छु र निष्ठाको मेसेज पढ्दा म अफिसको लागि तैयार भएर मोजा लगाउदै थिए| एकछिनमा रिप्लाई पठाउछु सोची अफिस निक्लिएर र अफिस पुगेपछि पनि त्यहि त हो, काम नै काम अनि यसै म कम मोबाइल चलाउने, रिप्लाई गर्न भुलेछु| उसको एउटा मेसेजको हैन, चारवटा मेसेजको| हुन चाही के भएको भन्दा, दिउसो भरि म काममा ब्यस्त भए| मोबाइल डेस्कमा नै छाडेर म यता उता भौतारिदै थिए काममा र यसबीच निष्ठाको 3 नया मेसेज आएछ|
“गुड मर्निंग| उठ्नु भयो? रिप्लाई पनि छैन है?”,“रिप्लाई किन नगरेको? मसंग बोल्नु हुन्न हो?”,“ह्य हजुर कस्तो के| म जस्तै नहुनु न, रिप्लाई दिनु न|” हो यहि तिन थप मेसेज हो उसको| उसलाई मेरो रिप्लाई यति महत्वपुर्ण किन भयो? अचम्म लाग्यो, उसले एउटा कुरा आफै विचार गरेकी रैछे| कुरा के भने, उ निष्ठुरी भएको कुरा उसले आफै स्विकारी आफ्नु अन्तिम मेसेजमा| निष्ठाको यो मेसेज पनि अफिसबाट निक्लिन लाग्दा मात्र देखेको हो, अब यसको रिप्लाई हैन उसलाई फोन नै गर्छु सोचे तर म संग अफिसको अरु केहि थप मान्छे पनि थिए,त्यसैले फोन चाही एकछिनमा गर्ने निर्णय गरे|
अफिसमा काम गर्न लागेपछी जिम जान नभ्याउने भएको छु अचेल र चुरोटको मात्रा पनि केहि बढेको छ तर यो चिन्ताको बिषय हैन मेरो लागि| चिन्ताको बिषय किन हैन भने, चुरोट दैनिकीको एउटा हिस्सा भएको छ, चुरोट नै दैनिकी भएको हैन| आज सिधै घर नगएर म एउटा क्याफे तिर लागे, हफ्तामा एकचोटी भने पुगेकै हुन्छ यहाँ| एक कप कफी, एउटा बर्गर र दुइटा चुरोट अर्डर गरिसकेपछी निष्ठालाई फोन लगाए, फोन लाग्यो, पुरै रिंग गयो तर उठेन| थप दुइपल्ट फोन गरे तर फेरी पनि फोन उठेन| सायद उ ब्यस्त हुनुपर्छ या उसले जानी जानी मेरो फोन नउठाकी , जे पनि हुन सक्छ तर मेरो अघि बर्गर थियो र मैले दिमागमा कुरा हैन बर्गरमा आफ्नु दात चलाए| क्याफेबाट सिधै घर अनि घर पुगेपछि आज खान बनाउनु नपर्ने, बर्गरले पेट भरेको छ| अब के गर्ने भन्दा लेख्न बसे| हिजो निष्ठासंग बोलेपछी दिमागमा एउटा लेखको बिचार आएको छ, त्यहि लेख्न लागे र नाम दिए “अन्तिम लेख”| यति भएपछी याद आयो, कफी र अन्डा दुवै सकिएको छ| अघि याद आएको भए अफिसबाट फर्किदा लिदै आउथिए, अहिले याद आयो र एकचोटी घर छिरेपछि निक्लिन पनि आलस्य मान्ने शरीरले| अण्डा मात्र लिन जाने भए जान्थिन होला तर कफी पनि भनेपछि कर लाग्यो जान| कफी र अण्डा संगै एक बट्टा चुरोट पनि लिदै घर फर्किए| कोठा पस्दा फोनको स्क्रिन अन नै देखे, मतलब फोन आउदै छ, हत्तारिएर सबै समान भान्सामा राखे र मोबाइल हातमा लिए| निष्ठाले फोन गरेकी, न उठाउने कुरै हुदैन|
“मेसेजको रिप्लाई किन नगरेको हजुरले?” यो प्रश्न हैन घुर्की लगाएको हो निष्ठाले मलाई, उसको बोलिमा मज्जाले झल्किन्छ|
“अनि तैले चाही फोन किन नउठाएको?” उ घुर्की लगाउदै छे र म पनि उसले जसरि नै प्रश्न गर्दैछु|
“म खाना पकाउदै थिए, थाहापाइन|” उसले मेरो प्रश्नको जवाफ दिई|
“म पनि उठ्ने बित्तिकै अफिस गए र दिउसो भरि त्यहि ब्यस्त भए| मेसेज देख्ने बित्तिकै फोन गरेको अनि|” सबै सत्यनै हो मैले भनेको तर एक पल्ट चाही मेसेज गर्न भुलेकै हो भनि चाही भनिन|
“ त्यसो भए ठिक छ, मैले त के के सोचेर बसेको थिए|” मैले मेसेज रीप्लाई नदिदा उसले सोचेर बस्ने रे, के सोचिछे त्यस्तो, उसले के गर्न खोजेकी बुझ्नै गाह्रो|
“म पागल जस्तो के| अब हजुर मसंग बोल्नु हुन्न जस्तो लाग्यो नि|” उसले भनेको पनि ठिकै त हो नि, यति पिडा दिएको मान्छेसंग किन म यसरि मज्जाले बोल्दै छु| म त उसंग नबोल्नु पर्ने हो है तर मनै त हो, यसले बदला हैन माया रोज्छ|
“ तेरै दिमागमा आउने रैछ नानाथरि बिचार| के के पकाइस त?” माहोललाइ धेरै गम्भीर बनाउनु उचित लागेन र कुरा सामान्य तरिकाले फरक धार तिर मोडे|
“के हुनु एक्लैलाइ, रोटि र आलुको सब्जी|” एक्लै रे? अनि मामु नि? यो प्रश्न आफुलाई गरेर हुन्न, निष्ठालाई नै गर्नुपर्छ|
“अनि मामु नि?” मेरो प्रश्न निष्ठासामु राखे, मनमा किन राख्नु बेकारमा|
“मामुको सरुवा भयो नि, म एक्लै हो अहिले|” ढोका दिने पनि र ढोका खाएको, दुवै एक्लै भएछन| मनले जिस्किदै सोच्यो तर निष्ठालाइ यो कुरा जिस्केर पनि भन्न मिल्दैन|
एकछिनको थप गफ अनि मामुको फोन आयो भन्दै उसले एकछिनमा फोन गर्ने बाचा गर्दा फोन राखी| तर……..
