फोन निकाले अनि फोन लगाए निष्ठालाई, पहिलो रिंगमा फोन उठेन,दोस्रो रिंगमा पनि उठेन, ५वौ रिंगमा फोन उठ्यो उसको, ५ रिंग जादा सम्म ५ थरि कुरा सोच्न भ्याए मैले| आखिर आज अचानक किन उसले फोन गरेकी? कहिँ केहि मुश्किलमा त परिन? हैन हैन मेरो याद आयो होला| आउछ याद,याद आएपनि नाटक हो| कहिँ हामि फेरी सम्बन्धमा ………?
“हेल्लो सन्चै हुनुहुन्छ?” अचम्मको प्रश्न गर्छे उ पनि,जीवन भरि निको नहुने चोट दिएर जाने उ आफै हो,अनि सन्चै हुनु हुन्छ सोध्छे|
“उम्म सन्चै छु|त नि?” झुठो बोल्न खप्पिस भएको छु,हासो पछाडी पिडा लुकाउन सिकी सके| झुठो बोलेको हो तर पूर्ण रुपमा पनि हैन, उसको आवाज सुन्ने बित्तिकै,खै किन हो मन हर्षित भएर आउछ, लाग्छ जिन्दगीमा केहि दुख नै छैन|
“हजुर के भएको? जहिले रातभरी सुत्नु हुन्न,आज पनि रक्सि पिउनु भएको जस्तो छ|अनि जहिले मैतीदेवी किन आउनु भएको?” उसंग कुरा नभएको धेरै नै भयो,त्यही पनि उसलाई कसरि थाहा भयो कि रातभरी सुत्दीन म,सधै म उसलाई भेट्ने आशमा भौतारिदै मैतिदेबी पुग्छु| के उसले मलाइ मैतिदेबीमा देखेकी छे? यस्तो केहि पनि हैन,उसको एउटा बहिनि छे,उसंग जहिले म बोल्छु,त्यहि बहिनीले भनेको हुनुपर्छ| धन्यबाद बहिनि तिमीलाई,तिमीले गर्दा आज निष्ठाले फोन गरेकी छे मलाई, आज फेरी निष्ठा संग बोल्न पाएको छु,मेरो मन कति खुसि छ कसरि व्यक्त गरु म| म तिमि प्रति कृतज्ञ छु नानु|
“मैले जे गरेपनि तलाई के भयो र? तलाई त म प्रति केहि भावना नै छैन नि| तैले जहाँ छाडेर गइस्,हो म त्यहि वरी परि छु, अगाडी बढ्न चाहेर पनि सकी रहेको छैन,सायद तलाई जस्तो सजिलो भएन मेरो लागि अघि बढ्न| त निकै अघि पुगी सकेकी हैनस?फेरी किन फोन गरेकी आज उही ठाउमा रहेको मान्छेलाई?” निष्ठाको फोन,एकछिन खुसि भए,एकछिन भावानामा बगे, यति सबै भएपछी सुरु भयो मेरो मनमा रहेको सबै पिडा अनि आक्रोश पोख्ने कार्य|
“गाह्रो छैन अघि बढ्न,हजुरले नसकेको हैन नचाहेको| जसरि मलाई चाहनु हुन्छ नि,त्यसरी नै अघि बढ्न खोज्नुस,हजुर पनि सक्नु हुन्छ|” कति सजिलो छ जस्तो गर्छे| म पनि कस्तो लाटो,उसलाई सजिलो भइहाल्छ नि,उसले दिमागले पो माया गरेकी थि|
“तलाई सजिलो भयो होला,त अघि बढ्न| म जहाँ छु ठिक छु,तलाई के भयो र| माया गर्दिन भन्छस फेरी नाटक किन गरेको अहिले?” जो मान्छे संग बोल्न म तड्पिदै थिए,आज त्यो मान्छे संग म झगडा गर्दैछु| झगडा नै गर्नु थियो भने मैले किन उसको मुहारको एक झलक हेर्न यति दुख गरे,उसको आवाज सुन्न मरेको जस्तो हुन्थिए,सायद मायाले हैन आक्रोश पोख्नु थियो|
“अघि पुगे म तर फेरी हजुरले पछी हेर्न बाध्य गर्दै हुनुहुन्छ| हजुरलाई यो हालतमा देखेर म कसरि खुसि हुन सक्छु| के हामि अलग भएनि खुसि भइ बाच्न सक्दैनौ?” अब फेरी दोष उसले मलाई लगाउन खोजेकी? मैले गर्दा उ अघि बढ्न नसकेकी? म अहिले जुन हालतमा छु,त्यो सबै उसले गर्दा हो| कस्तो प्रश्न गरेकी उसले,हामि अलग भएर पनि खुसि हुन सक्दैनौ रे? राम भगवान सिता माता संग पर हुदा खुसि हुनुहुन्थियो होला त?
“मेरो चिन्ता नले,म यस्तै हो| भने नि,म पागल हो| के गर्छस् म सकिन अघि बढ्न| माफ गरिदे मलाई, तलाई आजबाट दुख दिन्न|” आक्रोस रित्तिए छ सायद,अब उ अघि हार माने मैले|
“एउटा कुरा छ| हजुरलाई थाहा हुनुपर्छ यो कुरा,हजुरको हक लाग्छ यो कुरा थाहा पाउन| म नया सम्बन्धमा गासिसकिए|” मलाइ थाहाछ, पिडा कृतिम हो, तड्पन क्षनिकको मात्र हो,आशु भोलि गएर हासोमा परिणत हुन्छ,अतितका दागहरुलाई भोलि गएर भबिस्यको बुट्टाले ढाक्नेछ तर यति चाडै? उसलाई दुइ दिन पनि लागेन हाम्रो मायाको चिहान माथि आफ्नो मायाको नया घर बनाउन|
“कहिले बाट?” सकिन यति भन्दा धेरै बोल्न|
“नया बर्षबाट|” याद आयो,उसले चैत्र ३० गते फोन गरेर मलाई भनेको एक एक कुरा| आखिर उसलाई नया सुरुवात गर्नु जो रैछ,त्यसैले मसंग यसरि पर हुदै गएकी रैछे|
“नाम के हो?” भयो त बिस्वास, तलाई किन चाहियो तलाई उसको नाम जोसंग तेरो माया बन्धकी छे| तलाई किन जान्नु पर्यो त्यो मान्छेको बारेमा, अब जस्ले तेरो ठाउ ओगटेको छ| त्यो मान्छे जसले अब तैले जस्तै निष्ठाको एक एक पाटो चिन्दै जान्छ| त्यो मान्छे,जल्सै निष्ठाले तलाई जसरि नै आफ्नो एक एक राज भन्छे,जसलाई निष्ठाले तलाई जसरि नै आफ्नो मायाको अंगालोमा हाल्छे,जसलाई निष्ठाले तलाई जसरि नै त्यो ओठले चुम्छे जुन ओठले उसले त संग सम्बन्धको अन्त्यको जिकिर गरेकी थि, जसलाई निष्ठाले तलाई जसरि नै माया गर्छे या भनम माया गरेको नाटक गर्छे| नाम जान्ने इच्छा मन मनै रहयो र यो प्रश्न पनि मैले मनमा नै दबाए|
“खुसि लाग्यो यति सुनेर| त कोहि संग त खुसि छस् नि| यति भए मलाई पुग्छ| राखे मैले|” मैले यति भन्दा उसले केहि भन्न खोज्दै थि तर मैले केहि नसुनी फोन काटे| निष्ठाको लागि खुसि हुनु कि आफु पिडामा डुब्नु, निष्ठाको खुसिछे भनि चित्त बुझाउनु कि उसले गरेको व्यवहार सम्झी रिसाउनु,खै ठम्याउन नै सकिन| उसको लागि खुसि हुन खोज्दै थिए तर उसंग बिताएको पलहरु अझै जीवित नै छ म भित्र,चाहेर पनि खुसि हुन सकिन| चाहेर खुसि हुन् सकिन र नचाहदा नचाहदै पनि रुन पुगे| खै कति बेर रोए एक्लै बसी| जव यो संसारमा फर्की आए, घडी हेरे ३ बजेको थियो| निस्थालाई भुलाउने साधन भनेको नै रक्सि हो अहिलेको लागि तर पुरै ठमेल सुनसान भैसक्यो| कुनै बेला कुनै साथीले भनेको थियो,याद आयो|
“रातको जति बजोस,टिचिंग हस्पिटल छेउमा एउटा पसलमा रक्सि पाउछ|” साथीले भनेको यहि कुरा सम्झी म लागे टिचिंग तिर| ट्याक्सी चढ्न मन लागेन| पकेटमा अघि मात्र लिएको चुरोटको प्याकेट थियो, एउटा चुरोट सल्काए र लम्किए टिचिंग तिर|
