“तिमीले पो बिर्सेउ नि ,मलाई त मान्छे र नम्बर दुवै बरोबर याद छ |” कस्तो सजिलै उनले यति भनिन् तर म भने उसंग सहमत हुन खोजिन| जसको बारेमा अभ कहिले सोच्दिन भनेर बसेको थिए, उ संग नै अहिले बोल्दै छु | मैले त उसको यादलाई पहिले नै बगाइ सकेको थिए तर मलाई के थाहा त्यो यादको खोला फेरी फर्किन्छ भनेर | जब म आफ्नु अलग्गै बाटोमा जादै थिए किन उसले आज अचानक आफ्नु बाटो नि मेरो मार्ग संग जोडी | धेरै कुरा चल्दै थियो मनमा तर ब्यक्त गर्न भने सकेको थिन |
“त्यस्तो है|” कुरा लम्ब्याउनु ब्यर्थ झैँ लाग्यो, यति भने र चुप रहे |
“म झन् कस्तो मज्जाको कुरा गर्दै छु ,उसले भने बाल नदिरा|” उ संग बोल्दै छु त्यो नै ठुलो जस्तो लागेको थियो मलाई,अभ अझै उसलाई मैले मज्जाले बोलिदिनु पर्यो रे | नसक्ने हैन म उसंग मज्जाले बोल्न तर नचाहेको हो ,फेरी पनि पुरानै याद ताजा गर्नुथिएन मलाई |
“ अनि के भनु त म | हामि अलग्गिएपछि सबै कुरा बिर्सिसके मैले” मनमा जे थियो त्यहि पोखे मैले |
“म तिम्रो नजिकै त छु नि सधै |” आज यो केटीलाई के भएछ,बुझ्नै गाह्रो भयो | मेरै भाषा म संगनै प्रयोग गर्दै थि |
“मेरो नजिक त केवल अहिले दुखेको मन र एकान्त छ|” भन्नु थियो केहि कुरा बिस्तारै भन्दै गए |
“ त्यो हावा महसुस गर्न सक्छौ नि,हो म त्यहि हावा हु ,जुन सधै तिम्रो नजिक हुन्छ र सास बनि तिमि भित्र नै हुन्छु जहिले |” उसले किन र कसरि यी शब्दको प्रयोग गर्दै छे, यो बडो रहस्यको बिषय जस्तै भयो मेरो लागि |
“मैले सास लिन नै भुलिसकें हामि अलग्गिएपछी |” कुनै बेला यहि हालतमा थिए जब मर्ने मन त थिएन तर बाच्ने इक्षा पनि थिएन|
“अनि कसरि बाचेको छौ त ?”
“ तिमीले छोडेर गएपछि म बाचेको छु भनेर पनि कसरि कल्पना गर्न सक्छौ के तिमि ?”
“ तिमीले चिनेको मान्छे उहिले मरी सक्यो जब तिमीले मन नै मारेर गयौ, अहिले त केवल म उसको झुठो प्रतिबिम्ब हु |”
“भयो बाबा भयो,सकिन तिमि संग बोलेर,मलाई त कस्तो रिस उठेको छ तिमि संग बोल्न नि मन छैन |” अघि सम्म चाहिने नचाहिने कुरा सुरु गरि र अहिले बोल्न मन छैन रे ,फेरी मैले चाहेको पनि त्यहि हो ,नबोलोस उ मसंग | धन्न जे होस् कुरा उसले अर्कै तिर लगी नत्र हाम्रो संवादले मलाई अतित तिर नै लग्दै थियो,जुन अतीतलाई मैले भुल्न खोज्दै थिए |
“किन के गरे मैले त्यस्तो?” चाहेको त उ कहिले नबोलोस भन्ने थिए तर सिधै भन्न मिल्दैन | तर पनि आफुले के गल्ति गरे छु भन्ने चाही जान्ने मन कसलाई पो नहुदो हो | फेरी आफुले केहि गरेको जस्तो नि लाग्दैन |
“आज कुन दिन हो?” केटीहरु के भएका के , प्रश्न को उत्तरमा उल्टै प्रश्न पो गर्छन |
“मंगलबार हो |किन र ?” जुन भए पनि रिसाउनु चाही किन के म संग |
“गते के , कति गते?” अघि दिन सोध्दै थि,अहिले गते,हरे|
“७,किन र ?” मेरो हरेक जवाफसंगै म भित्र बढेको आतुरता मज्जाले दर्शिन्थियो|
“कुन महिनाको ?” प्रश्न माथि प्रश्न, उसंग बोल्दै छु कि कुनै जागिरको लागि अन्तरबार्ता,आफैलाई बुझ्न गाह्रो हुदै गयो |
“जेष्ठ ,के भो त भन|” सोधेको कुरा भन्ने हैन, रीस उठिसकेको थियो मलाई |
“जेठ ७ गते, केहि याद छैन है |” उसले यति भनेपछि बल्ल मेरो दिमागको बत्ति बल्यो,त्यो पनि मेन्टस् नखाइकन| आज उसको बर्थडे पो हो, उसले यति भन्दा पनि बल्ल बल्ल याद आयो,निन्द्रालाई नै दोष दिम होला |
“साची तिम्रो बर्थडे पो |” यति बार्तालाप पछी ,मेरो वाक्य स्वाभाविक नै थियो |
“तिम्रो टाउको,खोइ त wish गरेको?” मेरो वाक्य जस्तै उसको रिस पनि स्वाभाविक नै हो | बर्थडे पनि wish गरियो र यस्तै अरु कुरामा समय बित्यो |
“ ओइ मेरो मोबाइलको पैसा सकियो,अनलाइन आउन ल|” म सुत्न लाको मान्छेलाइ अनलाइन आउ भनेर फोन राखी उसले,फेरी आफ्नु मोबाइलको पैसा सकियो भन्दै थि तर मेरोमा छ कि नाई पनि सोधिन र हुन्छ पनि भन्न नपाइ फोन राखी| अघि सम्म जे सोचे पनि, जे गरे पनि ,अहिले भने मेरो मनको आगो निभिसकेको थियो,सायद उसको जन्मदिन भएर होला | बर्थडे गर्लले भनेको मान्नै पर्यो, मेसेन्जर खोले, महिनो अघि उसलाई म्युट गरेको थिए आज अनम्युट गरे र आफैले सुरुमा “Hi “ लेखेर पठाए | उसले रिप्लाई दिन केहि ढिलो गरि र म अरु मेसेज पनि हेर्न लागे |अरु मेसेज संगै कन्चनको मेसेज पनि रैछ, जवाफ फर्काए र यति गरिसक्दा पनि परजुनाले रिप्लाई गरेको थिन |
अभ पालि थियो फेसबुकको, फेसबुक खोले,७ वटा नोटिफिकेसन, त्यो पनि भ्याए हेरेर र बल्ल परजुनाको रिप्लाई आयो |
“म बोलेको छैन क्यारे तिमीसंग|” अघि भर्खर सकेको कुरा फेरी सुरु गरि उसले | मैले कति ठुलो पाप नै गरेको जस्तो गर्छे त |
“भुलेको हैन के, रातभरी सुतेको थिन,अनि तिमीले फोन गर्दा उठेको पनि थिन |सरि के |” उसलाई थाहा थियो म झुठको सहारा लिएर उसंग बोल्दै थिए | अभ यस भन्दा उपाय पनि केहि छैन |
“ल ल बच्चा भनेर छाडे |तर एउटा कुरा चाही मान्नु पर्छ मैले भनेको |” जे होस् चाडै सकियो उसको नाटक | फेरी मेरो रुप कति हो आफै ट्वा हुन्छु, एउटीले बुढो भन्छे अर्कोले बच्चा | यो कुरा ठिकै छ तर उसले अभ फेरी के भन्न लागि,जुन मैले मान्नै पर्ने ,अर्को सोचमा परे |
