जब जीवनको बाटो किशोर अवस्था तीर मोडिन्छ र किशोर अवस्थामा पहिलो पाइला टेक्ने बित्तिकै सुरुहुन्छ यात्रा एउटा नया गन्तब्यको। बालापनलाइ एउटा कोशेढुङ्गा भन्ने भए त्यों कोशेढुङ्गा पछिको यात्रा हो किशोर अवस्था। उमेरसंग नै धेरै परिवर्तन आउछ, केहि बानीमा अनि मानसिकतामा पनि। खेल अनि साथीभाईमा रमाउने मन केहि उत्सुक हुन्छ। नया नया खोजमा भौतारिन्छ ।
नाक बाट चुहिएको सिगान जुन्गाको रेखि हुदै ओठ भित्र पसेर नुनिलो स्वाद आएपछि मात्र लुगाको बाउलाले सिगान पुछ्ने मान्छेलाइ पनि चिटिक्क हुन मनलाग्छ। महिना दिनमा नुहाउने, त्यो पनि आमाले शनिबारको दिन जबर्जस्ती नुहाईदिनु पर्ने मान्छे पनि अब सधैं कपालमा काइयो चलाउँछ। पहिले जुन अवस्थामा जे पनि बोल्ने मान्छे अब केही भन्नु अघि सोचेर मात्र बोल्छ। यस्तै धेरै परिवर्तन हुन्छ।आफ्नो मनको कुरा सुनाउन र बुझाउन, जीवनमा कोही विपरीत लिंगको साथी खोज्न लाग्छ मन। यस्तै त होला सबैको किशोर अवस्थाको सुरुको पाइला, पंकजको किशोर अवस्थाको सुरुवात पनि यस्तै नै छ।
सात कक्षा सम्म सनिराको नाम लिएर अरूले जिस्काउने गर्थिए पंकजलाई तर उसको ध्यान कहिले त्यसतर्फ गएन। पढाइमा अब्बल हुने होडबाजीमा नै मग्न हुने पंकजलाई अरूले के भन्छन् र के गर्छन् केही मतलब थिएन। पढाइमा राम्रो भन्ने बित्तिकै अतिरिक्त क्रियकलापमा सामेल नहुने वा अरु कोहीसँग नबोल्ने स्वभाव पनि हैन पंकजको। सबै संग घुलमिल हुन्छ पंकज तर केही हदसम्म मात्र। यस्तो व्यक्तिमा अचानक परिवर्तन आउँछ कक्षा आठमा।
बिस्तारै बिस्तारै पङ्कजलाई पनि किशोर अवस्थाले असर गर्न लाग्यो र उसमा पनि केही परिवर्तन आउन लाग्यो। कोटेश्वरको जाम र किशोर अवस्था, मान्छेले चाहेर पनि छल्न नसक्ने रैछ। फरक यति छ कोही धेरै समयको लागि फस्छन् र कोही कम रूपमा। आठ कक्षामा पंकजले केही नयाँ साथी बनायो र केही नयाँ रुचि पनि जाग्न थाल्यो ऊ भित्र। वास्केट बल भनेपछि हुरुक्क हुन लाग्यो पंकज र पनि पढाइमा भने अब्बल नै छ उ अहिले सम्म।
किशोर अवस्थाको परिवर्तनले नै होला, सनिरा तिर पनि आकर्षित हुन लाग्यो उसको मन। बोल्न खप्पिस नै छ पंकज, बकम्फुसे हैन गहकिलो गफ गर्छ ऊ। त्यसैले उसको बोलीको प्रभाव सजिलै पर्छ अरूमा। यता सनीरा भने पंकज भन्दा ठ्याक्क उल्टो स्वभावको। यदि पंकज उत्तरी ध्रुव हो भने सनिरा दक्षिणी ध्रुव। पढाइमा ठिकै छिन् उनी अनि पढाइ बाहेक बाँकी सबैमा ध्यान छ सनिराकाे। गफ गर्न पाए भने उनी घण्टौं सम्म बोलेर बस्न सक्छिन् तर गफ सबै बकम्फुसे।
आठ कक्षाको पहिलो त्रैमासिक परिक्षा सकियो, पंकज सधैं जस्तो पहिलो भयो र सनिरा को 58% थियो। दोस्रो त्रैमासिक परीक्षामा पंकज फेरि पनि प्रथम भयो र सनीराको 55% आयो। तेस्रो त्रैमासिक परीक्षामा पंकज फेरि पनि प्रथम भयो र यता सनिराकोे गणित अनि विज्ञानमा 3 अंक पुगेन। जिल्ला स्तरिय परिक्षा छ अब दुई महिना पछि, यदि त्यो परीक्षामा उत्तीर्ण भएन भने 9 कक्षामा जान नमिल्ने। शिक्षकहरुले सनिरा र पंकजलाई कक्षामा सँगै राखिदिए। सनिरामा केही परिवर्तन आउँछ कि भन्ने आशमा। पंकजलाई त चिठ्ठा पर्यो, तिहार नै चाहिएन उनको मन भित्र खुसीको पटक्काहरु फुट्नलाई।
पंकज नजिकिदै गयो सनिरासंग। पढाइको कुरा सँगै केही भिन्न गफ पनि हुन लाग्यो दुबैको। दिउँसो 1 बजे सम्म स्कुलमा पढिसकेपछि, पंकज र सनीरा दुवै सनिराको घर जान्थिए। केही बेर सँगै पढेर बस्थिए भने केही बेर गफमा नै मग्न हुने दुवै। सनिराको पढाइमा पनि निकै सुधार आएको छ अचेल। किराले हीरा बिगार्छ सुनेको हो तर यहाँ हिराको चमकले किरा पनि हीरा जस्तै हुन लागेको छ। जिल्ला स्तरिय परिक्षा पनि आउन लागेको छ। पंकजको साथीहरुले कहिबाट परीक्षाको एकदिन अघिनै प्रश्नपत्र फेला पारेछन्। त्यो प्रश्नपत्रको जरूरत छैन पंकजलाई तर पनि उसले त्यो प्रश्नपत्र लियो, सनिराको निम्ति।
जिल्ला स्तरीय सकियो, पंकजको नतिजा सधैं जस्तो राम्रो नै थियो र सानिराको नतिजामा पनि धेरै सुधार आयो। जब केही गर्दा राम्रो परिणाम आउँछ, त्यही कार्यलाई जसले पनि निरन्तरता दिन्छ। हो त्यही भयो 9 कक्षामा, शिक्षकले फेरि पनि सनिरा र पंकजलाई सँगै राखे। साथीहरुले झनै जिस्काउन लागे पंकजलाई। सँगै बस्ने पछी एक पछी अर्को जानकारी थाहा हुने एक अर्कालाई।
सनिरालाई के मन पर्छ के मन पर्दैन, उनी के रुचाउँछिन् के रुचाउन्न, उनको मन पर्ने ठाउँ देखि खाना, मन पर्ने मान्छे देखि मन नपर्ने मान्छे, सबै थाहा हुँदै गयो पंकज लाई। सनिराको मामाघर भारतको कलकत्तामा रैछ, एस एल सी पछी उनी त्यही जाने कुरा थाहा पाउँदा पंकजको मन चीनी बिनाको खिर जस्तै खल्लो नभएको कहां हो र।
घडीमा घण्टाको सुई ढिलो चले जस्तो लाग्छ तर दिन हुँदै महिना गरेर समय गएको पत्तो नहुने। त्यसरी नै एस एल सी पनि आयो र दुई वर्ष कति छिटै बित्यो। तर पनि अहिले सम्म पनि पंकज पर्खाइमा छ, उ पर्खाइमा छ सही समयको, त्यसैले आफ्नो माया जिकिर गरेको छैन उसले सनीरा सामु। उच्च तहको शिक्षाको लागि सनिरा कलकत्ता जाने पङ्कजलाई थाहा थियो तर एस इल सी सकिएको दिननै उनी जान्छिन् भन्ने उसलाई के थाहा। परीक्षाको भोलि पल्ट घरमा नै गएर प्रेम प्रस्ताव राख्छु भनी पंकज सनिराको घर पुगेको थियो र उसले थाहा पायो सनिरा कलकत्ता गई सकिन् भनी।
प्रेम जिकिर गर्न नसकेको पंकजको ध्यान फेरि पनि पढाइ तिर नै केन्द्रित भयो र उच्च शिक्षाको तैयारीको निम्ति उ काठमाण्डौ गयो। एस एल सिको नतिजा आयो तर सनिरा भने नेपाल आइन। सनिरालाइ भेटिन्छ भनेर झिनो आशा थियो पंकजको मनमा तर त्यो पनि पूरा भएन। पंकज…..
