कन्चनको बारेमा सुजितालाइ केहि सोध्नु अघि, पहिले मैले टुंगो लगाउनुछ| आखिर सुजितालाइ केहि थाहा छ कि नाई भनि? अब यो चाही कसरि गर्ने? कन्चनको बारेमा सोध्नु धेरै पछिको कुरा हो| सुजितासंग पहिलो गफ कसरि सुरु गर्नु मैले? सुजिताले पक्कै पनि आफैले पहिले बोल्दिनन्, बोल्नु पर्ने मैले हो र बोल्ने बहाना खोज्ने पनि मैले नै हो|
“हेल्लो! के छ? खाना खायौ?” सुरुवात यसरि नै गरे मैले च्याटमा|
“उम्म खाए| तिमीले नि?” अनुमानित जवाफ आयो सुजिताबाट|
“मैले पनि| के छ तिम्रो खबर? के गर्दै छौ?” मलाई हत्तार भइसकेको छ, सुजिताबाट कन्चनको बारे थाहापाउन| त्यसैले दुइटा प्रश्न एकैपल्ट राखे|
“सबै ठिकै नै भनौ मेरो खबर| अनि मेरो आइडी कसरी भेटेउ नि?” बडो मुस्किल प्रश्न आयो सुजिताबाट, यसको जवाफ दिन मलाई हम्मे हम्मे पर्नेछ|
“कसरि भनौ अब! फेसबुक चलाउदा चलाउदै तिम्रो नाम र फोटो देखे|” झुठ बोले, मेरो काम सकियो| अब सुजिताले मेरो यो झुठलाइ कसरि लिन्छिन् भन्ने कुरा हो| उनले सजिलै स्विकारिन् भने केहि भएन तर मैले थप केहि झुठ बोल्नु पर्यो भने चाही म संकटमा पर्छु|
“ कन्चन म्युटुअल फ्रेन्ड भएर होला त्यस्तो भएको|” सुजिताले यति भनेपछी म पक्का भए कि म अनि कन्चन बोल्छौ भनि सुजितालाइ थाहाछ| पक्का चाही नभनौ, अनुमान हो यो मेरो|
“होला होला|” मैले यसबाहेक केहि जवाफ नै भेटिन|
“अनि स्वयम्भुको फोटो किन नहालेको तिमीले? कन्चनले फोटो पठाईसकी भन्दै थिइ त!” सुजिताको यो वाक्यले मेरो अघिको अनुमानमा सहिछाप लगाईदियो| सुजितालाइ थाहाछ, म र कन्चन बोल्छौ भनि| तर अझै पनि यति पर्याप्त हुन्न सुजितासंग कन्चनको बारे सोध्न| कन्चन र म बोल्ने मात्र हैन, हामि सम्बन्धमा पनि छौ| के सुजितालाइ यो पनि थाहा छ कि नाई? यो पनि पक्का गरि मात्र अघि बढ्नु पर्ने छ मैले|
“कन्चनले फोटो पठाउन त पठाएकी थिइन् तर डिलिट भएछ|” यो झुठ बोल्ने कला आफै बिकसित हुदो रहेछ गाह्रो साह्रो परेको बखत|
“अनि फेरी माग्नु पर्छ नि| पख म एउटा ग्रुप बनाउछु हामि तिन जनाको|” सुजिताले यति भन्दै एउटा ग्रुप बनाइन् मेसेन्जरमा| ग्रुप बनाउने बित्तिकै पहिलो मेसेज पनि सुजिताले आफै पठाइन्, “ भेडी, अस्तिको सबै फोटो यहाँ पठा त|” कन्चनको एउटा नया नाम थाहापाए, “भेडी” भनि| सुजिताले त्यति लेख्ने बित्तिकै कन्चनले सबै फोटो त पठाइन् तर त्यसपछी ग्रुप फेरी शान्त भयो|
“के भो? कोहि बोल्दैनन् त?” ग्रुप नै शान्त भएपछी फेरी पनि सुजिताले मेसेज पठाईन्| बोल्न म तैयार छु तर जो संग बोल्न खोज्दै छु, उनि तैयार छैनन् भनेर सुजितालाई कसले भनिदियोस्| सुजिताको मेसेज पछी कन्चनले मेसेज गरि ग्रुपमा| “के छ तेरो खबर?” यो मेसेज सुजिताको लागि थियो मेरो लागि हैन, त्यसिले जवाफ पनि सुजिताले नै फर्काइन्| एकछिन सम्म सुजिता र कन्चन नै बोले, म चाही दुबैको मेसेज हेरेर बस्दैछु| कन्चनसंग बोल्न नपाए के भयो त, उसले बोलेको हेरेर पनि खुसि नै छु म|
“ तिमिहरु एक अर्कासंग चाही कि नबोलेको? झगडा परेको हो?” सुजिताको यो प्रश्न मेरो लागि पनि थियो र कन्चनको लागि पनि तर जवाफ न मैले दिए न कन्चनले| झगडा परेको भन्दा नि रिस उठेको हो कन्चनलाइ मसंग| कारण सायद मलाई पनि थाहाछ तर रिस अन्त्य कसरि गर्ने चाही मलाई थाहाछैन| कन्चनले केहि नभने पछी मैले नै भन्न कर लाग्यो र मैले कन्चन रिसाएको छ भनि लेखे|
सुजिताले कारण सोधी|अघि जस्तै सुजिताले सोधेको दुबैलाई हो तर फेरी पनि जवाफ कसैले दिएनौ, न मैले न कन्चनले| एकछिन सम्म पनि कन्चनले केहि लेखिनन्| अब फेरी पनि मैले जवाफ दिनु कर लाग्यो| तर यसको जवाफ मलाई पूर्ण रुपमा थाहाछैन, सानो अंश थाहाछ र बाकि त मेरो पनि अनुमान हो| अब अनुमानको भरमा सबै भन्न पनि मिलेन तर नभनी पनि भएको छैन|
“हिजो बेलुका म साथीकोमा गएको थिए, फोन घरमा नै छुट्यो| अनि कन्चनले फोन गरेकी थिइन् त्यहि बेला|” मैले जति बुझेको त्यति नै भने|
“फोन गरेको मात्र हो? ३८ चोटी फोन गरेको थिए मैले?” रिसमा भएपनि यति चाही बोलिन् कन्चनले| थोरै भए पनि खुसि भए म| तर उसको मेसेजमा रिस चाही गुन्द्रुक खादिएंको झैँ खादिएंको छ|
“मसंग फोन नै थिएन अनि के गर्नु? आउने बित्तिकै फोन गरेको थिए त मैले|” कन्चनलाइ मैले फकाउनु पनि छ र आफ्नो सफाइमा बोल्नु पनि छ| दुबै संगै नै गरे मैले|
“ फोन गरेर रिस मर्छ नि है? बाहिर जान लागेको मान्छे भनेर त जानु पर्छ नि?” कन्चनको यो वाक्यमा, अघिको वाक्य भन्दा रिस केहि कम छ|
“मैले घरमा फोन छोडेको हैन छुटेको हो| अब मैले के गर्नु भन त? मैले जानी गरेको गल्ति हैन नि|” आफु निर्दोष छु भनि सफाई दिन खोज्दैछु म, थाहाछैन उनले बुझ्ने हो कि नाई|
“अनि नजानी गरेको गल्ति गल्ति नै हैन त? थाहाछ तिमीले त्यति धेरै पल्ट फोन न उठाउदा मेरो मनमा के के कुरा खेल्दै थियो भनि? तिमीलाई त के थाहा होला, तिमि त साथिहरु संग मस्त थियौ|” कन्चनको रिस अघि भर्खर कम भएको झैँ लागेको थियो तर अहिले आएर उसको रिसले झन् ठुलो आकार लियो| धन्न ग्रुप च्याट हो र सुजिताले सबै थोक बिस्तारै मिलाउदै गइन्| कन्चनको रिस त मर्यो तर उनि अहिले सम्म पनि फक्कीएकी भने थिइनन्| फेरी मैले फोन उठाइन भन्दैमा कन्चन यति धेरै रिसाउनु पर्ने पनि त थिएन नि| उनि रिसाउनुको कारण केहि अरु नै छ भनि भान भयो मलाई| तर अहिले भर्खर मिलेको झगडा, झगडाको कारण सोध्न खोज्दा फेरी बल्झियो भने के गर्ने? कस्तो अचम्म है, झगडा पर्यो हामि बीच, कारण मलाई थाहाछैन उनिलाई मात्र थाहछ| अब त्यो कारण अहिले सम्म पनि पत्तो छैन मलाई तर झगडा सकियो र मेलमिलाप भइसक्यो| अब त्यो कारण चाही कसरि पत्ता लगाउने?
फोन गरे कन्चनलाइ, फोन उठ्यो पनि| उनको आवाजको बानि परेको धेरै भएको छैन तर यति थोरै समयमा पनि यो आवाज यति प्यारो भयो कि, एकछिन सुन्न नपाउदा पनि तड्पिए म| कन्चनलाइ फकाउनलाई फोन गरेको मैले र त्यहि गर्न लागे| बोल्दै गए कन्चन संग र मैले नसोधी कारण उनले आफै बताइन्|
“तिमीलाई म त्यसै रिसाए जस्तो लाग्यो होला है? तर………
