“किन कि तिमीले फोन नराखे भने म यहाँबाट हिड्न ढिलो हुन्छ| अनि जाम हुन्छ, अनि अबेला भएन त?” म परजुनाकोमा जान तैयार भएको छु, अब फेरी उसंग फोनमा गफ गर्न लागे भने कसरि पुग्नु? केहि जिस्किएर फोन राख्नु पर्यो भनि भने परजुनालाइ|
“ त्यस्तो पो, ल चाडै आउ|” यतिमा परजुनासंगको गफ सकियो र घरबाट हिड्न मात्र के लागेको थिए मामुले रोक्नु भयो| “छोरा, यो बाल्टिनको पानि करेसाबारीमा हाल्दे त|” मामुले यति भन्ने बित्तिकै हातको मोबाइल भान्साको टेबुलमा राखी बाल्टिन बोकेर करेसाबारी तिर लागे|
करेसाबारी जादा बाल्टिन गरुङ्गो थियो, फर्किदा बाल्टिन मेरो मन जस्तै हलुङ्गो| बाल्टिन लिएर भान्सा पसे र फेरी हिड्न तैयार भएको मात्र के थिए मामुले अर्को काम अराउनु भयो| “हेर त, भान्साको झ्याललाइ त्यो फुलको हाँगाले पुरै छोपेको छ| त्यो हाँगा भाचिदेन|” मामुलाई नाई भन्न पनि नमिल्ने| घन्टीको फुलको बोट, भाच्नलाइ हात नै काफी हुन्छ|
हाँगा भाच्दै गर्दा एउटा बाइक रोकियो मेरो छेउ आएर| “ के हो, पुरै टल्किएर काम गर्दै छस् त!” टोलको साथीले यति भनेपछि बाइक रोक्ने को हो पनि चिने|
“हैन बाहिर जान लागेको हो, मामुले भनेर मात्र यति काम सक्न लागेको|” आफ्नो सफाइमा यति भने|
“कहाँ जान लागिस् फेरी?” साथीको प्रश्न आयो|
“सुर्यविनायक हो| साथीको बर्थडे पार्टी छ|” मैले यति भन्ने बित्तिकै साथिले आफु पनि सुर्यबिनायक जान लागेको बतायो| साझको समय, गाडीमा मान्छेको हुलमा झुन्दिदै जानु पर्छ सोचेको थिए| साथीले पुर्याइदिन्छु भन्दा मैले नाई भन्ने कुनै सवाल नै आउदैन| रुखको हाँगा छेउ लगाएर, मामुलाई बाहिरबाट नै जान्छु भनि साथीको बाइक पछाडी बसे र लागे सुर्यविनायक|
साथीले सुर्यविनायक चौक पुर्याइदियो र त्यहाँ उसको बाइकबाट ओर्लने बित्तिकै अर्को साथि भेटियो, सदिप भेटियो| उसको घर र परजुनाको घर लग भाग नजिकै हो| सदिपको घर भन्दा परजुनाको घर अलि पर मात्र हो| सदिपसंगको गफसंगै उसको घर अगाडी पुगियो| केटो विदेश जान लागेको रैछ, उसले आफ्नो बारेमा सबै सुनायो र मैले भने केहि मात्र| हुन त परजुनालाइ उसले पनि चिन्छ तर म परजुनालाइ भेट्न जादै छु भनि सदिपलाइ भनिन| सदिपलाइ त मैले परजुनालाइ चिन्छु भनि पनि थाहाछैन|
परजुनाको घर पुगे, कोठा नपस्दै भित्रको अवाज सुन्न सक्छु म| भित्र मान्छेहरु धेरै छन् भन्ने मैले भान पाए मैले| सिधै भित्र पसौ कि परजुनालाइ बाहिर लिन बोलाउनु? सोच्न लागे| भित्र पस्ने आट आएन र मनले पनि मानेन| परजुनालाइ फोन गरौ भनि गोजीबाट मोबाइल निकाल्न खोजेको, मोबाइल छैन गोजीमा| बाइकमा बसेको बेला बाटोमा त खसेन नि भनेर तनाब हुन लाग्यो| एकछिन सोच्दै जादा याद आयो, मोबाइल भान्साको टेबुलमा नै छुट्यो भनि| अब भित्र पस्नु बाहेक उपाय नै छैन| ढोका खोलि भित्र पसे|
“आलु मान्छे, फोन उठाउनु पर्दैन? कति पटक मैले फोन गरे| झन् पर्खेर बसेको केट काट्नु अघि|” कोठामा पस्ने बित्तिकै परजुनाले एक सुरमा मलाई हेर्दै बोल्न लागि| उसलाई के थाहा फोन म संग छैन| धन्न फोन साइलेन्टमा छ र फोन आएको मामुले थाहा पाउनु भएन छ| नत्र मामुले फोन उठाएर के भन्नु हुन्थियो कुन्नि|
“मोबाइल घरमा नै छुट्यो नि|” यति बाहेक अरु केहि भन्न नै जानिन|
परजुनाकोमा पुगेर बस्न पनि पाएको छैन, केक काट्न लागेउ| गन्न त भ्याएको छैन तर अन्दाजको भरमा भन्न सक्छु, लगभग १५ जना छन् परजुनाको बर्थडेमा| मैनबत्ती सल्काएर, परजुनाले निभाएपछी बल्ल केक काटी उसले| ह्याप्पी बर्थडे र तालिको आवाज गुन्जिन लाग्यो कोठाभरि| केकको पहिलो हकदार मलाई नै रोजी परजुनाले| थोरै मैले खाए र थोरै परजुनालाइ खुवाईदिए| अनि त्यसपछि केकको ठुलो अंश पनि परजुनाले मात्र पाई तर मुहारमा| उसको साथिहरुले उसको अनुहार भरि केक लगाइदिए|
अनुहार पखाल्न परजुना गइ र फर्किदा हातमा दुइ क्यान बियर छ उसको हातमा| एउटा मलाई दिदै अर्को उसले खोलि| बियर खाएर घर कसरि जानु म? तर परजुनालाइ नाई भन्न मिल्दैन, मैले नाई भने पनि उसले जबर्जस्ति गरेर त्यो बियर मलाई पिउन लगाउछे नै| घडीले ९ को सुइ छुदा छुदै परजुनाको साथिहरु केहि घर फर्की सकेका थिए भने केहि शोफामा केहि भुइमा नै ढलेका छन्| अब होसमा बाकि भएको म अनि परजुना मात्र| गफ केहि अतितका र केहि वर्तमानको हुदै छ, केहि उसको र केहि मेरो हुदै छ| बातचित केहि मिठा र केहि तिता हुदै छ| हाम्रो गफ एउटा यस्तो रेखामा गएर रोकिएको छ जहाँबाट मलाई अघि जानु छैन र गएर फाइदा नि केहि छैन| आखिर कन्चन हो मेरो जीवन अहिले|
“ल अब म घर जान्छु|” घरमा बेलुका फर्किन्छु भनिहिडेको थिए, फर्किनु त पर्यो| परजुनाले मैले भनेको सुनी र नसुनेको जस्तै गरि| मैले भने कि परजुना मेरो काधमा आड लिएर बसेकी छे भनि? भन्न भुले होला सायद| परजुनाले मलाई घर जान दिन| घरमा फोन गरि आज आउन्न भने| गालि त खाए तर बियरको नशाले त्यो गालिलाइ पचाईदियो|
सोच्नुस्, हजुरले कुनै कपडा मन परेर किन्नु भयो| मन परेर हैन एकदम नै मन परेर लिनु भएको हो त्यो कपडा| त्यो कपडा लगाउदा मुहारको चमक नै बढ्छ| यहाँ सम्म कि दिन होस् या रात त्यहि लगाएर बस्नु हुन्छ, सफा होस् या फोहोर त्यो खोल्न नै चाहनु हुन्न| तर यस्तो एकदिन आयो जब त्यो कपडा हजुरलाई मन पर्न छोड्यो, कारण जे होस् तर त्यो कपडाको महत्व पहिलो जस्तो छैन अब| त्यसैले त्यो कपडा केहि दिन दराजमा थन्क्याउनु भयो| एउटा सानो आश छ, कहिँ फेरी त्यो कपडा लगाउन मन लाग्छ कि भनि, त्यसैले हो दराजमा राख्नु भएको तर त्यो कपडा प्रति हजुरको मन फर्केन र त्यो कपडा हजुरले फोहोरमा फ्यालिदिनु भयो| अब त्यो कपडा च्यात्तियोस् या अरु कसैको हातमा परोस् हजुरलाई मतब छैन| यस्तै हुन्छ हैन| हो मसंग पनि यस्तै भयो, तर फरक यति छ कि त्यो फोहोरमा फ्यालेको कपडा फेरी मेरो दराजमा आउन पुग्यो| यहाँ कपडा भनेको परजुना हो र मसंग यस्तै हुदै छ| परजुना र म सम्बन्धमा थिएउ केहि बेर, अनि त्यसपछि अलग्गिएउ | तर फेरी म किन परजुनासंग यसरि उसको कोठामा बस्दै छु मलाई थाहा छैन|
