“छिटो सिभिल हस्पिटल आउ| म सिभिल हस्पिटल,मा छु|” कन्चनले यति भनेर फोन राखिन् र मैले फोन गर्दा उसले फोन उठाइन|
आखिर उसलाई के भयो र उनि सिभिल हस्पिटलमा पुग्नु पर्यो? मनमा फेरी प्रश्नहरुको बाढी आयो| मनको प्रश्नको बाढीले बगाएर मलाई सिभिल हस्पिटल पुर्यायो| चिन्ता लिने बिषय धेरैछ मन भित्र, कन्चनको फोन नउठेर अर्को तनाब थपियो मनमा| सिभिल हस्पिटल पुगेर फेरी पनि कन्चनलाइ फोन लगाए र उनको फोन फेरी पनि उठेन| हैन आखिर के भयो के उनीलाई? मलाई यहाँ बोलाएर उनि आफै गायब| जम्मा दुइ सोचछ मनमा, कि उनीलाई ति केटाहरुले केहि गर्यो कि अरु कसैलाई केहि भएर उनि त्यहाँ पुगेकी|
फोन न उठेपछि मैले के गर्ने अब? एउटा ठुलो भिडमा बा-आमाको हात समाई हिडी रहेको बालक, अचानक उसको बा-आमाबाट उसको हात छुट्टिन्छ र उ एक्लो हुन्छ| यता उता हेर्छ, बा-आमा दुवै हुनुहुन्न| कहिले यता जान्छ कहिले उता जान्छ| तर चिनेको कसैलाई देख्दैन| म पनि त्यहि बालक जस्तै भएको छु, हस्पिटल बाहिर सबै तिर घुमीसके तर कन्चनलाइ कहिँ देखिन| मेरो दिमाग अलि ढिलो चलेको हुन सक्छ, इमर्जेन्सी वार्डमा गए| नभन्दै कन्चनलाइ त्यहि देखे| उनको टाउकोमा सेतो पट्टि छ, उसलाई कसले चोट पुर्यायो फेरी? हातमा पनि ब्यान्डेज देखे, सायद केहि ठुलै घटना घट्यो फेरी|
“के भयो कन्चन?” कन्चनलाइ देख्ने बित्तिकै मेरो मन सिरिङ्ग भइसकेको छ| मन सिरिङ्ग भएको, जिउमा काडा उम्रिएको, यस बाहेक केहि सोध्न र बुझ्न नै सकिन|
“कलेज बाहिर चिप्लिए| चोट लाग्यो हात र टाउकोमा|” कन्चनले यति भएपछी मनले एउटा भिन्नै शितलत महसुस गर्यो| कस्तो खुसि भयो मन| कन्चनलाइ दुखि रहेको छ, उनि पिडामा छे र उनि पिडामा हुनु भनेको म पिडामा हुनु हो| तर पनि म खुसि हुदैछु| अचम्म हैन त? कन्चन पिडामा छिन् भनेर म खुसि भएको हैन| खुसि हुनुको कारण फरक छ| कन्चन आफै लडेर चोट लागेको, त्यो दुइ केटाहरुले गर्दा यो भएको हैन भनि थाहा पाउदा म खुसि कसरि नहुन सक्छु|
“घाउ गहिरो छ सिस्टर?” घाउ कति गहिरो वा गम्भीर छ केहि थाहाछैन मलाई, मैले त सेतो ब्यान्डेज मात्र देखेको हो| सिस्टरलाई मैले घुमाएर के सोध्न खोजेको भने आखिर कति बेर अझै बस्नु पर्छ यहाँ|
“हात मर्किएको मात्र हो, निधारको घाउ चाही हरेक दुइ दिनमा ड्रेसिङ्ग गर्नु पर्छ|” नर्सले कन्चनलाइ अघिनै मलम लगाईसकेकी थिइन्, उनको जवाफले चाही मेरो मनमा पनि मलमको काम गर्यो|
“हामि कति बेर सम्म यहाँ बस्नु पर्छ सिस्टर?” फेरी अर्को प्रश्न राखे नर्स सामु|
“उहाँ हिड्न सक्नु हुन्छ भने अहिले लगेपनि हुन्छ नत्र एकछिन आराम गर्न दिनु|” यति सुन्दा मेरो कान कति खुसि भए, म कसरि बयान गरौ|
“म सक्छु सिस्टर|” नर्सको वाक्य सुन्ने भित्तिकै कन्चनले आफै यति भनिन्| तर मलाई किन कन्चनले यो वाक्य चाहेर भनेको हैन जस्तो लाग्यो| उनको स्वरमा केहि परिवर्तन छ, उनको अवाजमा अझै पनि चोटको पिडा छ तर त्यो स्वरमा एउटा अर्को भावना पनि मिस्सिएको छ| मलाई किन यो महसुस हुदैछ कि कन्चनले मसंग केहि लुकाउदै छिन्| लुकाएको पनि हैन, उनीले मलाई केहि भन्न बाकि छ जुन यहाँ भन्न मिल्दैन|
“हुन्छ, त्यसो भए उहालाई लग्दा हुन्छ| अघि औसधि लिन गएको मान्छेले औसधि ल्याउनु भयो त?” नर्सले यति भनेपछि मात्र दिमागमा एउटा सोच आयो, कन्चनलाइ हस्पिटल सम्म कसले ल्यायो? उनि एक्लै त आएकी हैन नि| औसधि लिन कोहि गएको छ भनि थाहापाउदा बल्ल उनि पक्कै पनि साथिसंग आएकी हुन् भनि पक्का भए|
कन्चनले आफ्नो साथीलाई फोन लगाईन्| उनीहरु पुग्न नै लागेको भन्ने थाहा भयो| एकछिनको पर्खाइ पछी कन्चनको दुइ साथि हातमा औसधिको झोला लिदै आए| उनिहरुलाई कन्चनसंग राखेर म ट्याक्सी लिन गए| रत्नपार्क छेउमा झुठो माया र हस्पिटल छेउमा ट्याक्सी सजिलै भेट्ने| ट्याक्सी लिएर इमर्जेन्सी वार्ड अगाडी पुगे र कन्चनलाई ट्याक्सी भित्र राखे|
“ म चिप्लिएको हैन|” कन्चनले ट्याक्सी गुड्ने बित्तिकै यति भन्दा म अक्कबक्क भए| अघि मात्र उनीले चिप्लिए भनेको हो, अहिले फेरी चिप्लिएको हैन रे| बुझ्ने गाह्रो भयो मलाई|
“बुझिन मैले! अनि किन अघि चिप्लिएको भनेको त?” नबुझेको कुरा सोधे कन्चनलाइ, आखिर उनीसंग लुकाउनु नै के छ र|
“मलाई बुवाको मोबाइलबाट मेसेज आयो, बुवा कलेज बाहिर हुनुहुन्छ भनि| एकछिन बाहिर आइज लेखिएको थियो, म बाहिर गए तर त्यहाँ बुवा हुनुहुन्थिएन| बुवाले त कहिले मलाई मेसेज नै गर्नु हुन्न नि, जहिले फोन गर्नु हुन्छ भनि याद आयो| केहि गडबड छ सोच्दै मात्र थिए, पछाडीबाट कसैले धक्का दियो मलाई| म सडकमा पछ्छारिए, हातले थेग्न खोजे तर सकिन र पहिले हातमा चोट लाग्यो अनि त्यसपछि टाउको ठोकियो| पछाडी फर्केर हेरेको त त्यहि दुइ केटा थिए|” कन्चनले यति भन्दा मेरो रगत उम्लिएर आयो| बिस्वासलाइ फोन गर्न खोज्दा कन्चनले रोकिन् मलाई| अहिले केहि कदम नचाल्न निर्णय गरियो|
तर उनको बुवाको मोबाइलबाट उनीलाई कसरि त्यस्तो मेसेज आयो? हामि दुबैको मनमा यहि प्रश्न छ| कन्चन पनि त्यहि सोच्दैछे र म पनि| कन्चनको घर नपुग्दै मेरो मोबाइलमा मेसेज आयो, कन्चनको नम्बरबाट| अनि कन्चनको मोबाइलमा पनि मेसेज रैछ, मेरो नम्बरबाट मेसेज गएको रैछ| आखिर हामि दुबैले मोबाइल चलाएकै छैन भने कसरि हाम्रो मोबाइलबाट एक अर्कालाइ मेसेज गयो?
