अर्को हफ्ता उनि जाने| ७ दिन पनि हैन, ६ दिन १८ घण्टा पछी| जाने निर्णय उनको हो, तर त्यो निर्णयमा मेरो पनि प्रभाव छ| जिन्दगिको यस्तो पलमा म धेरै पटक परिसके, जहाँ म खुसि हुन्छु, तर त्यो खुसि मेरो अनुहारमा देखिन मान्दैन| हैन हैन, यस्तो पनि हैन, म खुसि छु तर पनि मुटु भित्रको कुनै कुनामा, पिडा लुकेको छ| पिडा संगै, चित्त पनि दुखेको छ| अहिले जे हुदा खुसि छु तर जे हुदै छ, त्यो भिन्न तरिकाले भएको भए पनि म खुसि नै हुन्थिए| खै, म ठिक अवस्थामा छैन अहिले| म यो अवस्थामा छैन कि, मैले सहि गलत छुट्टयाउन सक्छु| म यो अवस्थामा छैन, कि म आफ्नो वरीपरि के हुदै छ बुझ्न सक्छु, न आफु भित्र के हुदै छ बुझ्न सक्छु, न भावना महसुस गर्न सक्छु, न शब्द बुझ्न सक्छु| म भित्र के चल्दै छ, म अनि मेरो जीवन कता तिर ढल्किदैछ, के मा परिणत हुदैछ, प्रश्न मात्र छ अहिले म भित्र| म भित्र रहेको कुनै प्रश्नको जवाफ कोहि संग छैन, म संग पनि छैन| तर मेरो दिमागमा केहि यस्ता प्रश्न छन्, कुनै प्रश्नको जवाफ प्रनिका संग छन् अनि कुनै प्रश्नको जवाफ म संग|
म: “जब तिमि घर जानु नै छ भनि, सिम किन निकालेकी?”
प्रनिका: “ मैले भनेको थिए त, जति समय छ| तिमिसंग बिताउनु छ, बाकि केहि नसोची|”
म: “ भनेउ तर कारण अरु केहि छ कि सोच्दै थिए म|”
प्रनिका: “ कारण केहि अरु हैन, तिमीले सोचेको कारण भएन भन न| तिमीले जे जवाफ खोजेको थियौ, मैले त्यो जवाफ दीईन| त्यसैले तिम्रो चित्त बुझेन भन न|”
फेरी पनि झगडा तिर अग्रसर हुदै छ हाम्रो कुराकानी| अनायसै झगडा किन गर्नु, जब हामि खुसि हुन सक्छौ| मैले माफी मागे| गल्ति नहुदा पनि माफी माग्नु पर्छ, हाम्रो सम्बन्ध बलियो हुदै छ सायद| सम्बन्ध कम्जोर कहिले पो थियो र| समय अनि समाज, जति बलियो सम्बन्धलाइ पनि सजिलै छरपस्ट गरिदिने| अरु पनि धेरै प्रश्न छ, प्रनिकालाइ सोध्नु पर्ने| सायद प्रनिकाले सहि भन्दै थिइन्, म हरेक प्रश्नको जवाफ आफुले चाहेको तरिकाले खोज्दै छु| यदि मैले चाहेको जवाफ पायो भने मात्र त्यसल एमेरो मनको जलनमा मलमको काम गर्छ| यदि जवाफ मैले चाहेको जस्तो भएन भने म फेरी पनि उदास हुन्छु| मैले यति चाही बुझे| प्रनिकालाइ प्रश्न सोध्न नमिलेर के भयो? आफुले आफैलाई प्रश्न सोध्न कुनै बन्देज छैन| जे मन लाग्यो त्यो सोध्न सक्छु आफुलाई, अनि जे चाह्यो त्यहि जवाफ दिन सक्छु| सायद यसले मेरो मनको जलनमा मलमको काम गर्नेछ|
प्रनिकाले जाने निर्णय लिईन्| मलाई उसको यो निर्णयले जति गाह्रो बनाएको छ, उसलाई पनि त्यति नै गाह्रो बनाएको छ| उसले यो निर्णय कुन हालातमा लिएको, त्यो मलाई बखुबी थाहाछ| त्यहि पनि चित्त बुझाउन सकेको छैन मैले| बुझाउ पनि कसरि| हामिलाइ थाहा थियो, यो सम्बन्ध बरकरार राख्न निकै नै मुश्किल छ| मुस्किल र असम्भवमा के कति फरक छ थाहा छैन हामिलाइ, तर हाम्रो लागि दुवै लगभग एक जस्तै थियो| त्यहि पनि हामि अडिक भयौ, समाज र परिवार भन्दा माथि रहेर संगै हुने निर्णय लिएका थियौ| सम्बन्धको लागि समाज र परिवार संग लड्ने अठोट लिएका थियौ तर प्रनिकाको अहिलेको निर्णय ठिक बिपरित छ| उसको निर्णय गलत भनेकी हैन मैले| तर निर्णय लिनु अघि, उसले हाम्रो सम्बन्धको बारे केहि त सोचिन् होला नि? कि सम्बन्ध उसको प्राथमिकता नै भएन, अनि उसले मात्र परिवारको खुसि रोजिन्| सम्बन्ध आफ्नो निम्ति अजम्बरी बनाउने र अरुको लागि उदाहरण, यहि सोचेको थियौ हामीले| सम्बन्ध न अजम्बरी भयो न उदाहरण, मात्र अन्त्य भयो|
सम्बन्धको अन्त्य हुदा पिडा हुनु स्वभाविक हो तर सम्बन्धको अन्त्य नसोचेको तरिकाले भयो| यो समबन्ध जोगाउन मैले सक्दो प्रयास गरे तर प्रनिकाले नि? दुनियासंग लडेर, उनलाई नया दुनिया बनाउन तैयार थिए म तर उन्ले त दुनियाको पहिलो प्रहारमा नै हार मानि| एउटा जित्नलाइ अर्को हार्नै पर्छ भन्ने छैन, तर यहाँ जित भनेको….| जहिले सोचमा हराउने बानि लागेको छ, के भएको मलाई| सोचमा जति हराउछु, त्यति पिडामा डुब्छु| यो सबै बेकार हो| बाकि कुरा भुले पनि, मैले एउटा कुरा भुल्नु हुन्न| मेरो जीवनको सत्य भनेको पिडा हो| पिडालाइ जति नकारे पनि नकार्न सक्दिन|
केहि दिन छ, यसलाई खेर जान दिनु भनेको पाप पनि हो नै मुर्खता पनि| मैले पाप अनि मुर्खता, पहिले पनि धेरै पटक गरेकि छु, फेरी दोहोर्याउनु छैन| बाकि रहेको 7 दिनमा 7 जुनी बिताउनु छ, सात जुनीको साथ, माया, र समिप्ता बटुल्नु छ| यो सात दिनको हरेक पल ढिलो बितोस्, सेकेन्ड पनि घण्टा जस्तो लामो होस्, मिनेट दिन होस्, घण्टा बर्ष होस्, अनि दिन जुनी जस्तो लामो होस् भन्ने इच्छा छ तर… तर यहाँ दिन पनि मिनेट जस्तो छिटो बित्दै छ, हफ्ता दिन बित्न लागेको पत्तो भएन| जीवनमा खुसिको पल कम हुने हैन, खुसिको पल बितेको पत्तो नहुने रैछ| त्यसैले होला, हफ्ता दिन पनि केहि क्षन जस्तो लाग्यो| अगाडी एउटा मोड आउदै छ, जहाँ साथ छुट्ने छ, हामीलाई थाहा छ| तर त्यो मोड सम्म पनि हात समाई एक अर्कामा रम्दै गयौ हामी| छुट्टिने मोड जति नजिक हुदै जान्छ, हामि त्यति कसेर हात समाउन लागेउ अनि त्यति नै पिडा भुल्ने कोशिशमा तत्पर हुन्छौ| पछिको पिडा हैन, अहिलेको खुसिमा भिज्दै छौ हामि|
भोलि बिहान, भोलि बिहानै प्रनिका जाने| दिउसो देखि टाउको दुखेको, अहिले पनि केहि सुधार भएको छैन| अहिले भन्नाले रातको ८ बजे| अनुहारमा खुसि देखाउन गाह्रो छैन, तर मनको पिडाले समर्थन जनाउन नमान्ने| त्यसैले पनि यस्तो गाह्रो भएको होला मलाई| आज अन्तिम दिन, प्रनिकासंगको अन्तिम दिन| उसको लागि भए पनि केहि नभएको नाटक गरे र उनिसंगै होटेल पुगे| प्रनिका रक्सि पिउन लागिन्, मलाई इच्छा छैन तर पनि प्रनिकाले जिद्दी गरेसी, उसलाई खुसि बनाउन भए पनि रक्सि पिउन लागे| टाउको दुख्न कम हुदै गयो, अनि खुसि पनि कम हुदै गयो|
“प्रनिका, तिमीलाई केहि भनौ?”
“आज भनिनौ भने कहिले भन्छौ?”
“ तिमि भोलि बिहान जान्छौ, तर एउटा सर्त छ मेरो, जुन तिमीले मान्नै पर्छ| सर्त भन्दा नि निर्णय भन या कानुन| हामि भोलि पछी कहिले भेट्दैनौ| कहिले पनि| भेट्ने मात्र हैन, हामि सम्पर्कमा पनि रहन्नौ| कदम कदाचित, देखियो भने बोल्दैनौ हामि| हामि भोलिबाट एक अर्काको लागि अन्जान हुनेछौ| किन नसोध| म अहिले केहि भन्दिन| समयले बताउनेछ| अहिलेलाइ यति भन्न सक्छु, कि हामि एक अर्काको सम्पर्कमा रहनु भनेको पिडासंग संगै हुनु हो| भोलि बिहान तिम्रो गाडी छ, तिमि भोलि बिहान मलाई केहि नभनी जाउ| तिमीलाई goodbye भन्ने शक्ति छैन मसंग…….”
प्रनिकालाइ मनाउन त्यति सजिलो भएन तर अन्त्यमा उस्ल हुन्छ भन्न पर्यो| प्रनिकालाइ मेरो कुरा सहन मुश्किल भयो सायद, त्यसैले उसले यति रक्सि पिउदै थिइन् कि, अर्को ३० मिनेटमा उनि अचेत भइन्| उसलाई वेटर भाइको सहयोगमा घर सम्म लगे| फेरी पनि सोच बीच घेरिएर नै निदाए| बिहान निन्द्रा खुल्दा, प्रनिका गइसकेको थिइन्| मैले जे भने, त्यो मानिन् उनले| उसलाई बिदाइ गर्न मुस्किल हुने थियो मलाई, उसले मेरो निर्णयको कदर गरिन्| फेरी पनि….
