Part 43

“म अहिले पछी फोन गर्छु|” निष्ठाले यति भनेर फोन राखी| मैले मनको सबै सोच उसको सामु राखे जस्तो लाग्छ तर अझै धेरै भन्न बाकि छ| उसलाई भन्छु भनि सोचेको थिए आज सबै तर  उसले हत्तारिएर फोन राखी|

उसको यो बानिले मलाई सार्है रिस उठाउछ|  केहि कुरामा रिस उठ्नु या चित्त नबुझ्नु मात्र पर्छ, उसले दोस्रो पक्षको कुरा नसुनी फोन राखी हाल्छे| आफ्नो मनमा रहेको सबै भन्छे तर त्यसले अरुको मनमा के असर पर्छ, अरुको मनमा के छ केहि बुझ्न नखोजी पन्छिन्छे| आफ्नो मनको सबै कुरा भन्नु जति राम्रो केहि हैन तर अरुको मनमा के छ त्यो पनि बुझ्नु त पर्छ नि| उसको मन हलुङ्गो भयो होला तर मेरो मन भने अझै धेरै भारि नै छ, मनमा अझै धेरै भार छ, धेरै पहिले देखिको|

निष्ठासंग बोल्न फेरी लागेपछि, अहिले सम्म पनि सुरुमा मैले उसलाई आफैले फोन गरेको छैन, आज पनि केहि भिन्न भएन| उसले एकछिनमा फोन गर्छु भनि फोन राखेको पनि एक घण्टा भन्दा बढी भयो तर उसको फोन आएन| आज भने उसको फोनको प्रतिक्षामा नै बसेको छु, मनको सबै भावना जो पोख्नु छ| प्रतिक्षा खेर नै गयो, निष्ठाको फोन आएन, र पहिलो पल्ट भएपनि मैले आफैले फोन लगाए निष्ठालाइ| निष्ठाले आफैले फोन गरिन र मैले गरेको फोन उसले उठाइन| पक्कै पनि केहि कुरामा ब्यस्त भइ होला उ| सुत्नु अघि उसले नै गुडनाइट मेसेज गर्थी तर आज आएन त्यो मेसेज| मैले आफै नै पठाए उसलाई गुडनाइट लेखि र मेरो मेसेजको रिप्लाई पनि गरिन उसले|

निष्ठा एकछिनलाइ ब्यस्त भएकि होलि, ब्यस्त भएपनि एकछिनमा फोन आउछ कि भन्ने आशमा म लेख्न लागे आफ्नु डायरीमा| मोबाइल छेउमा नै राखेको छु अनि आवाज पनि पुरै आउने बनाएको छु, यदि उसले फोन गरि हाली भने पनि नछुटोस भनि| लेख्दा लेख्दै रातको दुइ बजेछ, लेख सकिएपछी मात्र चाल पाए| यति गरिसक्दा पनि निष्ठाको न मेसेज आएको छ न फोन| सायद उ पनि निदाईसकी होला भनि सोचे र आफु पनि सुत्ने तरखरमा लागे|

बिहान उठ्दा ढिला नै भयो, राति ढिला सुतेर हो| कफी र चुरोट संग नै बिहानीको सुरुवात गरे| अरु दिन कम सुते पनि पुग्ने हो मलाई तर आज भने निन्द्रा नपुगे झैँ भयो| अफिसमा ढिलो हुन्छु भनि मेसेज पठाए, धेरै हैन एक घण्टा ढिलो| निष्ठाए फोन उठाउछे कि भन्ने आशमा फेरी उसलाई फोन गरे तर उसको फोन फेरी पनि उठेन| उसको लागि मेरो मनमा प्रेम भाव छैन तर उसंग बोल्न चाही मन लागेक छ, उसलाई केहि भन्न बाकि छ, केहि कुरा अधुरा बसेका छन् मेरो मन भित्र|  

अफिस पुगेपछि कसैलाई सम्झिने समय नै मिलेन तर पनि उसलाई दुइटा मेसेज भने पठाए| “कहाँ छस्?”, “के गर्दैछस्? फोन किन नउठाएको?” यति लेखि पठाएको थिए निष्ठालाइ तर उसको जवाफ आएन| के भयो के फेरी यो केटीलाई अचानक| हिजो सम्म त्यति मज्जाले बोल्दै थिइ र अचानक आएर आफै गायब भइ|

उसले सम्बन्ध गास्न खोजेकी थिइ म संग तर मैले सम्बन्धलाइ सिधै नकारे| उसलाई यसले चित्त दुखेको त हैन नि? त्यस्तो चित्त दुख्ने कुरा पनि केहि छैन त मैले सम्बन्धलाइ नाई भन्दा| मैले त मेरो मनको कुरा मात्र भनेको हो, उसले मलाई आफ्नो मनको कुरा भने जसरि नै| उसले केहि अपेक्षा राखेकी थिइ होला मबाट, होला मैले त्यो पुरा गर्न सकिन तर यसरि बोलचाल नै बन्द गर्नु त पर्थिएन होला नि| उसले फेरी सानो कुरा मागेकी हैन म संग, उसले मरिसकेको सम्बन्धमा फेरी प्राण भर्न आग्रह गर्दै थिइ, जुन असम्भव छ| सम्बन्धको अन्त्य गर्ने निर्णय उसको थियो, मान्छु उसको केहि बाध्यता थियो र केहि असमझदारी पूर्ण निर्णय तर उसको यो निर्णयले मलाई जीवनको अर्कै पाटोमा पुर्याएकोछ| उसले सम्बन्ध अन्त्य गर्ने निर्णय लिई, मैले सजिलै स्वीकारे| उसले टुटेको सम्बन्ध फेरी जोड्ने कुरा गर्दै छे, म किन स्विकार्नु उसको सबै निर्णय?

उसले गर्दा हो, अहिले सम्म म कुनै मान्छेलाई पनि बिस्वास गर्न नसक्ने भएको छु| कसैमाथि बिस्वास नै लाग्दैन| न कसैको साथको बिस्वास लाग्छ, न कसैको बातको| जसलाई पनि बिस्वास गर्न खोज्छु, निष्ठाले दिएको पुरानो चोट आउछ आखा अगाडी| कति खोजे नया मान्छेहरुलाई बिस्वास गर्न तर खै कहिले मनले नदिने र कहिले मस्तिस्कले अनि कहिले अतितले| अब यति हुदा हुदै पनि बिस्वास तोड्ने मान्छेलाइ नै कसरि फेरी बिस्वास गर्न सक्छु म? मनमा अझै निकै कुराहरु चल्दै छन्, निष्ठा प्रति रिसको नजरले मात्र हेर्न लाग्यो यो मनले| निष्ठालाई चाहेर पनि घृणा गर्न सकिरहेको छैन मैले, अनि उसलाई माया गर्ने चाहना नै छैन| खै यो कुन द्वन्दमा फसेको छ मेरो जीवन|

अफिसको सबै काम सके, ढिलो अफिस आएपनि चाडै निक्लिए आज अफिसबाट| 4 बज्दा घर पनि पुगीसकेको थिए| जम्मा ६ घण्टा बसे आज म अफिसमा, अरु दिन ९ घण्टा हुन्थियो| दिमागमा अनेकौ कुरा आउन लागेपछि, ७५०एम.एल. ओल्ड दरबार पनि संगै लागे घर| चुरोट एक प्याकेट र आखा किलो कुखुराको मासु, हो यो पनि थिए आज बेलुकाको बन्दवस्त| बिहान अफिस जानु अघि घरमा नै तीनवटा चुरोट तानीसकेको थिए, अफिसमा थप ५ वटा र घर आउने बित्तिकै दुइटा,आज चुरोट अलि बेसी तान्दै छु म| मनलाई शान्त बनाउने कोशिश गर्दैछु| मासु भुटेर एउटा थालमा हाले, अनि चिउरा भुजामा थोरै दालमुठ मिसाएर रक्सीको बिर्को खोले| अभि र पंकजको झझल्को आयो, यसरि नै संगै बसेर कति रक्सि पिइयो उनिहरुसंग तर आज एक्लै छु म| प्राय अचेल एक्लै नै हुने गर्छु रक्सि पिउदा, प्राय हैन सधै एक्लै नै हो| अभिलाइ फोन नगरी बस्न सकिन, अभि र पंकज संगै रैछन फेरी| दुवै संग गफ हुन लाग्यो| उनीहरु उता चिया पिउदै छन् र म यता रक्सी| उनीहरुले एक गिलास सकिदा सम्म मैले यता 3 पेग रक्सि भ्याईसके|

निष्ठाको फोन आयो यसै बीच,कल वेटिंगमा भयो| अभिलाई फोन राख्छु भन्न नभ्याउदै निष्ठाको फोन कट्यो, र मेसेज आयो निष्ठाको| उसको मेसेज..

Previous article
Next article

Latest Posts