Part 1

माया! दुइ अक्षरको शब्द जहाँ पुरै संसार नै अटेको छ| माया पनि त्यो चुरोट हो, जसको प्रभाव यसको स्वाद चाखेको र लतमा फसेका लाइ मात्र थाहाछ| अरुलाइ त माया के हो के हो भए पनि मायामा फसेकालाइ माया नै जीवन हो|  माया मान्छेलाइ लत जस्तै लाग्छ र बिस्तारै ज्यान लिदै जान्छ| मायामा ज्यान दिने धेरै हुन्छन तर के कसैले मायामा ज्यान लिन पनि सक्छन? यो प्रश्नको जवाफ “परजुना” हो|

परजुनाको माया गर्ने तरिका भिन्न हो कि उनको मानसिक अवस्था भिन्न हो| नत्र उनले रविको मायाको खातिर कन्चनलाइ त्यति दुख पक्कै पनि दिन्न थिइन् होला| परजुनाले गर्दा रबि र कन्चन धेरै पिडाबाट गुज्रिनु पर्यो| रबिसंगको अन्तिम भेट पछी परजुनालाइ आफ्नो गल्तिको महसुस भने अबश्य भएको थियो| यता कन्चन र रबि अहिले खुसिको साथ बाच्दैछन्| तर रबिसंगको अन्तिम भेटपछी परजुनाको कहानीले कुन मोड लियो? परजुना अहिले कहाँ छिन्? अहिले नि के गर्दैछिन्? के अहिले पनि रबिको यादमा बाच्दै छिन् कि उनि अतितबाट पर भइसकिन्? यो कथा “अविदित” ले यति प्रश्नको मात्र जवाफ दिदैन| केहि यस्ता प्रश्नको जवाफ पनि दिन्छ जसको खोजमा परजुना आफै छिन्|“नपलाएको माया” कथामा पनि केहि प्रश्नहरु थिए जसको जवाफ धेरै पाठकले पाउनु भएको छैन| परजुनाको नया जीवन अनि नया सम्बन्ध पनि सामेल हुन सक्छ|  केहि जवाफ, केहि रहस्य अनि केहि मिठा पलको बयान, यस्तै छ यो कथा “अविदित” |

भन्छन, मायामा र युद्धमा सबै जायज हुन्छ| त्यसो भए मायामा सहि गलत केहि हुदैन हो? कि मायामा सबै सहि मात्र हुन्छ अनि गलत केहि हुदैन? त्यसो हो भने, मेरो लागि जे सहि छ त्यो अरुको निम्ति गलत रैछ भने नि? अब मेरो सहि सहि हो कि उसको सहि सहि हो? कि दुवैको सहि सहि हो कि दुवै सहि गलत हो? मायामा सहि गलत हुन्छ हुन्न मलाई थाहाछैन| मलाई जे थाहाछ त्यहि भन्छु| मैले अघि मात्रै पनि भने, मायामा सहि गलत हुन्छ कि हुदैन मलाई थाहाछैन| मलाई यति मात्र थाहाछ कि माया भावना हुन्छ| अनि भावना संगै हुन्छ चाहना| चाहना, संगै जीवन बिताउने| चाहना, सबै भावना साट्ने| चाहना, एकअर्काको साथमा रमाउने| चाहना, सम्बन्ध अजम्बरी बनाउने|चाहना दुवै खुसि हुने| जति धेरै भावना त्यति नै धेरै चाहना| अनि एउटा अन्तिम चाहना, माथिको सबै चाहना पुरा गर्ने| मलाई यत्तिनै थाहाछ मायाको बारेमा|

जब भावना अनि चाहना दुवै मर्छ,अनि मन पनि मर्दै जान्छ| यसरि माया र सम्बन्धको अन्त्य हुन्छ| सबै सरल जस्तो देखिन्छ है तर यति सरल छैन| अवस्था जटिल त्यस बखत हुन पुग्छ, जब सम्बन्ध सकिन्छ तर भावना र चाहना अझै बाकि हुन्छ| भावना र चाहना कहाँ त्यति सजिलै मर्छन र!  बुझ्नु भएन? भावनाले सम्बन्धको सुरुवात हुन्छ तर सम्बन्ध सकिएपनि भावना अझै बाकि हुन्छ|  कोहि मान्छे जीवनमा हुदैन तर त्यो मान्छेको निम्ति भावना बाकि हुन्छ र संगै हुने चाहना याद जसरि नै मेटिएको हुदैन| स्थिति झनै जटिल बनिदिन्छ जब एक व्यक्तिमा मात्र संगै हुने चाहना हुन्छ र दोस्रो व्यक्ति अर्को सम्बन्धमा हुन्छ| मसंग पनि त्यहि नै हुदै थियो| रबि नया सम्बन्धमा गासिसकेको थियो र त्यसमा रमाउदै थियो उ| तर म भने अहिले पनि उसकै याद र आशमा छु|

माया हामि दुबैले गरेका थियौ| छुट्टिदा पिडा पनि दुबैलाई भएको थियो| सम्बन्ध सकिएपनि आश अझै बाकि थियो म भित्र| मैले रबिको लागि के पो गरेको थिइन| सायद गल्ति बोले मैले, जे गरे मैले हाम्रो सम्बन्धको लागि| रबिसंग नजिक हुन्छु भनेर परिवारसंग झगडा गरि नेपालमा नै बसे| +२ पछी विदेश पठाउन लागि पर्नु भएको थियो मामु-बाबा तर उहाहरुको इच्छा बिपरित नेपाल बस्ने निर्णय लिए| रविले यो कहिले बुझेन तर बुझोस् पनि कसरि? मैले उसलाई कहिले भनेको पनि छैन| यसरि धेरै पल्ट आफ्नो परिवारको खिलाफ गएर रबिसंग नजिक भए म| त्यसरी नै साथीसंग र आफैबाट पनि कति पल्ट पर भए रबिसंग नजिक हुनको लागि| म मान्छु, सम्बन्धमा आफुले जे दियो जे गर्यो त्यहि फिर्ता पाइन्छ भनि आश गर्नु हुन्न तर आश भने लाग्छ नि| माया गर्ने मान्छेलाइ गुमाउनु थिएन मलाई| मेरो नजिकको मान्छे यसै थोरै थिए र रविले पनि छाडी गयो| रविले छाडेको केहि दिनमा बाबा-आमाको पनि मृत्यु भयो| फेरी पनि रविलाई आफ्नो जीवनमा फिर्ता ल्याउन खोज्दा थाहापाउछु उ नया सम्बन्धमा छ| धेरै नजिकको मान्छे गुमाई सके, अब थप कसैलाई गुमाउन सक्ने शक्ति छैन मसंग|

मैले नबुझेको एउटा कुरा, जब हामि दुबैले माया उत्तिकै नै गरेको थियौ भने, रबिले कसरि यति चाडै मलाई भुली अरुलाई अपनाउन सक्छ| अनि म किन उसलाई नै पर्खेर बसेकी थिए? के हामीले एक अर्कालाइ बराबर माया गर्थिनौ? कहिँ रविले धोका त दिदै थिएन मलाई? माया गर्छु भनि झुठ बोल्नु पनि धोका दिनु नै हैन त? यदि मसंग सम्बन्धमा हुदाहुदै उसले धोका दिनु सहि हो भने, मैले उसलाइ पाउने चाहना राख्नु पनि सहि हो| मैले रबिलाइ माया गर्थिए, त्यसैले त दुख्यो मलाई जब मैले थाहापाए उ अहिले कन्चनसंग छ भनि|

सम्बन्धमा आफ्नो भन्दा पनि आफुले माया गरेको मान्छेको खुसिमा खुसि हुनुपर्छ भन्ने थाहाथियो मलाई| असह्य भयो मलाई रबि र कन्चनको सम्बन्ध| उनिहरु संगै छन् भनि सोच्दा पनि मलाई जलन हुन्छ| उनीहरुको खुसिले मलाई पोल्दैछ| उनीहरुको हासोले मलाई पासो लगाउदैछ| उनीहरुलाई संगै देख्न सकिन मैले तर मैले गर्न सक्ने पनि केहि थिएन| यत्तिकैमा मैले क्षितिज़लाइ चिने| क्षितिजसंग नजिकिदै गए| उदेश्य एउटा मात्र थियो| क्षितिजको मदतले कन्चन र रबिलाइ पर बनाउने| क्षितिजको बुवा नेता, पहुच निकै राम्रो छ|  मलाई थाहाछैन क्षितिजलाइ माया चाहिएको हो या मेरो शरीर| मलाई चाहिएको भनेको क्षितिजको मदत रबि र कन्चनलाइ छुट्ट्याउनलाइ| यसरि मैले आफ्नो जिउको सौदा गरे क्षितिजसंग र आफ्नो इच्छा पुरा गर्दै गए|

कन्चनमाथि बिभिन्न हमला र ज्यान लिने षड्यन्त्र पनि रचे| कन्चनलाइ तड्पाई तड्पाई मार्नु थियो तर रबिलाइ अलि पनि चोट पुर्याउनु थिएन| त्यसैले रवि कन्चनको छेउमा नहुदा मात्र कन्चनमाथि हमला गर्न लगाए| कहिले क्षितिजले आफुले चिनेको गुन्डा पथाउथियो र कहिले म आफै पुग्थिए| हमला बढ्दै गएपछी रबि हरेक बखत कन्चन संगै हुनलाग्यो| त्यहि पनि कन्चन माथि हमला रोकिएन| मैले जे गरेपनि, न प्रहरीले केहि गर्न सक्यो न अरुले| किन भने,क्षितिजको पहुचले मलाई जोगाएको थियो|

रबिलाइ पाउनु मेरो चाहना हो कि हैन, थाहाछैन मलाई| यति मात्र चाहना छ अहिले, रबि कन्चनसंग हुनुहुन्न| मसंग बच्नको लागि दुवै पोखरा पुगे र कन्चनको ज्यान लिन भनि म पनि पोखरा पुगे| त्यहाँ कन्चनलाइ पछ्याए र रबिसंग पनि नजिक भए| मैले कन्चनको ज्यान लिनको लागि आफ्नो शरीरको सौदा गरेको थिए क्षितिजसंग| अनि रविले कन्चनको ज्यान बचाउनको निम्ति, उसको शरीरको सौदा गर्यो मसंग| त्यो दिन कन्चनलाइ जसरि पनि सक्याउछु सोचेको थिए, तर रबिसंगको अन्तिम बार्तालापले मलाई  फेरी सोच्न बाध्य बनायो| मलाई बल्ल बोध भयो, मायामा गलत या सहि केहि हुदैन| गलत हुन्छ त केवल मानिस| अनि अहिले गलत म छु| कन्चनको ज्यान लिन्छु भनि मैले सोचेको, म हत्यारा हो नै| तर रविले जब मलाई “हत्यारा” भन्यो, अनि मात्र थाहापाए मैले म कहाँ सम्म गिरेको रैछु| आफ्नो गल्तिको बोध र बोझ दुवै लिएर म त्यहाँबाट कोठा फर्किए|

मैले गर्दा कन्चनलाइ जे जति दुख पुग्यो, पिडा पर्यो त्यसको लागि माफी माग्न चाहन्छु| कन्चनलाइ दुख पुर्याउदा मैले एकपल्ट पनि सोचिन कि कन्चनलाइ पिडा पुर्याउनु भनेको रविलाई पिडा दिनु हो| रबिले मलाई “हत्यारा” भनेको अहिले सम्म पनि मेरो कानमा गुन्जिदै छ| बारमा यति धेरै मान्छे छन् तर पनि म रविकोको त्यो एउटा शब्द मात्र सुन्दै छु| “म पापी हु तर हत्यारा हैन|” यहि सोच्न लागे मैले| रबि र कन्चनले मलाई माफी दिन्छन कि दिदैनन् भनि थाहाछैन तर अब आफैले आफुलाई माफी दिन सक्दिन म|

रविको आवाजले मलाई पागल बनाउन लाग्यो र बारबाट निक्लिए आफ्नो कोठा पुगे, क्षितिज पनि काठमाण्डौबाट पुगीसकेको थियो| बाल्कोनीमा गए र रविले भने जसरि नै हत्यारा हुन खोजे | बाल्कोनीबाट हामफाले र अहिले आखा खुल्दा हस्पिटलमा छु| ज्यान गुमाउन आत्माहत्याको प्रयास गरेको हो मैले तर असफल रहे| आखाँ खुल्ने बित्तिकै आखा छेउको टेबुलमा गयो, त्यहाँ रहेको कागजबाट थाहापाए म मनिपाल टिचिंग हस्पिटलमा रैछु| हातमा अहिले पनि स्लाइन पानि जोडिएको छ| तर यहाँ म किन एक्लै छु? कसले ल्यायो मलाई यहाँसम्म? एकछिनमा आखा ढोका खुल्छ र मेरो अगाडी….

Next article

Latest Posts