फेरी आज पिटाइ खाइयो भनेर घरमा सुनाए भने उल्टै गाली खानु पर्ने बाध्यता। प्रिन्सिपलको त झन् कुरै गर्न मन लाग्दैन, हिटलरको नि जिजु बाउ थिए। हामी मान्छे नै हौ कि भेडाबाख्रा छुट्याउन गार्हो पर्थ्यो प्रिन्सिपलको व्यवहार देखेर। काच्चै खाइदेला भन्ने डर। कसम होला सपनामा देखे भने अहिले पनि रातभर सुत्न सक्दिन। स्कुल सकाएर घर फर्कियो; फेरी होमवोर्क गर्न गोरु जोते झै जोतिनु पर्थ्यो। पिडा थियो हजुर पिडा।
यस्तो परिस्थितीबाट फुत्किएपछि खुशी नहुने त कुरै हुन्न। एस.एल्.सी. पछिको ३ महिना पनि कम्ता रमाइलो भएन, कति चाँडै बित्यो बित्यो। फेरी त्यो बेला फेसबुक जस्तो सामाजिक सञ्जालहरु खासै प्रचल्लित थिएनन्। त्यो बेला चलेको भनेको Mig33 र Yahoo Messenger थिए। म भने Mig33 मा झुन्डिन्थे धेरै। बढो रमाइलो लाग्ने Mig। उठे देखि सुत्ने बेला सम्म Mig भनेपछि हुरुक्क म। धेरै साथी नि बनाइयो र एउटा नयाँ संसार सँग नि नाता जोडियो। मज्जा बेग्लै यो सबै कुराहरुको। नचिनेकोसँग नै गहिरो नाता र मित्रताको आभाश, लाग्थ्यो सम्बन्ध नि पहिले देखी गाँसिएको झै।
“ओइ, एक जनासँग बोल्छस Mig33 मा?” स्कुल देखि कै साथि जोसंग एकदम मन मिल्थ्यो, अहिलेको भाषामा भन्नु पर्दा जिग्री, उसको यस्तो मेसेज आयो |
अब यस्तो भन्दाभन्दै नि हुन्न भन्ने मुर्खता कसरी गरु र म। १७ बर्ष को उमेर र त्यसमाथि उत्सुक स्वभावको, हुन्छ बाहेक केहि अरु हुनै सक्दैन मेरो जवाफ।
“पहिला पार्टी चहिन्छ।” सिधै घुस्स माग्यो त केटोले।
“पहिलेको त भन्।” चिन्नु न जान्नुसँग बोल्नको लागि किन एक प्लेट Mo:Mo मा पैसा खर्च किन गर्नु जस्तो लाग्यो।
“को सो भन्दिन , अहिले एक प्लेट Mo:Mo को लागि लोभ गर्दै छस्, नाम थाहा पाइस भने २ प्लेट खुवाउछस्|” एक तिर उसको यस्तो कुरा र अर्को तर्फा उसको ढिप्पी, फेरी पनि हुन्छ भने र एक प्लेट Mo:Mo मा सहमति भयो | उत्सुकता झनै बढ्यो मनमा,को होला त्यो?
