“अमृताकोमा छु|” उनले पहिलो झुठ बोलिन्| थाहा छैन उनि कोसँग बोल्दै छिन् तर उनले यसरि झुठ किन बोलेकी? यो पहिलो झुठ थियो| त्यसपछि अझै दुइ तिन झुठ समाते मैले उनको| फोन राखिन् उनले|
“हजुरलाई भेट्न आएको भनेको छैन अंकितलाइ|” उनले आधि अधुरो वाक्यमा मलाई केहि प्रस्त्याइन्| उनले सफाई दिन जरुरि थिएन| उनले अहिले भर्खर जे भनिन्, त्यो मैले अघि नै अनुमान गरिसकेको थिए तर उनले मलाई भेट्न आएको कुरा किन लुकाइन् अंकितसंग? सम्बन्धको पहिलो सिधान्त नै बिस्वास हैन र? खैर, उनले लुकाएको कुरा मलाई कोट्याएर निकाल्नु छैन| अनायसै मनमा घाउ हुन्छ उनको| मैले कुनै प्रतिक्रिया दिन जानिन र हासेर नै सहमति जनाए जस्तो गरिदिए|
कति छिट्टै समय गएको है भनि अघिको बार्तालाप पुन:सुरु भयो| एक पछी अर्को गफ सुरु भयो| तर उनिमा बदलाव आएको थियो| अघिको फोन पछी उनको स्वभाव थोरै बदलिएको थियो| उनले सक्दो त्यो बदलाव लुकाउदै थिइन् तर असफल रहिन्| उनको हरेक शब्दमा हिच्किचाहट दर्शिदै थियो| बदलाव थियो तर ठ्याक्कै यो बदलाव भन्न सक्दिन| एक त बदलाव के थाहा छैन, अनि दोस्रो बदलावको कारण थाहाछैन| बल्ल थाहापाए, उनको ध्यान नै छैन हाम्रो कुराकानीमा| उनले के बोल्दै छिन् उनलाई पनि थाहा छैन| शब्द उनीबाट नै आउदै थियो तर शब्द उनको बिबेक बिना निक्लिएका थिए|
“उसलाई मन पर्दैन म कोहिसंग यसरि भेटेको| नया मान्छेसंग म घुलमिल भएको उसले छिटै पचाउन सक्दैन| पुरानो साथीसंग जति बोले पनि हुन्छ, जति भेटे पनि हुन्छ तर नया मान्छेको बिस्वास गर्नु हुन्न भन्छ| म उसलाई बुझाउन सक्दिन त्यसैले लुकाउछु| थाहाछ म जे गर्दै छु, गलत हो तर उसको मन दुखाउन मन छैन| यदि म खुल्ला नै हुन पाइन भने म खुसि कसरि हुन्छु? त्यसैले उसको मन नदुखोस भनि झुठ बोल्छु अनि आफ्नो इच्छा पनि पुरा गर्छु| माया गर्छ उसले मलाई, म पनि गर्छु| तर सम्बन्धमा सम्झौता धेरै हुनु हुन्न जस्तो लाग्छ| अब हजुर आफै भन्नु, म हजुरसंग बोल्दै छुम भेट्न आएम हजुरसंग साथि बने| यसमा मैले उसलाई धोका दिएको छु त? मैले हजुरसंग भेट्दा गतिछाडा भएको छु र? “ उनमा आएको बदलावको कारण यो पो रैछ| मनमा यति धेरै भावना गुम्साएर जो राखेकी छिन्| उनले अहिले जे जे ब्यक्त गरिन्, त्यो सबैमा म पूर्ण रुपले सहमत हुन सक्दिन तर मेरो असहमति भएको पनि हैन| यदि सम्बन्धमा खुसि हुने र साथ रहने बहाना खोज्नु पर्यो भने, सब भावना सम्भावना बनिदिन्छ, अनि सम्बन्ध सम्झौता बनिदिन्छ| सम्झौता गरेर पाएको खुसिको मुल्य धेरै हुन्छ कि खुल्ला भएर पाएको खुसीको मुल्य धेरै हुन्छ| खुसि त खुसि हो नि जसरि आए पनि| हैन र? खुसिको तुलना हुन्न, तुलना हुन्छ त्यो खुसिको लागि दिएको त्यागको| के त्यो खुसिले त्यो त्यागलाइ न्याय दिन सक्छ? एक्लोले सम्बन्धको परिभाषा दिएको त्यति सुहाउदैन, चुप बसे म अब| आधि अधुरो सहमति जनाए उनको कुरामा, बहुमत थिएन मेरो मनको|
थप गफ, उनको मोबाइल फेरी बज्यो| मेसेज आएको थियो| मेसेजमा के थियो थाहाछैन मलाई| तर त्यो मेसेजले फेरी माहोल बदलियो| उनले मेसेजको रिप्लाई गरिन्| फेरी उनको मोबाइलमा मेसेज आयो| माहोल अब पुरै बदलियो| उनि हत्तारिदै थिइन्| मेसेज रिप्लाई गरेर, मोबाइल पकेटमा हालिन् अनि “अब म जानुपर्छ|” भनिन्| किन अचानक जानु पर्यो केहि भनिन| घरमा कसैलाई सन्चो भएन कि? मेरो दिमागमा यो खयाल मात्र आयो| के गर्ने कसो गर्ने सोच्न सकिन|
“म पुर्याईदिन्छु नि|” सहयोग गर्ने उदेश्यले उनलाई यति भने|
“पर्दैन, म आफै जान्छु|” यति भन्दै उनले बिल मगाईन्| पैसा पनि मलाई तिर्न दिने हैन उनले| “आज मैले बोलाएको हो, म दिन्छु|” भनेर जिद्दी गरिन् उनले| उनको जिद्दीको अगाडी मेरो केहि लागेन| मान्नु पर्यो उनले भनेको|
“फोटो खिच्न बिर्सिएको|” उनले फोटो खिच्ने इच्छा जिकिर गरिन् उनले| उनले उनकै फोनबाट फोटो लिन्छिन सोचेको तर मेरो मोबाइलबाट फोटो लिन भनि उनले| उनको यो आग्रह थोरै अनौठो थियो| आखिर फोटो खिच्ने इच्छा उनको, तर फोटो चाही किन मेरो मोबाइलबाट?
“मलाई भाइबरमा पठाइदिनु है राति|” यति भनेर उनि बिदा भइन्|
भर्खर 5 बजेको छ| कोठा जाने जागर चलेन| कोठा गएर, फेरी बेलुका बानेस्वर आउनु नै पर्ने हुन्छ| अनामनगरको साथिलाइ फोन गरे| उसको समय अनुकुल भयो र भेट्ने पक्का भयो| कफीबाट सुरु भएको थियो गफ, साथिले बियरमा पुर्याईहाल्यो| रेडियो स्टेसन पुग्नु छ भनेपछी घर गएर खाने भनि जिद्दी गर्न लाग्यो| आज रेडियो स्टेसन नजाने भए म| रेडियो स्टेसन नगएपनि, कार्यक्रम संचालन भने म नै गर्छु| पहिले पनि यसरि घर मै बसेर पनि कार्यक्रम संचालन गरेको थिए मैले| टेक्निसियन दाइले यति व्यवस्था चाही मिलाइदिनु भएको थियो|
कार्यक्रम घरबाट नै संचालन गरिसकेपछी, साथीले रक्सिको पेग बनायो| मेरो कार्यक्रमको अवधिभर उसले मासु नि पकाई भ्याएको थियो| पहिलो पेग पछी गित बजाउन भनि युटुब खोलेको मात्र थिए, मोबाइल अफ भयो| मोबाइललाइ चार्जमा हालेर, हामि पनि चार्ज हुन लागेउ| रक्सि र गफ सकिदा, ११ बजेको थियो|
साथि निदाईसकेको थियो| मोबाइल लिएर ओछ्यानमा पसे| मोबाइल अन गर्दा मिस कफीको मेसेज थियो| लेखिएको थियो “फोटो खोइ?” उनलाई भाइबरमा फोटो पठाएर सुत्ने तैयारीमा थिए|
फोन बज्यो मेरो, फोन आयो नया नम्बरबाट|
