Part 25

उसको माया स्वीकारे भनु कि,हाम्रो पुरानो सम्बन्ध जोगाउन नया सम्बन्धको सुरुवात गरे त्यो चाही अलि बुझ्न गार्हो पर्यो मलाई पनि|

अरुलाई के हुन्छ थाहाछैन, अब आइतबार अफिस कसरि जानु सोच्न लागे म| अफिस पनि उही नै हो,र त्यहाँ भएका सबै मान्छे पनि, बदलिएको थियो त केवल एउटा सम्बन्ध,त्यो पनि एउटा मान्छेसँग| यहाँ आइतबार सोचेर बसेको छु, भोलि शोभालाई चाही कसरि भन्ने होला? त्यो पनि सोच्न बाध्य भए एकैछिन भएपनि, शोभालाई नभनेर बस्न पनि सक्दिन तर भन्न चाही कसरि भन्ने हो? फेरी अहिले सम्म यति ठुलो निर्णय आफै एक्लैले कहिले पनि लिएकि थिन,जहिले शोभा हुन्थी जसको भर पर्न सक्थिए म तर आज …

मलाई कुनै खेल पनि मज्जासंग खेल्न नआए पनि, मेरो मन भित्र चाही धेरै कुराहरु खेल्न लागे र सायद थाक्यो होला मन र मस्तिस्क दुवै,निदाएको पत्तो भएन| सबै भन्दा ढिलो मा नै सुतेकी थिए तर सबै भन्दा चाडै निन्द्रा पनि मलाइ नै छाड्यो| म उठेको केहि बेरमा एक एक गरि सबै उठ्न लागे, कोहि टाउको दुख्यो भन्दै थिए भने कोहि भोक लाग्यो| यति मान्छे बीच हिजो देखि नै एक्लो थिए र अहिले पनि, साथ थियो प्रकाशको,उठ्ने बित्तिकै उसंग नै मेसेजमा बोल्दै बसेको थिए|

“हाम्रो बारेमा अहिले अफिसमा कसैलाई नभन्ने है|” प्रकाशले यो कुरा आफैले भन्यो,उसले नभनेको भए मैले आफै भन्थिए| अरु सामु यस्तो कुराहरु ल्याउन मलाई किन हो अप्ठेरो लाग्छ| मेरो मनको कुरा उसले आफै भन्यो,त्यो मनले यो मनको कुरा मज्जाले बुझ्ने रैछ| उसले आखिर मेरो मनको कुरा नै भनेको हो नि,मैले नाई भन्ने कुरै हुन्न,सहमति जनाए उसको त्यो वाक्यमा|

“ भन्न चाही भन्ने तर अलि पछि भन्ने है,सुष्मा तिमीसंग मिल्छे,उसलाई चाही भने हुन्छ|” मैले सहमति जनाइसकेको थिए,त्यहि पनि उसले यति थप्यो| सायद उसलाई केहि भएपनि खुलाउन मन रैछ हाम्रो बारेमा अरु सामु| तर उसले जति सजिलै सुष्मालाई भन भन्यो, त्यति सजिलो थिएन यो मेरो लागि| म गलत हुन सक्छु तर किन हो किन सुष्मालाई प्रकाश मन पर्दैन जस्तो भान भएको छ मलाइ|

“नाई,सुष्मालाइ पनि भन्दिन म,अहिले कसैलाई नभन्ने,पछी भनौला|” मनको कुरा उ सामु दुरुस्त हुबहु राखे|

“हुन्छ तिम्रो इक्षा,मैले के भन्नु र|” धेरैले भनेको सुनेकी छु,केटीको कुरा बुझ्न गाह्रो हुन्छ| तर म आफै केटि भएर प्रकाशले अहिले भर्खर भनेको वाक्य सकारात्मक हो कि नकारात्मक बुझ्न सकिन मैले आफै पनि| यस्तो भएपछी म सोच्न लाग्छु र जवाफ फर्काउन बिर्सिन्छु,अहिले पनि त्यहि दोहोरियो|

“मलाइ तिमिसंग भेट्न कस्तो हतार भइसक्यो|” मैले मेसेजको रिप्लाई नपठाए पनि,उसले आफै यति पठायो| र अन्त्यमा एउटा मुटु अनि हासेको एमोजी पनि थियो| उसलाई भेट्न हतार भयो रे,यहा आफुलाई डर लागि राछ|

“यहाँ मलाई अप्ठेरो लागिराछ,तिमीलाई भेट्नु पर्ने रे|” एउटा नया सम्बन्धको सुरुवात भएको थियो हामि बीच,उसंग केहि कुरा लुकाउन उचित लागेन,त्यसैले मनको कुरा फेरी पनि उ सामु हुबहु नै राखिदिए|

“के को अप्ठेरो हो,रात रात मेरो टाउकोमा सिङ्ग अनि मुखमा लामो लामो दात पलाएको जस्तो गरेउ तिमीले|” उसको यहि बानि मनपर्छ,जे कुरामा पनि हसाउन सक्ने उसको एउटा अनौठो खुबी नै हो|

“तिमीलाई के थाहा,मलाई यहाँ कस्तो भएको छ|” कस्तो कस्तो भएकै हो मलाइ तर त्यो लाज हो कि डर आफैलाई थाहा पाउन् मुस्किल भयो, अभ आफैले नबुझेको कुरा उसलाई कसरि बुझाउनु|

यस्ता धेरै गफ हुदै थिए हामि बीच,तर मेरो साथि उठ्नु अघि सम्म मात्र| त्यपछि अरु संग लुकीलुकी मेसेज लेख्नु परेको थियो| कसैलाई थाहा दिनु थिएन मेरो र प्रकाशको सम्बन्धको बारेमा,केहि गाह्रो त अबस्य नै भइहाल्छ नि सबैसंग यो कुरा लुकाउन| अब सबै घर तिर लाने तरखर गर्न लागेउ, आफुले राती शोभाकोमा बस्छु भनेको थिए र शोभाले चाही मेरोमा बस्छु 
भनेकी थि,त्यसैले घरबाट फोन आउने कुरै भएन|

“तलाई एउटा कुरा भन्नु छ| त मसंग मेरो घर हिड है|” शोभालाई यति भन्ने बित्तिकै उसले नाई भन्ने कुरै थिएन र हामी दुवै मेरो घरमा पुगेउ| मामुले जाने बित्तिकै हामि दुबैको लागी खाना पस्किनु भयो र म खाना खाएर म 
अनि शोभा लागेउ मेरो कोठा तिरे|

“त हिजो सुति हालिस्,प्रकाशले फोन गरेको थियो|” हो मैले कुरा यहाँबाट सुरु गरे र एक एक गरि हिजो देखि आज बिहानसम्मको सबै कुरा सुनाए उसलाइ| अरुबेला जिस्काएर बस्ने मान्छे हो शोभा तर आज गहिरेर सुन्दै थि मेरो कुरा, फेरी कुराकानी दुइ तर्फी हुदै थियो| उसको मनमा रहेको हरेक प्रश्नको उत्तर दिदै गए र उसले पनि धेरै कुरा भन्दै गइ मलाइ| सुरुमा मैले कहिँ कतै चाडै निर्णय लिएको हो कि भन्ने भान पारि मेरो मनमा तर बिस्तारै आफै मेरो निर्णयलाइ सहि साबित गर्दै गइ,उ पक्ष अनि बिपक्ष दुबैमा आफै बोल्दै थि|

“अब पार्टी कहिले त?” नेपालको नेतालाइ प्रधानमन्त्री हुने बित्तिकै भारत जानु पर्ने,अनि उसलाई चाही केहि खुसीको खबर पाउने बित्तिकै पार्टी खान जानुपर्ने| शोभाको बानि पनि|

“हिजो चाही के खाइस नि?” मैले यति भनेपछि चुप लाग्ली भनेको, तर लागिन र पार्टी दिने सहमतिमा कुरा टुंगियो| त्यो दिन पनि त्यसरी नै बित्यो| शनिबार गयो र आज आयो मलाई डर लागेको दिन आइतबार|

Previous article
Next article

Latest Posts