सबै गाडी चढे र दाइले झ्यालबाट टाउको निकाल्दै “गए ल” भन्दै अन्तिम पल्ट बिदा माग्नु भयो| चाहेर पनि हास्न सकेको छैन| धेरै मान्छे गुमाएको छु जिन्दगिमा, कोहि टाढा जादा पनि डर लाग्छ| काठमाण्डौ पुगेर भाउजुले फोन गर्नु भयो| दिउसोको दुइ बजेको थियो र म पार्लरमा नै छु भाउजुले फोन गर्दा| भाउजु नभएको दिन जहिले पार्लरमा काम धेरै हुने| फेरी भोलि बिहेको लगन छ| कति जना आज नै तैयार हुन आए र कति जना भोलि बिहानै आउछु भनेका छन्| अहिले राति म जति बजे सम्म पनि बस्न सक्छु तर भोलि बिहानै आउनु असम्भव हो ममेरो लागि| २ जना ब्युटिसियनलाइ बेलुका ९ बजे सम्म राखे र २ जनालाइ भोलि बिहानै ५ बजेको लागि बोलाएको छु| अहिले पनि दुइ जनाले सबै काम सक्न मुश्किल छ, म आफै पनि मदत गर्न लागे| बेलुका ९ बजे सम्म काम गरेका छन् सबैले, भोकै घर पठाउन मनले मानेन| तिन जना खाना खानको लागि थकाली गयौ| थकालीबात ट्याक्सीलाइ पैसा दिएर उनीहरुलाइ घर पठाए| थाकेको छु, घर जान मन छैन| थोरै बियर पिएर मात्र ओछ्यानमा ढल्न मन छ|
काम जति धेरै गर्छु भन्यो, त्यति नै कम काम गरिन्छ अनि बियर जति कम पिउछु भन्यो त्यति नै धेरै पी…| यहि नै हुदैछ अहिले पनि| चिसो बियर, बियर संग बंगुरको सेकुवा, केहि खिल्ली चुरोट र बार्तिका राइको गित| यी सबैको साथले बातावरण नै प्रतिकुल छ| थोरै बियर भनेर बार पसेको म, ३ बोतल शरीर भित्र गइ सकेछ| अझै १ घण्टा बारमा नै हुन्छु भनि आफैमा पक्का भए| बियरको साथ त छ तर दाइको याद आयो| एकछिन सम्म दाइको याद नै हाबी भयो मेरो मगजमा| अब कब्जा गर्ने पालो एक्लोपनको| यहाँ म संगै कोहि भइ दिएको भए| म उसंग गफ गर्थिए होला| आज दिन कस्तो भयो भन्थिए| मलाई कुन घटनाले खुसि बनाउछ अनि के ले दुखि तुल्याउछ भनि अर्थाउथिए| म अहिले खुसि छु कि दुखि त्यो पनि भन्थिए| बिहान देखि अहिले सम्म के के भयो एक एक भन्थिए उसलाई| यदि निराश भएको भए उसलाई अन्गाल्थिए| उसको अँगालोमा परेर, बाकि सबै भुल्थिए| एकछिन उसंग राम्थिए, एकछिन रिसाउथिए, एकछिन घुर्की लगाउथिए र एकछिन उसलाई फ़काउथिए पनि होला| यदि मसंग अहिले कोहि भइदिएको भए, म के के गर्थिए होला| साथ छ त केवल यो रक्सि जुन बेश्या जस्तै भएको छ| रातमा साथ दिन्छ अनि बिहानै छाडेर जान्छ| यहाँ भनौ म बेसिया भएको छु, रात भर मेरो शरीरमा कब्जा गर्छ अनि बिहानै छाडेर जान्छ|
अरु दिन रक्सिको साथले पुरा गर्थियो मलाई र आज यहि रक्सिले एक्लोपनको महसुस गराउदै छ| क्षनिकको संसारमा कति रमाउनु म? कोहि आओस र मसंग बोलोस् भएको छ| मसंग नबोले पनि हुन्छ मात्र मेरो कुरा सुनिदिए पुग्छ| मनमा यति धेरै कुरा छ, कसैलाइ अगाडी राखरे सुनाउन मन छ| अहिले भन्न सुरु गरे भने, भोलि सम्म पनि भनि नै रहनेछु| काल्पनिक संसारमा पुर्याउने मलाई यो रक्सीको साथ् भन्दा मेरो बास्तबिकता बुझिदिने कोहि चाहेको छ| रक्सिले खुसि छु भन्ने भ्रममा खुसि बनाउछ तर म खुसि छैन| कोहि चाहिएको छ मलाई, जसलाई म आफ्नो भन्न सक्छु| मलाई माया चाहिएको हैन तर मलाई बुझ्दिने कोहि चाहिएको छ| केहि हुदा उसलाई भन्न पाइयोस्, मनको भावना बुझिदिने कोहि चाहिएको छ| या मान्छे आफ्नै भावना र बुझ्दैनन्, मेरो भाव कसरि बुझ्लान? कोहि छ जसले मेरो भावना बुझेर मेरो एक्लोपन मेट्न सक्छ? कहाँ छ होला त्यस्तो व्यक्ति? कहिले भेट्छु म उसलाई?
मेरो टेबुल भन्दा केहि टेबुल अगाडी एउटा चिनेको अनुहार देखे| चिनेको भन्न मिल्दैन, त्यस्तो अनुहार देखे जुन अन्जान छैन र मैले पहिले पनि धेरै पल्ट देखि सकेको छु| उसले मलाई नदेखेको भएपनि मैले उसलाई देखेको छु| उसले मेरो अनुपस्थिति महसुस नगरे पनि मैले उसको उपस्थितिको आवास गरेको छु| मैले खोज्दै गरेको मान्छ उही नै हो बल्ल आवास भयो मलाई| उ पनि म जस्तै एक्लै रमाउन खोज्छ| उसको पनि मेरो जस्तो धेरै साथि छैनन्| मैले कसलाई देखे भन्न बिर्सिए सायद| मैले लेखकलाइ देखे| उसको नाम के हो थाहाछैन तर उ चाही मेरो लागि लेखक हो| उसको नाम नै लेखक हो| मलाई उसंग कुनै प्रेमिक सम्बन्ध जोड्नु छैन, मात्र एउटा सम्बन्ध जोड्नु छ? किन थाहा छ? मलाई कोहि यस्तो चाहिएको छ जसले मेरो भावना बुझिदियोस| लेखकले अरुको भावना नबुझ्ने त् हुदै हुन्न| अनि मलाई कोहि यस्तो चाहिएको छ जो सुनेर बसोस् जब म बोल्छु| लेखकलाइ पात्र चाहिन्छ कथामा, अनि त्यो पात्र म हुन सक्छु| उसले मैले जे भने पनि सुनेर बस्न सक्छ| यहि आश बोकी लेखक बसेको टेबुल सामु गएर उभिए| उभिएको २ मिनेट भइसक्यो तर केहि बोल्दैन उ| म अगाडी छु भनि उसलाई थाहा पनि भएन हो? केहि लेख्दै थियो उ, शब्द देखे तर पढ्न सकिन| केहि शब्द लेखेपछी, उसले शब्द लेख्दै गरेको पाना च्यात्यो र फ्याल्यो|
“ बिचार डायरी, किन च्यातेको होला त्यस भित्रको पाना| पानालाइ पनि कति दुख भयो होला डायरीबात छुट्टिदा|” उसले केहि नबोलेपछी मैले आफै बोलचाल सुरु गरे| फेरी लेखकसंग सामान्य तरिकाले बोलचाल सुरु गर्न नमिल्ला, जान्ने भएर मिले पनि नमिले पनि साहितिक शैलीमा बोल्न खोजे|
“ के थाहा पाना कहिले डायरीको हिस्सा नै थिएन कि? पाना कहिँ अरु हुनु पर्ने र गल्तीले डायरीमा आएको हो कि? पानाको गन्तब्य डायरी नभई कहिँ अरु हुन सक्दैन?” यदि यस्तो जवाफ आउछ थाहा भएको भए, मैले बोलचाल सुरु नै गर्थिन| गरेको भएपनि “के छ?” सोध्दै गर्थिए होला|
“ के थाहा, पाना आफ्नो सहि ठाउमा छ कि? के थाहा पानाको गन्तब्य नै डायरी हो कि? के यस्तो हुन सक्दैन कि डायरी चाही गलत ठाउमा छ र गलत मान्छेको हातमा छ| त्यो गलत मान्छेले पाना च्यात्दै छ पानको महत्व नबुझी?” रक्सि पीएपछी मानिस नारायण गोपाल भएको थाहा छ, साहित्यकार भएको पहिलो पटक देख्दै छु| रक्सिले मलाई साहित्यकार पनि बनायो|
“ तिम्रो शब्दको भाव र बोल्ने शैली देख्दा, तिम्रो सम्बन्धको डायरी पनि गल्ति हातमा परेको जस्तो लाग्यो| अनि त्यो मान्छेले तिम्रो मुटुको पाना छिया छिया पारेर च्याति फ्यालेको हुनुपर्छ|” लेखकले यति भनिसक्दा, मेरो आखा अगाडी क्षितिज आयो र गइ पनि हाल्यो| यो यादको झझल्को पनि कस्तो अचम्मको| म दुखि भइन क्षितिजलाइ सम्झिदा, बरु खुसि भए| यो पहिलो पल्ट हुदै छ तर किन थाहाछैन|
“ जे पायो त्यहि| लेखक हु भन्दैमा जे अनुमान गर्न पनि मिल्छ? हजुरले चाहेको र सोचेको पुरा हुनलाइ न यो कुनै हजुरले लेख्ने कथा हो र न म हजुरको कथाको कुनै पात्र|” जवाफ फर्काउन भिन्न आनन्द आउदै छ| मनमा शितलता फैलिएको छ|
“ अनुमान हैन भोगाई लेख्छु| जे कल्पना गरेर लेख्छु, त्यो पनि कसैको बास्तबिकता भइदिन्छ| कहिले अतितमा गएर भबिस्य लेख्छु र कहिले भबिस्यमा गएर अतित| म पक्का भएर भन्न सक्छु कि तिम्रो मुटु टुटेको छ| तिमि अहिले एक्लो छौ, तिम्रो मनमा अहिले कसैको कब्जा छैन|” उसले जे भन्यो त्यो सबै सहि भन्यो तर हार मान्नु छैन| कुरा हार जितको हैन, अन्त्यको हो| यदि मैले जवाफ फर्काइन भने हाम्रो बातचित अन्त्य हुन्छ|
“ तिमीले भबिस्य लेख्ने रैछु अनि अतित लेख्ने रैछौ| अतित सुनेर र देखेर लेख्न मिल्छ र भबिस्य अनुमान गरेर| तिमीले बर्तमान लेक्छु भनेर भन्न सकिनौ, किन कि बर्तमान लेख्दा सत्य लेख्नु पर्छ र गलत लेख्न मिल्दैन| अनि तिमि लेखक हौ ज्योतिषी हैनौ, मुख हेरेर अतित भन्नलाइ| के थाहा मेरो मनमा अरुले कब्जा गरि सकेको हुन सक्दैन?” मैले यो जावाफ कसरि तैयार पारे मलाई नै थाहा छैन| लेखकलाइ उसकै खेलमा पछार्न पाउने भएर खुसि हुदै छु|
“ मैले जे भन्न खोजे त्यो तिमीले बुझिनौ| यदि म अतितमा गएर भबिस्य लेख्दै छु भने भोलि त्यो बर्तमान हुन्छ अनि भबिस्यमा गएर अतित लेख्दै छु भने त्यो हिजो बर्तमान थियो| म जे लेख्दै छु त्यो बर्तमान हो| मात्र हेर्ने नजर अनि नजरिया फरक हो| अनि अर्को कुरा, तिमि एक्लो छौ भनेर मेरो अनुमान हैन म पक्का छु| शर्त लगाउने हो त?” म भ्रममा रैछु, म कहिले पनि जित्ने स्थितिमा थिइन रैनछु| म जित्दै छु भन्ने सोच पनि झुठ साबित भयो| उसले यति निर्धक्क भएर म एक्लो छु भन्दै छ, तर उसले कसरि थाहा पायो| अनुमानको भरमा कोहि यति ठोकुवा भइ बोल्न सक्दैन| शर्त लगाउने प्रस्ताभ राख्यो उसले| मैले हुन्न भन्नु मेरो हार हो| तर हुन्छ भन्नु पनि त् हार हो| के गर्नु अब म?
“शर्त लगाउन त् हुन्छ तर जित्नेले के पाउछ अनि हार्नेले के पाउछ?” नजितेपनि पुरस्कार तोक्न पछी परिन म|
“ हार्ने मान्छेले जित्ने मान्छेले भनेको मान्नु पर्छ|” उसको यो जवाफ र म सोच्न लागे, उसले माग्ने पो के हो मसंग? जे मागे पनि मागोस्, आज खुसी खुसि हार्ने छु भन्दै “हुन्छ” भन्ने निधो गरे|
“ हुन्छ तर यदि तिमिले हारेउ भने पछी मैले भनेको मान्दिन भन्न पाउदिनौ नि| अनि जवाफ दिएर मात्र हुन् तिमीले, साबित पनि गर्नु पर्छ|” एउटा अन्तिम चाल चले, कहिँ उ पछी हट्छ कि भनि तर उसको दृढता देखेर उ पछी हट्छ जस्तो लागेन|
“तिमि एक्लो छौ| अनि यसलाई म साबित गर्न पनि सक्छु| अहिले पनि मौका छ तिमिसंग, अहिले पनि शर्त रद्ध गर्न सक्छौ|” यदि उ ठोकुवा छ भने उसले सिधै प्रमाणित गर्थियो म एक्लो छु भनि तर उसले पनि सिधै जवाफ दिएको छैन| कहिँ उ पनि म जस्तै चाल चल्दै त् छैन नि?
“ मौका मसंग हैन तिमिसंग छ| आफु गल्ति छु थाहा हुदै हुदै पनि शर्त लगाउदै छौ तिमि| अन्तिम मौका हो, रद्ध गर्ने भए रद्ध गर शर्त| तिमि हारेको कसरि हेर्नु मैले|” मैले पनि आफ्नो चाल चल्न रोकिन|
“ल तिमीलाई हार्न नै मन रैछ……
