Part 47

जसरि पनि त्यहाँ पुग्नै पर्छ म तर मलाई आफै माथि बिस्वास छैन कि म त्यहाँ पुग्न सक्छु भनि| केहि नौलो घटना भएन, म भेलोसिटी पुग्न १०० मिटर बाकि छ, र मेरो निन्द्रा भोलिपल्ट होटेलको कोठामा खुल्छ| म भेलोसिटी पुगे कि नाइँ पनि पत्तो छैन मलाई, केहि याद भए पो| कति कोशिश गरे सम्झिन तर हिजो मेरो पाइला कहाँ गएर रोकियो भनि सम्झिन मुस्किल भयो| मुस्किल हैन असम्भव नै भन्दा हुन्छ| रक्सिको नशाले मेरो आखामा पर्दा अनि दिमागमा ताला लगाएको थियो हिजो, अनि आज उठ्दा त्यसको चाबी भेटिन मैले|  हिजो के भयो याद नभए पनि अनुमान त गर्न सक्छु नि म| तर अनुमान किन गर्नु, अनुमान कति गर्नु,  अनि अनुमान चाही के गर्नु| अनुमान गरेर चित्त बुझाउन खोज्दा, बास्तबिकताले त्यस्तो गर्न दिएन| हिजोको दिन सम्झिएर खुसि हुन लागे|

सुबोधलाइ सम्झिदा मुहारमा मुस्कान किन आइदिन्छ? सुबोधलाइ सम्झिने बित्तिकै म बाकि सबै किन बिर्सिन्छु? सुबोधसंग बिताएका पल थोरै छन् तर किन त्यहि पल मात्र याद आइरहन्छ मलाई? सुबोधको हातको स्पर्श म आफ्नो गालामा महसुस गर्न सक्छु| सुबोध मेरो छेउमा नै छ र म उसको काधमा अडेस लागेर बसेको छु लाग्छ मलाई| यहाँ सम्म कि, उसले मेरो नाम लिएर मलाई बोलाउदै छ जस्तो लाग्छ बेला बेला| हैन म पागल हुदै छु कि उसको मायामा डुब्दै छु| 

म भने यति सोच्छु उसको बारे तर उसलाई मतलब छैन| मेरो दुनियामा आएर, मेरो दुनिया खल्बलाएर, आफ्नो दुनियामा रम्दै छ उ| म भने यहाँ तड्पिदै छु अनि उ कहाँ छ मलाई अलिक कति पनि थाहा छैन| म उसकै कल्पना गरेर बस्छु हरेक पल तर के उ पनि मलाइ यसरि नै सम्झिन्छ? अह, सम्झिदैन| सम्झिने भए, उसले मलाई उहिले भेट्ने कोशिश गर्थियो| उसको लागि, उसलाई भेट्न भनेर, म कतिवटा  बार चाहार्न पुगे तर उ आफ्नै दुनियामा मस्त थियो| उसलाइ मेरो मतलब छैन| मतलब भएको भए, उ आइतबार पनि त्यहि पुरानो बारमा आउथियो अनि आफु संग मलाई पनि लग्थियो| एकछिन एकछिन, उसलाई मतलब नभएको पनि हैन| यदि उसलाई मतलब हुन्थिएन भने, उसले आफु क्लब भेलोसिटी छु भनि सन्देश छाडथिएन मेरो लागि| यसको मतलब उसलाई थाहाथियो कि म उसलाई खोज्छु भनि| उसको अनुमान भन्ने कि उसले मेरो मन पढ्यो,मेरो भावना बुझ्यो, त्यसैले त उसलाई थाहा भयो म उसलाई खोज्दै भौतारिन्छु भनि| उसले मेरो खयाल नगर्ने भए, मेरो बारे नसोच्ने भए, मेरो फिकर नहुने भए, मेरो माया नलाग्ने भए,  उसले क्लब भेलोसिटीको जानकारी किन छाडथियो| म यति पक्का भए कि उसले पनि मेरो बारे सोच्छ| धेरै प्रश्नको जवाफ पाए तर थप प्रश्न थपियो|

म यहाँ कसरि  पुगे? म अहिले जुन कोठामा छु, यो मेरो कोठा हैन| अहिले म जुन होटेलमा छु, म बस्ने होटेल नै हैन यो| म यो होटेलमा कसरि पुगे?  यो त म अस्ति आएको होटेल हो| यो होटेलमा म पहिले पनि आइसकेको छु| अन्तिम पल्ट आउदा पनि, मलाई केहि याद थिएन म यहाँ कसरी पुगेको थिए भनेर र अहिले पनि त्यहि नै भयो| जहिले म थाम्न नसकने गरि मात्तिएको दिन, जुन दिन मलाई केहि याद हुन्न, म यहि होटेलमा पुग्छु| यो संयोग हो कि खै के हो? तर केहि त कारण छ नि, म यहाँ पुग्नुमा| भयो, अनुमान गर्न मन लागेन| रिसेप्सन पुगे पैसा तिर्न भनि| पैसा तिरिसकेको जानकारी पाए| मलाई यहाँ आएको याद छैन, मैले पैसा कसरि तिरे? रक्सिमा मत्तिएपछि केहि याद नहुने मलाई| अब देखि यसरि कहिले पिउदिन भनेर कसम खाए| यस्तो कसम कति खाए खाए| हाहाहा|

आफ्नो होटेल पुगे, र फेरी पनि सुबोधको बारे सोच्न लागे| हिजो सम्म थाहा थियो मलाई, उ कहाँ छ भनि| अब त त्यो पनि थाहाछैन| आज बाट फेरी पनि उसलाई खोज्दै भौतारिनु म? अब त्यति शक्ति छैन कि हरेक बारमा उसलाई खोज्दै पुग्ने| उसलाई मेरो माया छ र मसंग भेट्न मन छ भने, उ आफै आउने छ मलाई भेट्न| मैले खोजे जसरि उसले मलाई आफै खोज्ने छ| यस्तै धेरै भावना बीच घेरिएको थिए र एउटा जुक्ति आयो| के यस्तो हुन सक्दैन कि, उसलाइ यो पनि थाहा छ कि अहिले म कहाँ छु| के यस्तो हुन सक्दैन कि उसले क्लब भेलोसिटीमा अपनी मेरो लागि केहि सन्देश छोडेको छ? आज अन्तिम पल्ट कोशिश गर्छु, आज अन्तिम पल्ट उसको तलास गर्छु, आज पनि सुबोध भेटिएन भने, भाग्यको भरमा छाड्दिन्छु| अहिले सम्मको उसंग हरेक भेट, भाग्यले गर्दा भएको हो, अब पनि भाग्यले सहयोग गर्ला नि|

सोच्दै नै थिए, भाउजुको फोन आयो| भाउजुले गुनासो पोख्दै हुनुहुन्छ, मैले माया मारे भनेर| हफ्ता दिन भयो, मैले उहालाई भेटेको छैन| उहाको आरोप सत्य हो| १२ बज्न लागेको छ| अहिले भाउजु पार्लरमा नै हुनुहुन्छ| खाना खाए अनि सिधै घर गए| सधै जस्तो एकछिन घरमा बसे अनि कपडा प्याक गरेर घरबाट निक्लिए| घरबाट सिधै पार्लर पुगे| भाउजु मलाई पर्खेर बस्नु भएको छ| भाउजुसंग एकछिन गफ अनि पार्लरमा धेरै सामान सकिएको रैछ, त्यो लिन गइयो| एक महिनालाइ पुग्ने पर्याप्त सामान लिएपछी हामि पार्लर फर्कियौ| माथि होटेल पनि शृंगार्दै छन्| धन्न भाउजुले गर्दा मैले केहि हेर्नु परेको छैन| पार्लरबाट फाइदा घाटा केहि मतलब छैन मलाई, त्यहाँको हिसाब बुझ्नु पनि छैन मलाई तर भाउजुले जबर्दस्ती गरेर भएपनि सबै बुझाउनु हुन्छ| भाउजुले सम्हाल्नु भएको छ पार्लर, घाटा हुने सावाल नै छैन| यहि रफ्तार हो भने, अबको ९ १० महिनामा अर्को पार्लर खोल्नु पर्छ| दाइले पनि अमेरिकामा काम पाउनु भएछ| ग्यास स्टेसनमा| कमाइ ठिकै छ, बाकि खुसि नै हुनुहुन्छ| गएको एक महिना भएको छैन, अरु के भन्नु मैले| भाउजु, दुवै नानि अनि भाइ संगै, पार्लरबाट फर्कियौ हामि| भाउजुले अहिले पनि खाना नाखिया फर्किन दिनु भएन| त्यहाँबाट सिधै होटेल पुगे अनि होटेलमा तैयार हुन लागे| 

क्षितिजले केहि काम चाही राम्रो गरि दिएको छ मेरो लागि| मसंग धेरै पैसा छ र त्यो पैसा मैले त्यसै सक्याउछु उसले बुझेको थियो| त्यसैले मसंग भएको पैसा मध्य उसले केहि पैसा बैंकमा फिक्स्ड डिपोजिट गरिदिएको थियो| महिनामा दुइ लाख जति ब्याज मात्र आउने| अनि मेरो खर्च त्यति छैन| पैसा घट्ने हैन बढ्दै थियो| शेयर अनि अरु पनि केहि ठाउमा मेरो पैसा हालिदिएको थियो उसले, त्यसैले पैसा बढ्दै नै छ मसंग| अनि त्यसमाथि ब्युटी पार्लर अनि होटेल, पैसाको बोट रोपे भन्दा कम छैन| मैले अचानक पैसाको कुरा किन गर्दै सोच्नु भएको हो? मलाई ब्यापार गर्न मन लाग्यो| त्यसैले एउटा योजना बनाउदै छु| जसले गर्दा म सधै ब्यस्त हुन्छ| फेरी मलाई मन पर्ने काम हो जस्तो लाग्यो| योजना बनाउदै छु तर अघि बढ्छ कि नाइँ समयले बताउछ|

ब्यापारको योजना पछिको हो| अहिले को योजना भनेको सुबोधलाइ खोज्नु हो| क्लब भेलोसिटी पुगे| त्यहाँ सुबोध छ भन्ने आश अलिकति पनि छैन| तर यो आश चाहि छ कि उसले मेरो लागि केहि सन्देश छाडेको छ| त्यहाँ पुग्ने बित्तिकै सुबोधको बारे सोध्न गाह्रो पर्यो|कसरि सोध्नु? के सोच्ने हुन् उनीहरुले| केहि बोतल बियर अनि वेटर भाइलाई बोलाए| बोलाएर उसलाई सुबोधको फोटो देखाए, अनि सोधे “भाइ यो मान्छेलाइ चिन्छौ?”“ चिन्छु दिदि| हजुर उहालाई खोज्दै आउनु भएको हो?” भाइले यति भने पछी म निश्चित भए कि उसलाई थाहा छ अहिले सुबोध कहाँ छ भनि|
“उसले के भनेको छ भन त?” मैले जवाफ नदिएर सिधै प्रश्न गरे|
“ओजोन बार|” भाइले यति भन्ने बित्तिकै, पैसा तिरे अनि भेलोसिटीबाट निक्लिए| ओजोन पुग्न म पुरा एक फन्को घुम्नु पर्ने हुन्छ| सुबोधलाइ भेट्न जाबो यति त गर्न सकी हाल्छु नि| ओजोन पुगे र पुग्ने बीत्तिकै देखे सुबोधलाइ|

Previous article
Next article

Latest Posts