Part 31

यत्तिकैमा भाउजुको फोन आयो, ”मैया चाडै घर आउनु न|” भाउजुले यति भन्दै फोन राख्नु भयो| म हत्तारिए र हतारिएर नै ओछ्यानबाट उठे। के? किन? केही नभनी भाउजुले फोन राख्नु भएको छ। केही जरूरी छ या केही आपत परेको छ। न हत्तारिएर पनि हुन्न अनि म हत्तारिनुको पनि कारण छ। गनाउने मुख र झोक्रिएको अनुहार लिएर वासरुम छिरे। 5 मिनेट भित्र तैयार भए।

तैयार भए पनि, म जति हतारिए पनि, सिधै भाउजुकोमा जान मिल्दैन। कोठाको पैसा कति हो पनि  थाहाछैन, कार्ड चल्छ कि नाई पनि थाहाछैन।  कार्ड नचल्ने भए बैंक पुग्नु पर्छ सुरुमा। त्यहाँबाट पैसा निकालेर फेरि होटल। अनि पैसा तिरेर मात्र भाउजुकोमा। कोठाको ढोका लगाए र चाबी लिएर रिसेप्सन पुगे।

” रुम न. 304, पैसा कति हो?” हिजो निकै नै मात्तिएछु। रिसेप्सन यस्तो छ भनी पनि याद छैन।

” चेक आउट गर्न लाग्नु भएको? हजुरको पैसा त भइसक्यो।”  यसको मतलब मैले हिजो नै पैसा तिरिसके? तर कसरी, म संग भएको पैसा पर्समा नै छ। पक्कै पनि कार्डबाट तिरेको हुनुपर्छ, मेसिन पनि देखे। रिसेप्सनको मान्छेले पनि के सोचे होला, पैसा तिरीसकेर पनि फेरि कति पैसा भयो भनी सोध्दा। अहिले सम्म इज्जत जोगिएको थियो, अब चाहिँ मजाक नै भयो मेरो।

होटलबाट निक्लिए र ट्याक्सी खोज्न लागे। ट्याक्सी भेट्न केहि मुश्किल भएन| मुश्किल भयो त ट्याक्सीमा भाउजुको घर सम्मको यात्रा तय गर्न| भाउजुले अत्तालिएर फोन गर्नु भएको थियो तर मेरो दिमागमा अहिले भाउजु हुनु हुन्न| मेरो दिमागमा अहिले म मात्र छु| आखिर हिजो के भयो? होटेलसम्म कसरी पुगे म? ल होटेलको पैसा कार्डबाट तिरे तर ट्याक्सीको पैसा कसरि तिरे मैले? मात्र थोरै पनि यदि भएको भए, म यति सोच्दिन थीए होला| अब देखि यसरी पिउदिन भनि मन मनै कसम खाए| यो कसम मैले पहिलो पटक लिएको हैन र कहिले पनि पुरा गर्दिन| धेरै सोच बीच भाउजुकोमा पुगे|
“भाउजु के …..” मैले आफ्नो वाक्य पुरा गर्न नपाउदै, भाउजुले मेरो मुखमा लड्डु हालिदिनु भयो| भाउजु अत्तालिएको हैन खुसि हुनुहुन्छ| मैले नै भाउजुको आवाजको भाव नबुझेको रैछु| यति बिहानै लड्डुको कारण चाही के? मलाई पनि खुसिमा सामिल हुन मन छ|
“भाउजु, लड्डु के खुसिमा?” लड्डु अझै पनि मुखमा नै छ, लड्डुको मिठास जस्तै खुसिमा पनि मिठास हुन्छ| त्यो खुसि जान्नु छ|
“ के होला? हजुर आफै भन्नु अनुमान लगाउनु त मैया|” केहि ठुलै खुसिको खबर हो, नत्र भाउजुले सिधै भन्नु हुन्थियो| तर हुन चाही के होला? एकछिन सम्म पनि सोचे तर त्यस्तो केहि कारण नै भेटिन|
“ भाउजु, हजुर फेरी पनि आमा….|” मैले यति मात्र सोच्न सके र त्यहि भने|
“हैन मैया| मैयाले धेरै सोच्नु भएछ| दाइको D.V. पर्यो नि|” भाउजुले यति भन्ने बित्तिकै मैले दाइलाई खोज्न लागे| दाइले धेरै मिहिनेत गर्नु भएको छ, धेरै दुख सहनु भएको छ| भगवानले इमान्दारलाइ हेर्छन भन्छन, आज साबित भयो|  दाइ भाउजु जति खुसि हुनुहुन्छ, म पनि त्यत्ति नै खुसि छु| सायद दाइ भाउजु भन्दा पनि धेरै खुसि छु म|

एक महिनामा दाइ अमेरिका जाने| सबै तैयारी सुरु भयो| मैले सक्दो सहयोग गर्न खोजे, जहिले जस्तो| तर जहिले पनि दाइले त्यहि भन्ने “आफ्नै चेलीको पैसा चलाए भने, म जिउदै नर्कमा पुग्छु|” अमेरिका जानु अघि दाइ भाउजु गाउ जान खोज्दै हुनुहुन्छ| जुन गाउले उहालाई स्विकारेन, त्यो गाउको लागि माया अझै पनि दाइ भाउजुको मनमा छ| दाइ भाउजु हफ्ता दिनको लागि गाउ जानु भयो|  भाउजुले गर्दा मैले ब्युटी पार्लर हेर्नु परेको थिएन, म ढुक्क थिए| अब भाउजुको अनुपस्थितिमा पार्लर मैले नै हेर्नु पर्ने छ| होटेल चाही केहि दिनको लागि बन्द नै हुने भयो|

दाइ भाउजु गाउ गएको पहिलो दिन| बिहान ९ देखि, ६ बजे सम्म पार्लरमा नै भए| पार्लरमा चार जना छन् ब्युटीसियन, आफुले केहि गर्नु पर्दैन| तर पनि धपेडी महसुस हुने| जहिले धपेडी धेरै हुन्छ या तनाब हुन्छ, शरीरले मदिराको माग गर्छ| आज पनि केहि फरक रहेन| पार्लर पछी घर पुगे, तैयार भए र फेरी पनि बार| दिमागमा कुरा खेलाउनु भन्दा शरीरमा मदिरा कुदाउनु ठिक लाग्छ| केहि दिन अघि मात्र धेरै रक्सि पिउदिन भनि मन मनै कसम खाएको थिए, आज 3 बोतल सकी सक्यो|  बारमा प्राय सबै कसैको साथमा रमाउदै हुन्छन र म चाही रक्सिको साथमा| जिन्दगिमा उदेश्य नभएको हैन तर उदेश्य पुरा गर्ने जागर छैन र पुरा नभएमा डर पनि छैन|

जब रक्सिमा झुम हुन्छु, तब वरीपारीको मान्छेलाइ नियाल्न लाग्छु| उनिहरुको खुसीको श्रोत खोज्न लाग्छु| अनि पाउछु, कोहि साथीको साथमा रम्दै छन्, कोहि खुसिमा रम्दै छन्, कोहि पिडालाइ रक्सिसंग पिउदा खुसि हुदै छन्, कोहि मन मनै पिडा दबाउदै पिउदै छन्,कोहि परिवारको खुसिमा रम्दै छन्, कोहि प्रियसीको यादमा रम्दै छन्, कोहि बर्तमानमा रम्दै छन् अनि म यहाँ एक्लै आफुमा रम्दै छु| बारमा धेरै मान्छे भेटे जो अनेक कारणमा रम्दै छन् तर म जस्तै आफुमा रम्ने कोहि भेटिन| सायद म जस्तो मान्छे निकै कम छन्| यत्तिकैमा मैले फेरी पनि आफु जस्तै मान्छे भेटे| फेरी पनि अस्तिको लेखकलाइ भेटे, जो केहि शब्द लेख्दै छ र पाना च्यातेर फ्याल्दै छ| भेटे हैन देखे, मेरो टेबुल भन्दा केहि टेबुल अगाडी छन् त्यो लेखक| तर उ पनि म जस्तो छैन| उ पनि त आफ्नो लेखमा रम्दै छ| मानिसले ढोका देला तर मलाई यो रक्सीले ढोका दिदैन अनि उसलाई उसको लेखले| थाहा छैन किन तर उसंग बोल्न मन छ| बोल्न मन छ तर बोल्ने आट छैन| जसो तसो हिम्मत गर्छु तर जहिले केहि न केहि हुने र बोलिन्न| यसरि नै हफ्ता बित्यो| दाइ भाउजु गाउबाट फर्किनु भयो| दाइ, भाउजु र नानि जानु भएको थियो गाउ| फर्किदा अझै दुइ जना छन्|
“ उ चाही मेरो भाइ, अनि उनि चाही मेरो बहिनि|” दाइले मलाई दुइ जनासंग नै परिचय गराउनु भयो| दाइको बहिनि छ भन्ने थाहा छ मलाई तर भाइ छ भन्ने भर्खर थाहा पाए| दाइले मलाई पनि आफ्नो बहिनि भनेर चिनजान गराउनु भयो| खुनको नाता नै हुनु पर्दैन परिवार हुनलाइ, दाइ-भाउजुले यो साबित गरेर देखाउनु भएको छ|
“घुम्न आएका हुन्?” दिमागमा केहि प्रश्न आयो, प्रश्न सोधे दाइ भाउजुलाइ|
“हैन| यिनीहरु अब यहि बस्छन| म पनि हुन्न, तिम्रो भाउजुलाइ सजिलो हुन्छ| नानिले एस.एल.सी पास गरि| यसले चाही पढ्न मन नै  गरेन, ८ मात्र पढेको छ| होटेल राजनले हेर्छ, अनि घरमा बिन्दुले सहयोग गर्छे|” दाइको जवाफ हैन निर्णय थियो यो| दाइको निर्णयमा मैले केहि भन्न मिल्दैन तर मलाई केहि चित्त बुझेन|

Previous article
Next article

Latest Posts