उसले केहि यस्तो भन्यो कि म लास जस्तै चिसिएर आए| अक्सर सहि समय कुन हो छुट्टयाउन निकै मुस्किल हुनेगर्छ| अहिले पनि केहि भिन्न छैन| दुवै जना सुत्न तैयार थियौ, उसले अहिले जे भन्यो, अब म रात भर सुत्न सक्दिन| उसले गलत समयमा यो कुरा अघि ल्यायो| भोलि भनेको भए पनि हुन्थियो नि, किन अहिले भन्नु| फेरी भोलि भनेको भए पनि दिउसो भरि मेरो मन खिन्न हुन्थियो| अनि सायद रात भरि पनि| नराम्रो खबर सुनाउने राम्रो समय हुदैन| उसले जे गर्यो ठिक गर्यो, मात्र मेरो चित्त नबुझेको हो| हरेक सहि कुरा सबैलाई चित्त बुझ्नु पर्छ भन्ने पनि जरुरि छैन| सुबोध काठमाण्डौ फर्किनु पर्ने भयो|
सुबोध ६ महिनाको लागि पोखरा आएको, ३ महिना मसंगै बितायो, २ महिना म बिना| अब बाकि लगभग एक महिना| एक महिना पनि हैन, ३ हफ्ता| ३ हफ्ता पछी सुबोध काठमाण्डौ फर्किन्छ| यो दिन आउछ थाहा थियो तर यति चाडै? चाडै ढिलो केहिहैन, मात्र मलाई समय बितेको पत्तो नभएको| “नजाउ| यहि बस|” भन्न मन छ तर कसरि भनौ? म उसलाई माया गर्छु| उसलाई गन्तब्य पुग्नबाट कसरि रोक्न सक्छु? मेरो लागि उसलाई उसको दुनिया परिवर्तन गर भन्नु अन्याय हुन्छ, दुवै उसको अनि हाम्रो सम्बन्धको लागि| उ मेरो लागि बदलिएला तर उसंगै उसको भावनापनि बदलिन्छ| उ अहिले जस्तो छ त्यस्तै चाहिएको छ मलाई| चित्त बुझाउनु नै खुसि हुनु हो , अनि यहि खुसि चाहन्छु म हाम्रो सम्बन्धमा|
“सुबोध गयो, सुबोध जादैछ, सुबोध जानेछ|” मैले गर्न सक्ने भनेको यति सोच्ने मात्र हो| सोच्न बाहेको केहि गर्न सक्दिन| ल सोचे, सोच्छु , अनि सोचौला तर यो सबै गरेर फाइदा के हुन्छ? के सुबोध जादैन? के सुबोध यहि हुन्छ मसंग? के सुबोध जादा मलाई जति पिडा हुनुपर्ने, त्यो पिडा कम हुन्छ यदि मैले सोचे भने? यस्तो केहि हुन्न| म भन्छु के हुन्छ| मैले जति सोचे पनि, सुबोध यहाँ बस्दैन| ल मलाई निराश देखेर, उसले आफ्नो निर्णय परिवर्तन गर्ला| तर उसले यस्तो गर्यो भने, न उ खुसि हुन्छ न म नै खुसि हुन्छु| अनि मैले जति सोच्यो, त्यति पिडा बढ्छ अनि यादले त्यति सताउछ| फेरी उ सधैलाई जाने पनि हैन, फर्किएर आउछ| हाम्रो सम्बन्ध अन्त्य हुने हैन, उ केहि पर हुने मात्र हो| मान्छे नजिकै नभएर के भयो, गफ हुन्छ नै| उसको बानि लागेको हो मलाई, अब केहि दिन उ बिना बस्ने बानि बसाउनु पर्ने भयो|
सोचेर फाइदा छैन, बरु भबिस्य सोची समय खेर फ्याल्नु भन्दा बर्तमानमा रमाउछु| बर्तमान सुन्दर बनाउछु, भबिस्यको लागि याद पनि संगै बुनिनेछ|
सुबोध काठमाण्डौ फर्किन अझै ३ हफ्ता छ| २१ दिन,504 घण्टा,30240 मिनेट, यो सबै पल खुसि भइ बिताउनु छ उसंग| हरेक पलमा रम्नु छ उसंग| एक पल पनि निराश भएर वा रिसाएर खेर फ्याल्नु छैन| कसरि बनाउनु बाकि रहेको पललाइ रमणीय? हामि जहिले पोखरामा नै भयौ|कहिँ गएका पनि छैनौ| कि कोठा कि बार| कहिँ घुम्न जान मन लाग्यो| तर कहाँ जाने? दुवैले सोच्न लागेउ कहाँ जानी भनेर| दिमागमा नाम धेरै छन् तर चित्त बुझ्दो छैनन्| हामि जहाँ गए पनि गर्ने के हो? दिउसो एकछिन घुम्यो, अनि बेलुका रक्सि पिएर ढल्यो| त्यहि त हो नि| हामि पोखरामा पनि यहि नै गर्दैछौ| त्यसैले भिन्न ठाउ खोज्दै छौ|
तिलिचो ताल पर्यो हाम्रो रोजाईमा| ५ दिनको यात्रा| दुवै उत्सुक छौ अनि खुसि पनि| पहिलो दिन, पोखराबाट बेसी शहर सम्मको यात्रा तय गरियो| योजना बेसी सहरमा नै बस्ने थियो तर समय छ हामि संग| भर्खर ११ बजेको छ, दिन त्यसै खेर फ्याल्न मन लागेन| त्यहि दिन नै बेसी सहरबाट खांसरको लागि हिडियो| गाडीको लामो यात्रा, 7 बजेको छ खांसर पुग्दा| थकानले जिउ निलेको छ, कहिँ हिड्न पनि मन छैन अनि शक्ति पनि| खाना खाने बित्तिकै निदाइयो| बिहान उठ्ने बित्तिकै, तिलिचो बेस क्याम्पको ट्रेक सुरु भयो|
7 घण्टाको ट्रेक, हात खुट्टा र जिउको हालत के भयो भनि भनिराख्नु पर्दैन| यात्रा, बाटो अनि गन्तब्यको महत्व हुदैन| महत्व हुन्छ त सहयात्रीको अनि अनुभवको| यो 7 घण्टाको ट्रेकले मलाई यति खुसि तुल्यायो| उचाई बढ्दै जान्छ अनि परिदृश्य रमणीय हुदै जान्छ| लाग्छ म स्वर्गमा छु| हिमाल अनि पहाडको दृश्य मन मोहक छ| चाहे बेस क्याम्प पुग्नको लागि हामीले जे मूल्य चुकायौ, मूल्य अनुसार सन्तुष्टि पनि मिल्यो| मुल्यको दुइ गुणा सन्तुष्टि| बेस क्याम्पको दृश्य, यस्तो दृश्य छ जुन मैले अहिले सम्म देखेको थिइन| जसले पनि मरुभूमि भन्ने बित्तिकै उजाड चित्र बनाउछन् आफ्नो मस्तिस्कमा तर … हेर्ने आखाँ अनि स्थानमा भरपर्छ, मरुभुमि पनि सुन्दर लाग्छ| मरुभूमि जस्तो देखिएपनि निकै सुन्दर छ बेस क्याम्प| हरेक पल रम्दै बित्यो तर रम्ने हामि मात्र छैनौ यहाँ| हामि जस्तै धेरै छन्, जो खुसि र रमणीय दृश्यको लागि यहाँ सम्म पुगेका छन्| त्यहाँ पुग्ने हामि बाहेक केहि मान्छे मात्र हुन्छन सोचेको तर घुइचो छ मान्छेको| बेस क्याम्पमा हामीले कोठा पनि भेटिनौ| रात भर, बरन्डामा आगो ताप्दै बसेउ र त्यहि निदायौ| दोस्रो दिनको अन्त्य|
बिहान उठ्ने बित्तिकै, तिलिचो तालको यात्रा सुरु भयो| 4 घण्टाको यात्रा| सेतो हिमालको माझमा एउटा ताल| तालको वरिपरी हिमालले पहिरा लगाएर बसेको जस्तो| यो बास्तबिकता नै त हो नि? कि म भ्रममा छु? के यो चित्र हुन सकदैन? लियोनाल्ड़ो दा भिन्सीले मोनालिसा बनाए जस्तै, भगवानले तिलिचो बनाएको हुन सक्दैन? तिलिचो बास्तबिकता हैन चित्र हो मेरो लागि| यस्तो चित्र जुन सधै भरि मेरो मनमा हुने छ र यसलाई आफुसंगै पोखरा लग्न मन छ| सबै मनमोहक छ यहाँ, मान्छेको शंख्या बाहेक| दृश्यलाइ दृश्य जसरि हेर्न पनि मुस्किल पर्ने| तिलिचो त्यो सुन्दर नेपालि चेली हो, जसको बुडा बिदेसिएको छ र उनि जहिले पनि आफ्नो पतिको लागि पर्खिएर बसेकी हुन्छे| यहाँको सुन्दरता पनि त्यस्तै छ, आखा लगाउने धेरै छन् तर उनि कसैको हुदिनन्| त्यहाँबाट फेरी बेस क्याम्प फर्कियौ र बेसक्याम्पमा नै बस्ने भयौ| म थाकेको छु नत्र योजना खांसर पुग्ने थियो| यसरि भयो तेस्रो दिनको अन्त्य|
चौथो दिन, बेस क्यामपबाट हिडेर खांसर पुग्न 4 घण्टा लाग्यो अनि खांसरबाट गाडीमा बेसी शहर पुग्न ६ घण्टा| हिडाई अनि गाडीको यात्रा, दुबैले जिउ यस्तो गलायो कि, म गाडीबाट निक्लिन सक्ने हालतमा छैन| जसो तसो गरि होटेलको कथा पुगियो र म थकानमा चुर्लुम्म डुबेकी छु| सुबोधले औसधि ल्याइदियो र खान भन्यो| मेरो टाउको दुखेर छैन, जिउ दुखेको छैन, थकान मात्र महसुस भएको हो| यति लागि किन औसधि खानु? एकछिन आराम गर्यो भने ठिक भइहाल्छ नि| हो यहि कुरामा मेरो र सुबोधको चर्काचर्की पर्यो| उसले माया गरेर औसधि ल्याएको हो, मेरो स्याहार गर्न खोजेको हो तर मैले उसंग झगडा गरे| गल्ति मेरो हो मलाई थाहा छ तर मैले आफुलाई रोक्न सकिन|
मलाई उसंग पनि रिस उठेको हैन| रिस आफुसंग हो अनि अनि समयसंग| बितेका चार दिनमा हामि यति रमायौ, र यो पनि अन्त्य हुदै छ| यो कारणले म खिन्न छु र यो खिन्नता रिस बनेर सुबोध माथि पोखियो| यो पलको मात्र हैन, अब सुबोध संग बिताउने सबै पलको अन्त्य हुन्छ, सुबोध काठमान्डौ गएपछी| यो सोचेपछी मेरो खिन्नता झनै बढ्यो र रिस पनि| मेरो चित्त नबुझेको हो, अनि गल्ति मेरै हो| मैले गर्दा नै नचाहिने कुरामा झगडा हुदै छ| तर म चाहन्छु, यो पलको अन्त्य कहिले नहोस्, हाइ सधै यसरि संगै भइ रहम| सधै भरि आफ्नै दुनियामा रमाउन पाए कस्तो रमाइलो हुन्थियो| सुबोधसंग माफी मागे र उसकै अँगालोमा निदाउन पुगे| चौथो दिनको अन्त्य|
