डर बीच घेरिएर हातमा मोबाइल लिए अनि समाचार हेर्न लागे| कहिँ हिजो कतै कुनै प्लेन दुर्घटना भएको छ कि? भएको भए मलाई अबश्य थाहा हुन्थियो तर पनि मन मान्न तैयार भएन| भगवानसंग प्राथना गर्दैछु, कहिँ कता यस्तो केहि समाचार नभेटियोस् भनि| यदि केहि गरि भेटिए भने पनि त्यो समाचार गलत होस्| एकछिन सम्म न्युज पेज हेरे, नभेटीयोस् भनेको समाचार भेटिएन| होटेल बिस्तार हुदै छ, होटेल पुग्नुं छ| तैयार भएर होटेल पुगे| बेलुका ८ बजे सम्म नै ब्यस्त भए|
घर पुगे| दिउसो सम्म म सामान्य थिए तर घर आउने बित्तिकै मेरो मन फेरी अत्तालिन्न लाग्यो| फेरी पनि सुबोधको यादले सताउन लाग्यो| संगै हुने मान्छे, संगै नहुदा, उसको अनुपस्थितिले मनमा काडाले झैँ घोप्ने| आखिर उसले फोन किन नगरेको? केहि त कारण होला नि? उसले नचाहेर फोन नगरेको हुन सक्दैन| केहि बाध्यतामा फसेको छ उ| त्यस्तो बाध्यता के हुन सक्छ? म आफुलाई प्रश्न सोध्छु, जवाफ मनले दिन्छ| धेरै जवाफ दियो मनले| केहि जवाफ जायज छन् अनि केहि जवाफ पत्याउन नमिल्ने छन्| खोजे जस्तो जवाफ एउटा छ|
उसको पहिलो किताब प्रकाशित हुदैछ| उसले ६ महिना लगाएर लेखेको किताब, प्रकाशन ६ घण्टामा पक्कै हुदैन| किताब प्रकाशन गर्नु भनेको बच्चा हुर्काउनु जस्तै हो| हरेक पल सतर्का अपनाउनु पर्छ| माया पनि त्यस्तै लाग्छ| हरेक पल आफ्नै हातमा होस् जस्तो लाग्छ| उ हुर्किदै गरेको एक पल पनि, आफु पर बस्न मन लाग्दैन| बच्चा ठुलो हुदै जान्छन अनि उ संगै उसलाई हुर्काउने पनि परिपक्क हुदै जान्छन| सुबोध पनि यहि स्थितिमा छ| प्रकाशक खोज्नु पर्यो, सम्पादन गर्नु पर्यो| मिति पनि तय गर्नु पर्यो, मार्केटिंगमा पनि ध्यान दिनु पर्छ| उ यसमै ब्यस्त छ भनि चित्त बुझाउन खोज्दै छु| तर एकैदिनमा सबै काम गर्ने त हैन नि उसले| यसको पनि चरण हुन्छ| फोन गर्नलाइ नभ्याउने हुदैन नि| फोन गर्नलाइ समय हैन मन चाहिन्छ| म यहाँ उसलाई सम्झेर बस्दै छु, उसलाइ यसको त ख्याल हुनुपर्ने| उसले फोन नगर्दा मलाई कस्तो महसुस हुन्छ, म अत्तालिन्छु, म माथि के एक सोचले हाबी गर्नेछ, उसले सोच्नु त पर्छ नि| म भने यति सोच्छु, उ भने केहि सोच्दैन|
फेरी मैले गर्न सक्ने भनेको सोच्ने मात्र हो| अरु के नै गर्न सक्छु| सुबोध काठमाण्डौमा बस्छ मात्र थाहा छ| तर काठमाण्डौमा कहाँ बस्छु थाहा छैन| उसको बाबा मामु टोखा बस्नु हुन्छ थाहा छ तर उसको बाबा मामुको नाम र अनुहार केहि थाहा छैन| उसको मिल्ने साथि छन् थाहा छ तर साथीको नाम पनि थाहा छैन| साथि छ बाहेक केहि थाहा छैन| अब मैले गर्ने त के गर्ने? न उसको ठेगाना कहिँबाट निकाल्न मिल्छ न उसलाई कहिँबाट सम्पर्क गर्न मिल्छ| उ कहाँ बस्छ भन्ने थाहा भएको भए पनि भोलि बिहानै काठमाण्डौ जान्थिए अनि उसलाई भेटथिए| उसलाई भेटेर पहिले एक झापड हान्थिए अनि उसको अँगालोमा रुनेथिए| के भएको के मलाई| सुबोध हिजो त गएको हो| दुइ दिनमा मात्र किन म यति अत्तालिदै छु| उ ब्यस्त छ भनेर मैले बुझ्नु पर्छ नि|
उसले पहिले भनेको थियो, उ अरु कसैको दुनियामा अट्नलाइ आएको हैन| म मात्र यस्तो भेट्यो उसले, जो उसको दुनियामा सजिलै भिजन सक्छु| उसले यहि त भन्थियो| त्यसैले त उसले मलाई अपनाएको थियो| उ पोखरामा हुदा पनि त व्यस्त हुन्थियो| म संगै भएकोले मलाई महसुस नभएको हो| अहिले संगै छैन, त्यसैले पनि हो उसको अनुपस्थिति खड्किएको| म नै अहिले यसरि अत्तालिए भने, उसले के सोच्ला| म उसको दुनियामा अट्दिन भनेर उसले सोच्न लाग्यो भने मैले के गर्ने? केहि दिनमा उसले आफै फोन गर्छ| उसले पहिले पनि भनेको थियो, उ ब्यस्त हुन्छ र यस्तो समयमा मैले उसको साथ दिनुपर्छ र म बुझ्ने हुनुपर्छ| केहि नसोची, अब उसको फोन मात्र पर्खिएर बस्ने निधो गरे|
सुरुको केहि दिन गार्हो भयो, उसको यादले निकै नै सताउने| उसको यादले सताउने बित्तिकै उसको फोटो हेर्ने गर्छु| फोटो सधै उही हुन्छ,फोटो कहिले बदलिन्न,फोटोमा रहेको मान्छे पनि कहिले बदलिन्न, फोटोमा सुबोध सधै मुस्कुराउदै हुन्छ| तर त्यहि फोटोले कहिले मलाई हसाउछ अनि कहिले रुवाउछ| कस्तो अचम्म प्रकृति यो फोटोको| होटेल बिस्तारको काम पनि धमाधमा सुरु भयो| होटेल मैले जसरि सोचे, त्यहि हिसाबमा बिस्तार हुदै छ अनि अझ सुन्दर हुदै छ| होटेलको बिस्तारले केहि व्यस्त भए| ब्यस्त भन्दा पनि भुलिने बहाना पाएको छु| एक्लै हुदा, सुबोधको यादले चारैतिरबाट घेरा हार्छ, अनि सताउन लाग्छ| होटेलमा भुलिदा, केहि भए पनि राहत भएको छ यादहरु आफ्नै मर्यादामा बस्ने गरेका छन्|
बेलुका पर्यो कि फेरी त्यहि शिलशिला चालु| फोटो हेर्दै सुबोधलाइ सम्झिन्छु र यादमा कुन बखत निदाउछु आफैलाई पत्तो हुदैन| हेर्दा हेर्दै दिन हफ्ता गर्दै महिना नै बित्यो| यता होटेलको बिस्तार कार्य सम्पन्न भयो| एक महिना भयो तर सुबोधको फोन आएन| एक महिनामा सुबोधको किताब प्रकाशनको सबी कार्य सकिनु पर्ने हो| नसकिए पनि हलुको हुनु पर्ने हो| एक पल्ट भएपनि याद आयो होला नि उसलाई| उसको याद आउदा, म यहाँ तडपिन्छु| उ पनि तड्पिन्छ होला नि मेरो याद आउदा| यस्तो हैन कि उसलाई पर्खिन नसक्ने हैन मैले| जीवन भर पनि उसलाई नै पर्खेर बस्न सक्छु| यो जीवन त के अर्को जीवन पनि उसलाई पर्खिएर बस्न सक्छु| मात्र उसले आउछु भनिदिनु पर्यो| उ आउछ, मलाई थाहा छ तर कहिले?
दिमागमा एउटा जुक्ति आयो| सुबोध पुस्तक प्रकाशन गर्न काठमाण्डौ गएको हो| उसले पुस्तकको प्रकाशन नसकी फोन नगरेको हो कि? कि पुस्तकको प्रकाशन सकिएर पनि फोन नगरेको हो? हालसालै प्रकाशित भएको पुस्तकको नाम खोज्न लागे| सुबोधको पुस्तकको नाम मलाई थाहाछैन| जति पुस्तक भेटे, सबैमा लेखकको नाम खोज्न लागे| कहिँ पनि सुबोधको नाम भेटिन| मेरो यो जुक्ति पनि काम लागेन| रिस पनि उठ्दैछ अनि चिन्ता पनि लाग्दैछ| डर पनि लाग्दैछ अनि प्रश्नले मलाई जकडदै पनि छ|
