मैले शोभालाई केहि जवाफ फर्काउनु अघि नै,प्रकाशले फेरी फोन गर्यो| हैन अघि सुत्न जान्छु भनेको थिए मैले,फेरी फोन किन गरेको होला| अघि नै प्रकाशको आवाज आधि नबुझिने भैसकेको थियो, अहिले झन् उग्र भैसकेको होला,फोन उठाउ कि नाई भन्ने दोधारमा परे,शोभाले उठा भनेपछि मात्र उठाए,त्यो पनि लाउडस्पिकरमा|
“हामि मिल्ने साथि है?” प्रकाशको प्रश्नहरु धेरै छन् भन्ने बुझे मैले,उता प्रकाश पुरै भाबुक हुदै बोल्दै थियो र शोभा मेरो पछी बसेर खितितीति हास्दै थि|
“हो,अघि भर्खर भनेको हैन मैले?” उसले चाहेको उत्तर यहि थियो सायद|
“म बाहेक तिम्रो मिल्ने साथीहरु अरु को को छन्?” आखिर उसले यी सबै प्रश्न किन सोध्दै छ?
“शोभा छे,स्नेहा छे ….|” यति भनि जवाफ फर्काउदै थिए तर उसले मेरो जवाफ पुरा नसुनी अर्को प्रश्न गर्यो| “केटि भनेको हैन,केटामा मिल्ने साथि अरु को को छन् तिम्रो?” उसको दिमागमा के छ भनि बुझ्ने गाह्रो भयो| एकछिन सम्म मैले केहि बोल्न नै जानिन, उत्तर छ म संग तर त्यो उत्तर ब्यक्त गर्ने तरिका थिएन|
“भोलि सोचेर भन्छु है|” मैले केहि बोल्न जानिन,मेरो हातबाट शोभाले मोबाइल खोसेर जवाफ दि|
“नाई अहिले भन|” उ कति झ्याप छ भन्ने बल्ल मात्र बोध भयो,शोभा र मेरो आवाज छुट्याउन नै सकेन| शोभाले खुसखुसे स्वरमा मलाई भनि “चिन्ता नले केटि,यो झ्याप छ,जे भनेनी हुन्छ,यसलाई भोलि याद हुन्न्|” शोभाले भनेको कुरामा म सहमत थिए तर पूर्ण रुपमा चाही हैन,डर चाही थियो उसले यदि सम्झियो भने|
“स्कुलका दुइ तिन जना छन्,कलेजको दुइ तिन जना,अनि घर तिरको पनि दुइ तीनजना|” शोभाले नै जवाफ फर्काउदै थि, छेउमा बसेर सुन्दै मात्र थिए|
“मलाई तिनीहरु मध्य सबै भन्दा मिल्ने साथि बन्नु छ तिम्रो|” कहिले काही जिस्केर उत्पतांग कुरा गर्थियो प्रकाशले तर आज जस्तो अहिले सम्म गरेको थिएन|
“त्यो त समयले भन्छ,हामि कस्तो हुन्छौ भनि|” शोभाले जे भन्दै थि,कस्सम म भन्न सक्थिन,सक्थिन भन्दा नि जान्थिन| प्रकाशले अहिले सम्म थाहापाएन,फोनमा बोल्ने म हैन शोभा हो नि|
“को समय?त्यो महाभारतको सुरुमा आएर मे समय हु भन्ने समयले?” के साह्रो रक्सि लागेको उसलाई, यहाँ मलाई सुनेर वाक्क लागिसक्यो,शोभा भने हासेर बसेकी छे|
“हो त्यहि समयले भन्छ|” आफ्नो हरेक जवाफ संगै शोभा झन् रमाउदै छे|प्रकाशले केहि न भनि फोन राख्यो र शोभा हास्न लागि,अनि म चाही चुप नै थिए शोभालाई आखा तर्दै|
“हेरिस्,मैले भनेको हैन,यसले तलाई माया गर्छ|” शोभाले यो भन्छे भनि म पक्का थिए तर सुन्न मन थिएन उसको यो वाक्य|
“त्यस्तो केहि हैन,रक्सीले झ्याप छ,जे पायो त्यहि बोल्दै छ|” यो कुरा अघि लानु नै थिएन मलाई|
“तेरो अगाडी होसमा हुदाहुदै भन्न नसकेको कुरा रक्सि पिएर बेहोसीमा भन्दै छ,बुझिस्?” यो कुरा मलाई पनि थाहाछ,तर प्रकाशलाइ मैले कहिले पनि त्यो नजरले हेरेको नै छैन| अघि सम्म प्रकाशलाई के जवाफ फर्काउने भनेर धौधौ परेको थियो,अभ शोभालाई जवाफ दिन गाह्रो हुदै गयो|
“हैन तैले पनि खाकी छेस् कि के हो?” दिमागमा केहि नआएपछी,मेरो जवाफ यत्तिमै सिमित भयो|
“खुब जानेकी छेस् है तैले कुरा घुमाउन?” हो मैले कुरा मोड्न खोजेकी हु तर शोभाले भने चाल पाई| मैले केहि बोल्न नपाउदै फेरी पनि प्रकाश को फोन आयो| हैन यो केटाले आज के गर्न खोजेको, कति फोन गरेको हो|
