उसको घर मैतीदेवी भनेर थाहाछ तर घर देखेको थिन| उ भेटिन्छे कि भनेर मैतीदेवी चौक पुगे,थाहा छ यो पागलपन हो तर पनि मायामा पागल उहिले भईसकेको थिए,पागलपन मात्र अहिले देखिएको हो| कस्तो पागल होला म, कुनै एउटा ठाउमा गएर त्यो एउटा मान्छेको प्रतिक्षा गर्दैछु, मलाई आफै थाहाछैन त्यो मान्छे अहिले कहाँ छ| यो पागलपन आज मात्र हैन म सधै नै गर्न लागे|
अफिस बिहान आठ बजेबाट हो| घरबाट बिहानै ५ बजे हिड्छु,अनि मैतीदेवीको एउटा क्याफेमा बसेर चिया चुरोटले दिन सुरु गर्छु| यो सबै गर्नु पछिको एउटा मात्र आशा छ, उ बिहान कलेज जाने बेलामा भेट हुन्छ कि भनेर| मेरो अर्को मुर्खता भनौ? मलाई थाहा छैन,उसको कलेजको समय बिहान हो कि बेलुका| पहिलो दिन,४ कप चिया अनि ७ वटा चुरोट,यसरि नै बज्यो ७:३०| क्याफे सडक छेउमै भएर मेरो आखा एक पल पनि सडक भन्दा अन्य ठाउमा थिएन तर निष्ठाको नामो निशान कहिँ थिएन| सायद उसको कलेज दिउसोको हुनुपर्छ|
बेलुका ५ बजे अफिस सकियो, अफिस पछी पनि सिधै त्यहि क्याफे पुगे म| बिहान भेट भएन, सायद उसको कलेज समय दिउसोको होला,त्यसैले बेलुका भेट हुन्छ कि भन्ने आश पलाएको छ मनमा| बेलुका ८:३० बजे सम्ममा ६ कप चिया र १० वटा चुरोट सकियो तर पनि निष्ठा भेट भइन| म यो के गर्दैछु, कस्तो नचाहिने कुरामा जिद्दी गरेर बस्दैछु, समय किन यसै खेर फ्याल्दै छु| ल एकदिनको समय खेर गयो तर यहि रहयो भनेबाकि जिन्दगि पनि यस्तै नहोला भन्न सकिन्न|
बेलुका पनि निद्रा लागेन, आखा चिम्लिन डर लाग्ने| आखा चिम्लियो कि निष्ठालाई देख्छु अनि उसकै आवाज गुन्जिन लाग्छ मेरा यी कानमा| आखा खोल्छु फेरी कोहि छैन मेरो सामु, न निष्ठा न उसको आवाज| निन्द्रा नलागेपछी आफ्नो साथीलाई सम्झिए, हैन अभिलाई हैन| कलम अनि डायरी भएको छ अहिले मेरो साथि, मैले जे भने नि केहि नभनी सुनिदिन्छ| मेरो भावानालाई सहि गलत केहि भन्दैन, उसले मात्र सुनिदिन्छ मेरो सबै भावानाहरु अनि पिडाहरु| उसले मेरो पिडा सुन्ने मात्र हैन, जब मेरो पिडाहरु कलमको सहारा लिएर मसिको रंगमा, शब्द भइ डायरीमा पुग्छन,उसले सबै त्यो पिडा सोसीदिन्छ| भोलिबाट चाही निष्ठालाई सम्झिदिन भनेर सोच्छु तर मैले भने नि म मनको गुलाम हु, सोचेको केहि हुन्न|
बिहान निष्ठाको प्रतिक्षा अनि बेलुका पनि निष्ठाको प्रतिक्षा, ६ दिन यसरि नै बित्यो| सधै त्यो एउटा क्याफेमा दिनको ५ ६ घण्टा बिताउन लागे| आज शुक्रबार, झिनो आश पलाएर आयो,कहिँ भेट भइहाल्छ कि| कलेज बेलुका ५ ६ बजे सकिन्छ तर बेलुका ८ बजे सम्म किन बसेको भनेर पनि सोच्दै हुनुहुन्छ हजुरहरु| कारण एउटा छ,उ कहिले काही साथिहरुसंग बेलुकाको समय घुम्न निक्लिन्छे,यहि हो मेरो झिनो आशा|
एकदिन त क्याफेको दाइले पनि सोध्नु भयो “बाबु कसैलाई पर्खेर बस्नु भएको हो?”
“हो दाइ|” अरु केहि जवाफ नै छैन म संग|
“फोन गरेर बोलाउनु न,किन यसै पर्खेर बस्नु हुन्छ|” दाइलाई के थाहा, त्यो कोसिश नगरेको हैन मैले तर उसको फोन लाग्दैन र फेरी दाइलाई म भनु कसरि कि म पागल जस्तै उसलाई भेट्ने आशमा छु| माया हैन पागलपन नै हो यो|
“दाइ नम्बर छैन मसंग|” मैले जवाफ नदिएको भए नि हुन्थियो होला तर …
“साथीको नम्बर त राख्नुपर्छ नि|” दाइले मेरो वाक्य सकिने बित्तिकै अर्को वाक्य सुरु गर्नु भयो|
“दाइ,उ मेरो साथि हैन,हामि बीच केहि सम्बन्ध नै छैन| मेरो लागि भए नि उसको लागि छैन|” दाइलाई यति भने तर मन मनै| मैले जवाफ नफर्काएपछी दाइ पनि भित्र पस्नु भयो|
आज पनि फेरी ८:३० भयो, क्याफे बन्द हुने बेला| अरु दिन जसरी क्याफेबाट घर गइन, आज ठमेल तिर मोडे बाइक| मैतीदेवीबाट पुतलीसडक हुदै दरबारमार्ग निक्लिए,अनि त्यहाबाट ठमेल| ठमेल पहिले पनि धेरै पल्ट आइसकेको थिए म, तर एक्लै भने पहिलो पटक हो| साथमा ब्याग थियो,त्यो लिदै ठाउ ठाउ जाने कुरा भएन| ९ बजे,ठमेल आफ्नु पूर्ण चमकमा पुग्न केहि समय बाकि थियो तर म भने ३ बोतल बियर पछि, पिडा अनि नशा दुबैमा बरोबर दुबेको थिए| बाइक पार्किंगमा छोडेको थिए,रात भारको १५०, त्यसैले बाइक केहि होला भन्ने चिन्ता छैन दिमागमा| खुट्टाले शरीर थेग्न नसक्ने गरि रक्सि पिउदै गए| यो रक्सि अनि चुरोटको जोडी हेरेर जल्न लागे म,आखिर कस्तो साथ निभाएको यिनीहरुले| अनि यता म छु,जसको भाग्यमा बिछोड बाहेक केहि छैन|
शरीरलाइ खुट्टाले थेग्न नसक्ने भएको,यो मनको कल्पना मात्र रैछ,नत्र म त्यहाँ बाट उठेर वासरुम सम्म कसरि पुगे| अभ एउटा अन्तिम बियर अनि होटेल जान्छु सोचे| याद आयो,मैले होटेल बुक गरेकै छैन| रातको १२ बज्न लागेको छ,होटेल पाइन्छ कि नाइँ पनि थाहा छैन| यति हुदा पनि एउटा बियर बिना उठ्न चाहिन म त्यहाबाट| एक बियर ल्यायो होटेलको भाइले, आधि बोतल गिलासमा हाल्यो उसले, बोतल आधा भयो र गिलास भरियो| एक गिलास बियर पिएर अर्को गिलासको तैयारी गर्दै थिए,त्यत्तिकैमा निष्ठाको फोन आयो| भ्रम त हैन नि यो फोन?
मैले फोन उठाउनु जरुरि ठानिन,भ्रम ठानेर| त्यसपछि मेसेज आयो| “मलाइ थाहा छ हजुर सुत्नु भएको छैन|फोन उठाउनु न|” यति मेसेज पछी पक्का भए,मेरो भ्रम हैन यो| त्यो ठाउँमा ठुलो आवाजमा गित बज्दै थियो, त्यहाँबाट निक्लेर मात्र फोन गर्छु सोची भाइलाई बिल अनि एक प्याकेट चुरोट मगाए| चुरोट बगलीमा हाले र बियरको आधि बोतल हातमा लिएर,म त्यो ठाउबाट निक्लिए|
फोन निकाले अनि फोन लगाए निष्ठालाई..
