“सुन्, म यहाँबाट बाहिर जानु पर्ने काम पर्यो| म अहिले जान्छु, त पाच मिनेट पछी हिड्नु” बुवा फेरी पनि अत्तालिनु भयो र अनौठो व्यवहार गर्दै हुनुहुन्थियो बुवाले| केहि बुझ्न गाह्रो हुदै थियो, बुवा हिडी हाल्नु भयो| बुवाले मलाई प्रश्न बीच छाडेर जानु भयो| आखिर बुवा किन अत्तालिनु भएको? आजको मेरो दिन, अनिश्चितता, डर र प्रश्न बीच नै गयो| बुवा अत्त्लैएर् कहाँ जानु भएको र किन जानु भएको केहि थाहा थिएन मलाई| बुवाले फेरी केहि भन्नु पनि भएको थिएन|आखाँमा पट्टि लगाएर कुनै अन्जान ठाउमा छाडेको जस्तै महसुस हुने जब सबै अनविज्ञ हुन्छ| इस्मी मेरै छेउमा आएर बसिन्|
“के भयो? बुवा कहाँ जानु भएको?” इस्मीले यस्तो प्रश्न गरिन् जसको जवाफ मसंग थिएन अनि म पनि ठिक यहि प्रश्न गर्दै थिए आफुलाई|
“थाहाछैन, अचानक जानु भयो|” थाहा भएको जत्ति जवाफ दिए|
“केहि जरुरि परेर जानु भएको होला| भरे बेलुका भेटौला|” इस्मीले मलाई सम्झाउन खोजिन्| बुवालाइ इस्मीको बारे कसरि भन्नु भनि प्रश्न मनमा निरन्तर रुपमा चल्दै थियो, अब बुवा कहाँ जानु भयो भनि थपियो| खाजाको लागि मन पनि थिएन नै पेटमा ठाउ पनि, केहि बेर गफमा नै बित्यो|
“अब के गर्ने? तिमीलाई गाह्रो हुन्छ भने म फर्किन्छु नि|” इस्मीले फर्किने कुरा गर्दा कसाम भनेको, आफुलाइ आफु नै लाछी महसुस भयो| जाबो साथिलाइ परिवारसंग परिचय गराउन नसक्ने कस्तो होला म|
“मैले त्यस्तो भने?” मेरो रिस हैन तर पनि आवाजमा आक्रोश थियो|
“तिम्रो अनुहार हेर ऐनामा, अनुहारले भन्दै छ सबै| तिमीलाई मलाई जान पनि दिनु छैन अनि घरमा भन्न पनि गाह्रो हुदै छ|” इस्मीले गलत बोलेकी हैन, म त्यहि नै हालतमा थिए|
“घरमा जसरि पनि भन्नु पर्छ, अब सिधै घर जाम हामि|” यो बाहेक अरु केहि उपाय थिएन, होटेलबाट सिधै घर जाने निर्णय नै उचित लाग्यो|
“अहिले पनि समय छ, नत्र म यता कुनै होटेलमा बस्छु|” इस्मीले मलाई झनै अप्ठेरोमा पार्दै थिइन्| उनि पक्कै पनि जिस्किदै थिइनन् अनि यहि कुराले मलाई मुस्किलमा पार्यो| उनको स्वभाव यस्तो थिएन तर मैले उनलाई निराश तुल्याए|
“होटेलमा राख्नलाइ मैले तिमीलाई यहाँ ल्याएको हो?” मैले अघि नै बुवालाई इस्मीसंग परिचय गराएको भए, म अहिले यसरि आफै गल्ति गर्दै जन्गिनु पर्थिएन|
“अनि के हुन्छ त| तिमि दिउसो आउनु, बेलुका सम्म कहिँ घुम्न जाउला, अनि बेलुका सधै जस्तो फोनमा बोलौला|” इस्मीले मलाई अप्ठेरो महसुस नहोस् भनि सक्दो प्रयास गर्दै थिइन् तर उनले यो सबै मन भित्र बाट भनेकी हैन|
“धेरै सोच्ने भैछौ| चुप लागेर घर जान्छौ हामि|” इस्मीलाइ यति भनेर चारालीको लागि गाडी चधेउ हामि दुवै| मेरो घर चाराली भनेर भने है मैले? लगभग ४५ मिनेटको यात्रामा ३० मिनेट इस्मी मेरो काधमा सिर राखेर निदाइन्| बसबाट ओर्लिएपछी ५ मिनेट जति हिडेपछि, हाम्रो घर पुगिन्छ| त्यसरी घर पुगियो|
आमा मलाई देखर निकै खुसि हुनु भयो| धेरै बेरको लागि हैन, केहि क्षणको लागि मात्र| मसंग इस्मीलाइ देख्दा आमाको मुहारमा खुसि मात्र नभएर प्रश्नहरु पनि झाल्किदै थियो|
“छोराले भन्दै नभनी बिहे गर्यो, नाक काट्यो यसले|” आमाले यस्तै केहि सोचेको हुनुपर्छ|
“आमा, उनि मेरो कलेजको साथि, इस्मी हो उनको नाम|” इस्मीसंग आमाको परिचय गराए| तर झुठ बोले मैले, कलेजको साथि भनेर|
“नानिको घर पनि यतै हो?” यति दिन पछी, यति टाढाबाट छोरा आएको छ, छोराको हाल खबर नसोधेर, इस्मीको घर कहाँ सोध्दै हुनुहुन्छ| आमाको माया बुझ्न गाह्रो|
“हैन आमा, काठमाण्डौ हो|”इस्मीले आमाको प्रश्नको जवाफ दिईन् तर आमाको प्रश्नको तात्पर्य अरु केहि थियो जुन मैले बुझी सकेको थिए|
“हामि कलेजको लागि एउटा प्रोजेक्टमा काम गर्दै छौ| इलाम आउनु पर्ने हुन्थियो पछी, एकै चोटी दुवै काम सकिन्छ भनेर अहिले संगै आयौ|” आमाले अरु केहि सोध्नु अघि मैले यति भने| आमाले यहि बुझ्न खोज्नु भयो कि इस्मी किन यहाँ छिन् भनि|
“अनि दुइ दिनमा सबै भ्याउछौ?” आमाले पत्याउनु भयो मैले जे जे भने नत्र यो प्रश्न नै गर्नु हुन्थिएन|
“भोलि बिहानै इलाम जाने, दिउसो फर्किन मिलि हाल्छ नि| केहि फोटो अनि केहि जानकारी जम्मा गर्ने त हो|” यति भनेपछी आमाले अरु केहि थप प्रश्न गर्नु हुन्न भनि ढुक्क थिए म|
“बुवा खोइ नि?” बल्ल आमालाई बुवाको याद आयो|
“खै थाहाछैन| जरुरि काम छ भनेर जानु भयो|” मलाई जति थाहा थियो, आमालाई त्यति नै भने|
हिजो सम्म छोरा कहिले आउछस्, के पकाएर राखौ, यता उता भनेर सोध्ने आमा| म आज घरमा उहाकै अगाडी छु तर पनि मतलब छैन मेरो| इस्मीले आमालाई कस्तो मोहनी लगाइन् लगाइन्, आमा त इस्मीसंग मात्र बोल्दै हुनुहुन्थियो| आज मात्र भेट भएको दुबैको, तर यसरि गफ हुदै थियो, मानौ इस्मी मेरो हैन आमाको साथि हो, अनि दुवै बर्षौ पछी ब भेट्दै थिए, यसरि नै गफ हुदै थियो इस्मी र आमाको| दुवै मिलेर मेरै कुरा काट्दै थिए| गफ गरेर पुग्यो सायद दुबैलाई, आमा उठ्नु भयो|
“नानि थाकेको होलाउ, एकछिन आराम गर| त्यो बेला सम्म म केहि खाजा बनाउछु|” आमाले इस्मीलाइ केहि बेरको लागि बिदा दिनु भयो|
“म पनि एकछिन पल्तिन्छु मामु|” मामुलाई याद त दिलाउनु पर्यो म त्यहि छु भनि|
“पर्दैन, त माछा पखाल्न आइज|” हेर त मेरै मामु तर मलाई नै काखा र पाखा गर्दै हुनुहुन्थियो|
“मामु, माछा म पकाउ आज| हाम्रो घर तिर पकाउने तरिकाले|” हैन इस्मीको यो कस्तो रुप देख्दै छु म| मसंग त जहिले बाध भएर , खाइदिउला जसरि कुरा गर्थीइन् तर आमासंग यसरि बोल्दै थिइन्, मानौ उनको ओठमा मह मिसिएको छ| आमाको आखामा म इस्मीको लागि केहि भिन्न भावना देख्दै थिए|
“ब बुहारी चाही गज्जबको रोजेछ छोराले|” आमाले पक्कै यहि सोच्दै हुनुहुन्थियो| आमाको आखा पढ्न सक्छु म, अनि आमाको आख्मा यहि थियो|
“आमा, म नुहाएर आउछु, त्यो बेला सम्म उसले माछा पखाल्छ|” इस्मीले मलाई फसाएर आफु नुहाउन गइन्| एकछिन पछी आमा र इस्मी मिलेर माछा पकाउन लाग्नु भयो| बुवा आएको चाल पाए मैले| बुवा भान्सा तिर नै आउनु हुन्थियो|
“बुवा, कहाँ जानु भएको थियो हजुर?” मेरो प्रश्न स्वाभाविक थियो| मैले प्रश्न गर्नु र बुवा भान्सा भित्र पस्नु संगै भयो|
“”तिमि यहाँ?” इस्मीलाइ देखेर बुवाले यस्तो प्रश्न गर्दा, म चकित कसरि नहुनु| तर बुवाले किन यो प्रश्न गर्नु भएको? बुवाले इस्मीलाइ क्सरी चिन्नु हुन्छ?
