Part 24

होटेलको रिसेप्सनमा फोन गरे र जुक्तिलाइ कार्यन्वयनमा ल्याउनलाइ मैले पत्रिका मगाए| पत्रिकामा निकै पाना, पानाहरुमा शब्द र अक्षरहरुको रास| सबै शब्दले सबै मानिसलाई नछुन सक्छ र सबै शब्द सबैको लागि महत्वपुर्ण या चाख लाग्ने नहुन सक्छ| त्यहाँ भएको सबै समाचार मलाई पनि महत्वपुर्ण छैन| सत्य त यो हो, मलाई पत्रिकामा भएको समाचारमा केहि चासो छैन| पत्रिकामा समाचार मात्र नभएर बिज्ञापन पनि हुन्छ| त्यहि बिज्ञापनबाट केहि जानकारी जुटाउनु छ| जानकारी अरुको केहिको हैन, जागिरको हो| यहाँबाट मेरो कार्य पुरा हुन्छ भनेर चाही म पक्का पक्कि नै छु|
पत्रिका हेर्दै गए र बिज्ञापन भएको पानामा पुगे| जागिरको एउटा या दुइटा बिज्ञापन खोज्दै थिए, पुरै पाना भरि नै बिज्ञापन छ| इनार खोज्दै भौतारिएको म, मेरो समुन्द्र नै भेटे| अब मेरो मर्जी, चाहे समुन्द्रमा डुब्कि लगाउ कि त्यहाँबाट एक बाल्टिन पानि निकालौ| एक पछी अर्को गर्दै, जागिरको शिर्षक हेर्दै छु| केहि जागिर मलाई मिल्ने छन् र केहि नमिल्ने| जागिर पाउला नपाउला, आश चाही पलाएर आयो| आश संगै खुसि पनि|खुसि एकछिनको लागि मात्र हो| शिर्षक पढेर खुसि भएको म, जब पुरै जानकारी पढ्दै गए, खुसि सबै दुखमा परिणत भयो| त्यहाँ भएको जति सबै जागिर काठमाण्डौको लागि मात्र छ| चाडै खुसि हुने बानि निकै नराम्रो छ मेरो| अब के गर्ने त? कसरि खोज्नु मैले जागिर? केहि उपाय सोच्न नै सकिन|

रास्ट्रिय पत्रिका भएर धेरै जस्तो बिज्ञापन काठमाण्डौ केन्द्रित भएको हो| यहिको स्थानीय पत्रिकामा मलाई काम लाग्ने केहि हुन सक्छ| स्थानीय पत्रिकामा मलाई चाहिने केहि सुचना पक्कै पनि हुनुपर्छ| स्थानीय पत्रिका मगाए कोठामा| राष्ट्रिय र स्थानीय पत्रिकामा खबर उही मात्रामा छ कि नाई भन्न सक्दिन म तर बिज्ञापनको मात्र चाही बरोबर छ| जति धेरै बिज्ञापन, म त्यत्तिकै धेरै खुसि| पुरानो भुल गरिन मैल फेरी पनि, शिर्षक हैन जागिरको स्थान हेरे| सबै बिज्ञापन पोखरा केन्द्रित भएको देख्दा, मेरो खुसिको सिमा छैन| अब बल्ल शिर्षक हेर्न लागे| धेरै बिज्ञापन मध्य, आफुलाई उपयुक्त हुने र आफु काबिल भएको केहि बिज्ञापन टिपे| सहकारी, होटेलमा रिसेप्सन, लेखापाल, र टुरिस्ट गाइडको बिज्ञापन मेरो प्राथमिकतामा परेको छ|

सहकारीमा के काम गर्नु पर्ने र पद के हो उल्लेख छैन| सुरुको फोन मैले सहकारीमा नै गरे| मुर्ख मनुस्य भन्दा हुन्छ मलाई| यो समयमा कुन चाही सहकारी खुल्छ? सहकारी मात्र हैन, यो मध्य कुनै पनि कार्यालय खुलेको छैन| फोनले मात्र जागिर मिल्दैन, CV  पनि बनाउनु पर्यो नि त| ११-१२ बजे अघि CV बनाए भने, सबै ठाउमा आजै फोन गर्न मिल्छ| CV बनाउन त्यति मुस्किल छैन, तर CV बनाउनको लागि ल्यापटप चाहिन्छ| ल्यापटप छैन म संग| छैन भन्नाले, यहाँ होटेलमा छैन ल्यापटप| ल्यापटप घरमा छ र मलाई घर जान मन छैन| मन भएको र चाहेको अहिले सम्म के नै भएको छ र जिन्दगिमा|  मनमा राखेको मान्छे त मनमा छैन, मनमा रहेको कुराको के कुरा गर्नु|

घर जानुपर्ने धेरै कारण छन्| दुइ जोर कपडा नया किनेको छु, त्यो पनि फोहोर भइसकेको छ| फेरी आफ्नै घर हो, नजिकै भएर पनि गएको छैन म| जानु त पर्छ| केहि चोरी भयो कि? कसैले केहि गरेको त छैन होला नि? यस्ता प्रश्न पनि थिए मनमा| क्षितिज फर्किएर आयो कि भन्ने आशा पनि छ तर छैन भनेर ढुक्क छु म| उ फर्किएर आएको भए, उसले मलाई फोन पक्कै पनि गर्थियो| यदि उ फर्किएर आएर पनि मलाई फोन नगरेको रैछ भने चाही अन्त्य भइसकेको सम्बन्धको फेरी पनि अन्त्य गरिदिन्छु| कार स्टार्ट गरे र घरको बाटोमा मोडे आफ्नो कार|

धेरै पछी आफ्नै घर पुग्दा, म आफुलाई घरधनि हैन पाहुना ठान्दैछु| मूल गेटमा ताल्चा लगाएको छ, मतलब क्षितिज फर्किएर आएको छैन| उ फर्किएर आयो भने खुसि त हुनेछु तर मैले उ बिना बाच्न सिकीसके| उ फर्किएर आओस् भनेर इच्छा छैन तर फर्किएर नआओस् भनि पनि इच्छा गर्न सक्दिन| स्विमिंग पुल पुरै फोहोर भएको छ| आगन र बगैचामा घास पनि उत्तिकै बढेको छ| गमलाको फुल पनि ओइलाई सकेका छन्, पानिको कमीमा| घरको बिरक्त हालत देखेर म आफै पनि बिरक्त भए| तर यो घरमा दिउसो भरि एक्लै बस्ने हिम्मत छैन म भित्र| आफ्नो कोठा गएर, केहि लुगा, ल्यापटप अनि अन्य जरुरि सामान पनि लिए| घर आउन मन थिएन तर घरबाट होटेल फर्किन पनि त्यत्तिकै नै गाह्रो हुदैछ|

आफ्नो कोठाबाट निक्लिए र बैठक कोठा पुगेपछी मेरो पाइला चल्न नै मानेन| न पाइलाले साथ दियो न मनले| खुट्टाले पुरा शरीरको भार थेग्छ तर आज जस्तो भारको आवास कहिले भएको छैन| खुट्टाले हार मान्यो र म सोफामा बस्न पुगे| घर छाडेर होटेल फर्किन मलाई किन यस्तो गाह्रो हुदैछ? फेरी यहि बस्न पनि सक्दिन म| कारण बिभिन्न छ र मुख्य कारण| मुख्य कारण क्षितिज र उसंग जोडिएको याद हो| घरको हरेक भागमा, हरेको कोठामा, यहाँ सम्म भन्छु कोठाको हावामा पनि क्षितिजसंगको याद मिसिएको छ| यहाँ जति धेरै बस्छु, त्यति नै सम्झिन्छु क्षितिजलाइ| क्षितिजले मलाई भुली गयो, मैले पनि उसलाई भुल्नु नै पर्छ| उसलाई भुल्न गाह्रो छैन, तर क्षितिजसंग बिताएको यादहरुलाई भुल्न गाह्रो हो| यो यादको जिनिस पनि हरामी हुने रैछ, यसलाई कहिले बुझ्न सकिन| घरबाट टाढा हुदा धेरै सताउदैन, तर जब क्षितिसंग जोडिएको केहि बस्तु या स्थानमा पुग्छु, तब क्षितिजको यादले झनै सताउन लाग्छ|

आखामा आशु छ अनि आखा अगाडी क्षितिजसंग बिताएका पलहरु| मेरो आखा बैठक कोठाको टेबुलमा गयो| टेबुल मुनि एउटा लकेट छ, अनि टेबुलमा घडी| पुरै घरमा बत्ति बालेको थिइन, अब बत्ति बाले| लकेट अनि घडी दुवै चुडिएको छ| अनि यो त्यहि लकेट र घडी हो, जुन मैले क्षितिजको लागि किन्दिएको थिए| जहाँ सम्म मलाई याद छ, अस्ति सम्म यो दुवै यहाँ थिएन| म हत्तारमा थिए अनि अत्तालिएको पनि, त्यसैले नदेखेको हुन सक्छ| तर भएको भए त मैले अस्तिनै भेट्नु पर्ने हो| लकेट र घडी, अहिले यहाँ आएको होस् या पहिले देखि त्यो मतलब भएन| त्यो चुडिएको किन छ? क्षितिजलाइ मसंग रिस उठेको थियो, मैले दिएको उपहारहरुको के दोष? उसले सम्बन्ध तोड्यो, पिडा दुबैलाई भयो| तर उसले यी दुवै चुडाउन नहुने| घडी र लकेट चुडिएको देख्दा पिडा मलाई मात्र हुदै छ| उसले केहि सोचेन, मलाई के महसुस हुन्छ भनि? उसलाई लग्न मन थिएन भने, टेबुल माथि छोडी दिएको मात्र हुन्थियो तर चुट्याउन किन पर्यो|

क्षितिजको लागि सम्बन्धको अन्त्य उहिले भएको थियो होला तर यो सम्बन्धको पूर्ण रुपमा अन्त्य मेरो लागि अहिले भयो| क्षितिजसंग बिताएको यादहरुलाई भुल्न गाह्रो भएको थियो तर जब चुडिएको घडी र लकेट देखे, अब मनमा क्षितिजको याद हैन उसको लागि घृणा मात्र छ| धेरै निर्णय छिटो लिएर धेरै काम बिगारेको छु मैले| “होटेल जान्न, यहि बस्छु|” यहि निर्णय लिन लागेको थिए तर छिटो निर्णय लिन मनले दिएन| चाहिने जत्ति सामान प्याक गरि सकेको थिए, कारमा राखे र होटेलको लागि कार स्टार्ट गरे|

होटेल पुग्नु अगाडी, पामे छेउमा कार रोके….

Previous article
Next article

Latest Posts