एक अन्तिम पल्ट फोन गरे तर फेरी पनि वेटिंगमा ,फेरी पनि उठेन, मेरो रिसको सिमा नै रहेन अब| आखिर उहाले गर्न खोजेको के हो, उहाले म संग झुठ बोलेको कि सत्य लुकाएको? आजको रात फेरी पनि सुत्न सकिन, अरु बेला कपास भन्दा नरम लाग्ने ओछ्यानले आज मलाई घोच्दै छ, केहि बेर अघिसम्म उहा नै दुनिया हो जस्तो लाग्थियो, अहिले त्यहि दुनिया चाहिएन मलाइ| अरु बेला दिमागले साथ नदिए पनि मनले चाही जहिले साथ दिन्थियो,बिस्वास मेरै हो भनि| तर आज यो मन पनि दिमाग संगै मिल्दै छ, मन र मस्तिस्क दुवै मिलेर म माथि चुक्चुकाउदै छन्, कति सहोस यो मनले पनि,गल्ति उसको हैन,गल्ति मेरै त हो|
मायालुको झगडा परालको आगो भन्छन, आगो चाहे परालको होस् या मुडाको,पोल्न त दुवैले पोली हाल्छ, फेरी जति चाडै निभ्छ त्यतिनै चाडै सल्किन्छ पनि पराल| यो जलेको मन निभाउन मन छ तर सायद
मेरा आशुहरु कम्जोर छन्, त्यसैले यो डढेलो लागेको मनलाई
वशमा ल्याउन सकेन| यो मनको डढेलो पनि बेइमान रैछ,पिडा मात्र बढाउने तर उहाको लागि
रहेको
मायालाई यसले पनि जलाउन सकेन|
मस्तिस्कमा अनेकौ नकारात्मक सोचहरु र मनभरी डढेलो, यी दुइको भारले पनि होला निन्द्राले मेरो छेउमा पर्ने आट पनि गरेन|केहि जल्दा प्रकाश झरिनु पर्ने नि है तर यो जलेको मनले ठिक बिपरित अन्धकार फैलाउदै थियो मेरो वरिपरी| चन्द्रमा हराउन खोज्दा खोज्दै जलेको सुर्य उदायो, सबै तिर प्रकाश छर्दै गयो सुर्यले र रातले छरेको अन्धकार मेटिदै गयो तर यो सुर्य पनि बेइमान नै निक्लियो,मेरो जलेको मनले छरेको अन्धकार यसले पनि मेट्न सकेन|
जीवन नै एउटा मजाक भएको बेला मौसम पनि जिस्किन लाग्यो, बिहान त्यस्तो मज्जाको घाम लागेको थियो, एकछिन पछी
सिमसिमे पानि पर्न लाग्यो| बर्षा पनि मेरो पिडा जस्तै बढ्न
थाल्यो र अफिस हिड्ने
बेला सम्म त्यो सिमसिमे पानि
दर्केर बर्षीन लाग्यो| सधै जस्तो बिस्वास लिन आउनु भएको थियो, उहासंग जान्न भनि बिहान उठ्ने
बित्तिकै सोचेकी थिए, त्यसैले उहाले फोन गर्दा पनि मैले मतलब गरेकी थिन तर अन्त्यमा यो बर्षाले गर्दा
उहासंगै जानु पर्यो| उहाको बाइक पछी बसे र बर्षाती पनि
ओढे र सधै जस्तो उहाले क्याफेमा लगेर बाइकको ब्रेक लगाउनु भयो| सधै जसरि क्याफेको भाइले पनि दुइटा ब्ल्याक कफी अनि दुइटा सुर्य लाइट ल्याइदियो|
“चिया, साथि र गफ|”
लेखेको थियो त्यो क्याफेको एउटा भित्तामा| समय गलत भएपछी जे कुरा पनि गलत हुने रैछ| पहिले चिया औधि मन पर्ने मान्छे म,बिस्वासले नै कफीको आदत लगाउनु भयो| एकै अफिसमा काम गर्ने बिस्वास र म, साथि कहिले हुन नै पाइनौ हामि, सुरुमा उहा मेरो बोस जस्तै हुनु हुन्थियो र त्यस पछी सिधै मायालु हुनु भयो, पछी गएर जीवन साथी बन्ने चाहना र सम्भावना पनि निकै नै थियो तर अब न म उहालाई आफ्नु जीवनमा चाहन्छु
न नै उहा संग साथि बन्न चाहन्छु,सच्चि भन्नु पर्दा उहा संग मलाई कुनै पनि सम्बन्ध गास्न मन छैन| यति धेरै कुरा हामि बीच निकै थोरै समयमा भयो, अहिले हामि बीच जे जे भयो ,त्यो सम्झेर हामि बीच गफ हुने कुनै सम्भावना नै छैन| त्यहा भएको एक एक शब्द गलत रहेछ, मेरो निर्णय
जस्तै|
निर्णय भनेपछि बल्ल एउटा कुरा आयो दिमागमा, बिस्वास संग सम्बन्धमा गासिने निर्णय मेरो थियो, उहाले त जहिले नाई नै भन्नु भएको थियो, उहालाई यो सम्बन्धमा आबद्ध गराउने म नै पो हु त| उहाले हुन्न हुन्न भन्दा भन्दै पनि मैले नै उहालाई कर गरेकी थिए, उहाको खुसि नै मेरो खुसि हो पनि भनेकी थिए,यदि पछी केहि हुन गएमा त्यसको जिम्मेवार पनि म स्वयं हुन्छु भनि उहालाई दिलासा देको थिए| जव सबै निर्णय मेरो थियो भने अहिले आएर किन म उहालाई दोष दिदै छु, आखिर दोष मेरै रैछ नि,उहालाई औला उठाउन मिल्दैन मैले, कस्तो पापी म,आफ्नु गल्तिको दोष अरुलाई लगाउन खोज्दै थिए|
किसानले भकारीमा अन्न थुपारे जसरि नै म आफ्नु मनमा कुरा थुपार्नमा ब्यस्त भए दिउसो भरि| बिस्वासको छेउमै थिए दिउसो भरि तर उहाले दिउसो भरि के गर्नु भयो मलाई केहि पत्तो छैन, मैले आफै के गरे भन्ने त थाहा छैन,उहाको बारेमा थाहा हुने त कुरै भएन| अफिस पछी घर पनि उहाले नै पुर्याइदिनु भयो| बिहान क्याफेमा कुरा भएन, दिउसो भरि अफिसमा पनि कुरा भएन,त्यसको मतलब घर फर्किदा पनि कुरा भएन|
दिउसो भरि एक चिज मात्र थियो मेरो दिमागमा, मैले बिस्वास संग सम्बन्ध सुरुवात गर्ने मेरो निर्णय सहि कि गलत| त्यो निर्णय सहि कि गलत भनि फैसला नहुदै, मैले अर्को निर्णय लिए, अनि यो निर्णय पनि सहि हो कि गलत थाहा छैन मलाइ|
