त्यहि निदाएछु र बिहान निन्द्रा खुल्दा पनि म भुइमा नै छु| निन्द्रा पनि भाउजुको फोनले गर्दा खुलेको हो, भाउजु पोखरा पुग्नु भयो| भाउजुलाइ भेट्न उत्सुक भए र वासरुम पसे| ऐना हेरेको, दाहिने गालामा निलो दाग छ| हिजो चिप्लिएर भुइँमा पछारिएको, चोट लागेछ| दुखेको नभएपनि,दाग चाही नराम्रो देखिएको छ अनुहारमा| मेरो कपडा भिजेको पनि छ| हिजो पानिमा चिप्लिएर लडेको, लुगा भिज्नु नौलो कुरा हैन तर पानि यस्तो गनाउदैन| मेरो लुगा किन गनाउदै छ फेरी? वासरुमबाट बाहिर मुन्टो निकालेर हिजो लडेको ठाउ तिर चिहाए, पानि हैन बियर रैछ| हिजो मैले बियर पोखेको रैछु अनि त्यहि बियरमा चिप्लिएर लडेको रैछु| त्यसैले लुगा भरि बियर छ अनि लुगा गनाउदै पनि छ| मसंग भएको बाकि लुगा फोहोर छ अनि यो भिजेको छ, भाउजुलाइ भेट्न यो हालतमा जान मिल्दैन| होटेलबाट सुरुमा घर पुगे अनि त्यसपछी भाउजुलाइ भेट्न|
“मैया, कति ढिलो आउनु भएको| झन् मैयालाइ भेट्न भनेर, म अघि देखि पर्खेर बसेको|” भाउजुले मलाई कति माया गर्नु हुन्छ यहाँबाट नै थाहा हुन्छ| भाउजुको हातको चियामा जादु छ अनि यो जादु महसुस नगरेको धेरै दिन भएको छ| भाउजुकोमा पुग्ने बित्तिकै भाउजुले मेरो हातमा तातो चियाको कप थमाउनु भयो, स्वर्ग पुग्ने बित्तिकै अमृत पाए मैले| भाउजुसंग थोरै गफ अनि भाउजुले मेरो हातमा एउटा झोला दिनु भयो| काठमाण्डौबाट पुस्तकारी, अमिलो र एउटा लुगा ल्याइदिनु भएको छ| भाउजुको यति धेरै माया, सम्हालन गाह्रो पर्यो र आखा रसाए मेरा| जिन्दगिमा माया बाहेक ठुलो के नै छ र?
“ भाउजु, मेरो परिक्षा आउदै छ| म केहि दिन पार्लर आउन पाउदिन|” अन्तिम एक हफ्ता देखि नियमति पार्लर जादा जादा वाक्क भएको छु| परिक्षा भनि झुठ बोलेको हैन मैले, साच्चिकै परिक्षा छ तर म दिन्न| केहि दिन रमाइलो गरेर बिताउनु छ| अब सोच्नु भयो होला, हिजो अस्ति सबै त्यहि गर्दै थिए भनि| थकान मेट्न रमाइलो गर्दै थिए हिजो सम्म, अब थाक्ने गरि रमाइलो गर्न मन छ|
यति दिन पछी भेटेको, भाउजुसंग गफ गर्दै दिन बित्यो| भाउजुले रातको खाना नखाई जान दिनु भएन| खाना खाएर घर फर्किदा 7 बजेको छ| घर पुग्ने बित्तिकै झोलामा कपडा हाले अनि होटेल तिर लागे| आफ्नै घरमा बास हुन्न मेरो, घर भनेको कपडा लिन आउनलाइ मात्र भएको छ| घरमा एक्लै बस्न मन नलाग्नु स्वाभाविक नै हो नि| मेरो लागि होटेल चाही घर भएको छ बरु| होटेल पुगेर तैयार भए र रम्नको लागि खुल्ला चरी भएर लेक साइड पुगे| बार पुगे र सुबोधलाइ खोज्न लागे| याद आयो, सुबोध आज यहाँ हुदैन| उसले आफै भनेको थिओ, उ शनिबार सम्म मात्र यो बारमा भेटिनेछ| आज आइतबार, मैले उसलाई यहाँ खोज्नु भनेको मेरो मुर्खता हो|
सुबोध छैन, अनि म सुबोधको लागि यहाँ आएको हो तर सुबोध छैन भन्दैमा रमाउन छाड्दिन| उ नहुदा पनि म खुसि नै हुन्थीए अनि रम्थिए पनि| अहिले पनि केहि बदलिएको छैन| म रम्न छाड्दिन| बियर मगाए र पिउन लागे| एक पछी अर्को गर्दै ४ बोतल सकियो| बियरको नशा चढ्दै गयो र सुबोधको यादले पनि सताउन लाग्यो| म उसको साथमा रमाउन थालेको रैछु अनि त्यहि साथको अभावले एक्लो महसुस गर्न लागे| तर अब गर्ने के? उ कहाँ छ मलाई थाहा छैन| उ के गर्दै च मलाई थाहा छैन| उ कहाँ बस्छ मलाई थाहा छैन| उ अहिले पोखरामा नै छ कि नाइँ, त्यो पनि थाहा छैन| मलाई बाकि केहि थाहाछैन, यति मात्र थाहा छ कि मैले सुबोधलाइ खोज्नु छ| तर कसरि? त्यो पनि थाहा छैन| हरे मेरो जिन्दगि|
दिमाग चलाउन लागे| सुबोधले भनेको थियो, उ ६ महिनालाइ पोखरा आएको हो अनि अहिले भर्खर दुइ महिना भएको छ| मतलब उ अहिले पोखरामा नै छ| पोखरामा छ तर पोखरामा कहाँ? उसलाई अहिले सम्म मैले बारमा मात्र भेटेको छु| मतलब उ अहिले पनि कुनै बारमा छ| तर कुन बारमा? पोखरामा यति धेरै बार छन्| कुन कुन बारमा चाही खोज्नु मैले उसलाई? खोज्दा भगवान भेटिन्छन, बालुवामा पानि भेटिन्छ, साथीको गोजीमा पैसा भेटिन्छ, चिकेन चिल्लीमा चिकेन भेटिन्छ, तर सुबोधलाइ भेट्छु भन्ने आश चाही छैन| नभए पनि पोखरामा १०० वटा बार र पब होलान्, दिनमा १० वटा बार गए पनि १० दिन लाग्छ| अनि सुबोध एउटा बारमा हफ्ता दिन मात्र बस्छ| यो पनि मेरो अनुमान हो| अब मेरो भाग्यमा भर पर्छ, कति बलियो छ मेरो भाग्य अनि कति छिटै भेटिन्छ सुबोध| या भेटिदैन| कोशिश नगरी हार मान्न पनि मिल्दैन|
आफु बसेको ठाउबाट उठेको मात्र के थिए, बार बन्द हुने जानकारी पाए| 7 दिन भनेको, अब मसंग ६ दिन मात्र छ| ६ दिन मात्र छ तर छ न त छ नि| पहिलो दिन उसलाई खोज्नलाइ 7 वटा बार पुगे तर उ कुनै बारमा छैन| कस्ता दिन आए, बार गएर पनि जुस पिउनु पर्ने| एक त समय कम अनि हरेक बारमा बियर पिउन लागे भने, एकदिनमा 7 हैन ४ बार पनि पुग्न भ्याउदिन| धेरै कोशिश गरे दोस्रो दिन, तर पनि 7 वटा बार भन्दा शंख्या बढेन| दुइ दिनमा जम्मा २४ बार| तेस्रो दिन ८ अनि चौथो दिन ९| पाचौ दिन निकै नै दौड धुप गरेर १३ वटा बार भ्याए| ५ दिनमा ४४ बार मात्र चाहार्न भ्याए| आज शनिबार, अन्तिम दिन| मैले आश अनि हिम्मत दुवै हारे| अन्तिम पल्ट सुबोधलाइ जुन बारमा भेटेको थिए, त्यहि बारमा गएर बियर पिउन लागे| रम्नलाइ भनि छुट्ट्याएको यो हफ्ता, धपेडीमा नै गयो| सुबोधलाइ भेटेको भए, पक्कै पनि राम्थिए होला| अब रम्ने भन्नु कि जल्ने, यहि बियरको साथमा हो| म मुर्ख हो, मेरो भाग्यमा माया लेखेको छैन भनि कसरि भुल्न सक्छु म| सुबोध नभएर के भयो, उसको फोटो छ नि| उसले थाहा नपाउने गरि, लुकेर उसको केहि फोटो खिच्न भ्याएको थिए| अहिले त्यहि फोटो हेरेर, उसको अभावको प्रभावलाइ कम गर्दै छु|
“म्याम, हजुर यो सरलाइ चिन्नु हुन्छ?” वेटरले टेबुलमा मोमो संगै एउटा प्रश्न पनि राख्यो मेरो सामु| यो प्रश्नले निकै चकित बनायो मलाई| उसले यो प्रश्न किन सोधेको? के उसले सुबोधलाइ चिन्छ?
“ चिन्छु भन्नु कि चिन्दिन भन्नु| चिन्छु पनि चिन्दिन पनि| किन र?” यो मेरो जवाफ हैन, मेरो मनको जवाफ थियो|
“हजुर उहालाई खोज्दै यहाँ आउनु भएको त हैन नि?” अब वेटर भाइको यो जवाफले मेरो मनमा अझै धेरै प्रश्नहरुको बिउ रोप्यो| आखिर उसले किन यो सबै सोध्दै छ? म अब बहुलाउन मात्र बाकि छ| एक त रक्सिको नशा अनि अहिलेको पल, कसम म बहुलाउछु होला| उसको प्रश्नको जवाफ मैले “हो” मा दिए|
“ अनि हजुर आइतबार नै यहाँ आउनु हुन्छ भन्नु हुन्थियो सरले| शनिबार आउनु भयो, किन यति ढिलो| सरले हजुरको लागि मेसेज छोड्नु भएको छ, “क्लब भेलोसिटी” भन्दिनु भन्नु भएको छ हजुरलाइ|” वेटर भाइले यति भन्ने बित्तिकै मैले बिल मगाए र भाइको हातमा अलग्गै १००० रुपैया राखिदिए| रक्सीको मातमा छु तर पनि त्यहाँबाट उठे र क्लब भेलोसिटिलाइ गन्तब्य बनाए| आज अन्तिम दिन, नत्र भोलि सुबोध त्यहाँ हुदैन| जसरि पनि त्यहाँ पुग्नै पर्छ म तर
