आज पाचौ दिन, आज पोखरा फर्किने दिन| बिहान केहि समय बेसी सहर घुमियो र पोखराको लागि प्रस्थान गरेउ| पोखरा पुग्दा १२ बजेको छ| म भाउजुलाइ भेट्न पार्लर गए र सुबोध सिधै घर गयो| एकछिन मसंग नै ब्युटी पार्लर गएको भए केहि फरक पर्थिएन तर फेरी ब्युटी पार्लर गएर उसले गर्ने के नै हो र| भाउजसंग गफ गर्दा गर्दै समय गएको चाल नै पाइन| 4 बजी सकेछ| सुबोध पो एक्लो भयो| एकछिनमा आउछु भनेको थिए मैले, 4 घण्टा भइसक्यो| उ पक्कै पनि निदाएको हुनुपर्छ नत्र मलाई फोन गरिसक्थियो| कि लेख्दै हुन सक्छ| हफ्ता दिन हामि घुम्दै थियौ, उसले लेख्न पाएको थिएन| कति लेख्न बाकि होला| त्यहा उसले देखेको सुन्दरतालाइ लेखमा ढाल्न बाकि होला| हाम्रो होटेल र घर नजिकै हो, घर जानु अघि होटेल गए सुरुमा| सबै व्यवस्थित नै छ होटेलमा| सुबोधलाइ भोक लागेको हुनुपर्छ, हामिले संगै ११ बजे खाना खाएको थियौ, अहिले ५ बजी सक्यो| मोमो लिदै घर गए|
घर पुग्दा, घरको मुहार नै फेरिएको छ|बगैचाको घास काटिएको छ| सुकेका फुलको बोटहरुलाइ फेरेर नया फुलको बोट लगाइएको छ|स्विमिंग पुल पनि सफा गरिएको छ| पर्खालको घासहरु पनि उखेलिएको छ| आगन पनि सफा छ, भर्खरै कुचो लगाएको जस्तो| घर भित्र छिर्छु, छिर्छु त जे देख्छु, घर स्वर्ग भएको छ| हिजो सम्म धुलोको परत थियो, अहिले धुलोको नामो निशान छैन|घर चम्किदै छ, कोल्गेटले ब्रस गरेको दात जस्तै| वासरुममा पनि महक छ र भान्सा पनि सफा छ| सुबोधले यो सबै आफै गरेको त हैन| उसलाइ यो सब आउदैन अनि आए भने पनि यति थोरै समयमा उसले यति धेरै काम गर्न असम्भव छ|घर सफा देख्छु तर सुबोध कहिँ छैन| छतमा होला पक्कै| छतमा पुगे, सोचे अनुरुप सुबोध छतमा छ|
म: “धन्न तिमि छतमा रैछौ| मलाई कस्तो चिन्ता भएको|”
सुबोध: “किन र? त्यस्तो चिन्ता गर्ने के छ?”
म: “घर सफा देखे| कहिँ कतै फोहोर देखिन| तिमिलाइ पनि फोहोर भनेर फ्याले कि भनेर|”
एकछिन हासो ठट्टा अनि मोमोको स्वाद लिन लागेउ हामि दुवै| अस्ति देखि मैले घर सफा गर्ने भन्दै थिए, आज सुबोधले मान्छे लगाएर सफा गराएको रैछ| जे होस् केहि काम लाग्ने काम चाही गर्यो आज| निकै जरुरि थियो घर सफा गर्न| घरको केहि पछाडी ठुलो खाल्टो खनेको देख्छु त| किन होला त्यो? सुबोधलाइ प्रश्न सोध्नु अघि आफैले जवाफ सोच्न खोजे तर मैले जवाफ भेटिन| सुबोधलाइ सोध्नै पर्यो, त्यो खाल्टो किन खनेको भनि|
“हजुर यसै त घर नबस्ने मान्छे| आज घर बसे भने एक महिना पछी आउछौ अर्को पटक| अनि यस्तो मोमो खाएको फोहोर, फलफुलको फोहोर अनि अरु धेरै फोहोर झन् के फ्य्लाछौ| घर बसे पो फ्याल्छौ| थाहा छ किरा लागेको थियो भान्साको दस्तबिनमा| अब सबै फोहोर त्यो खाल्डोमा फ्याल्ने| घर पनि गनाउन्न अनि मल पनि हुन्छ| अनि एउटा हैन दुइटा खाल्टो खनेको छ| एउटा त्यो रुखको छेउमा छ| त्यहाँ के गर्ने म पछी भन्छु|” सुबोधले दुइ तिन शब्दको जवाफ दिन्छ सोचेको, उसले ब्याख्या नै गर्यो|
आज सुबोधले मेरो लागि जे गर्यो, म निकै खुसि छु| निकै नै खुसि छु| आज होटेल गइ, होटेलमा नै बस्ने सल्लाह भयो| होटेल निर्माण भएपछी, हामि एक पटक पनि होटेल बसेका छैनौ| अरुको होटेल धेरै बसेका छौ, महिनौ बसेका छौ र आफ्नै होटेल एक दिन पनि बसेको छैनौ| निकै रमाइलो भयो होटेलमा| धेरै दिन पछी नशामा झुम्दै छौ| अनि माहोल पनि बेग्लै छ| आज हामि मात्र छैनौ, अरु पनि छन्| अन्तिम सम्म बस्ने हामि मात्र नै हो, सुत्न जादा एक बजेको छ| आजको दिन जति रमाइलो भयो, बाकिको दिन त्यत्ति नै खल्लो|
बिहान उठ्ने बित्तिकै सुबोध संग मन मोटाव भयो| म उठ्दा उ मेरो छेउमा थिएन| बाहिर रेस्टुरेन्टमा कफी पिउदै छ| कफी पिउदै छ भनि मन मोटाव भएको हैन| उसंग कफी पिउने कोहि छ| अनि उ त्यो मस्किदै बोल्दै छ| म बाहेक अरु कोहि केटिसंग देख्न सक्दिन उसलाई| गल्ति मेरो हो तर भनाभन् परिहाल्यो| उसलेकति सम्झायो प्रशंसक हो भनि तर मलाई के भएको खै| एकछिनमा सबै सामान्य भयो तर पलको मिठास खोसियो| आज सुरुवात हो र यस्ता झगडा हरेक दिन हुन लाग्यो|
मैले गर्दा भन्ने कि सुबोधको व्यस्तताले , सुबोध अचेल होटेल आउदैन| अनि म चाही घर भनेको सुत्न मात्र जान्छु भन्दा गलत हुदैन| पर्यटकको शंख्या बढेको छ, त्यसैले पनि हो म ब्यस्त भएको| हामीले होटेल खोल्दा, राति बस्न आउने, राति रमाउन खोज्ने पर्यटकको लागि ध्यान पुर्याएर बनाएका थियौ तर मान्छे बिहान कफी देखि दिउसो खाजा र मिटिंगको लागि पनि आउन लागे| हाम्रो होटेलको स्थान र परिदृश्यले मान्छेको ध्यान तानेको छ| दुइ महिना यहि भयो भने, रेस्टुरेन्टलाइ ठुलो बनाउनुपर्छ| होटेलको गफ पछी गरौला, होटेल जहिले यहि हुन्छ, सुबोध केहि दिनको लागि हुदैन| तर के गर्नु सुबोधलाइ समय दिन पाएको छैन मैले|
म बिहान होटेल आउदा पनि लेखीरहेको हुन्छ अनि बेलुका फर्किदा पनि लेखि रहेको हुन्छ| मलाई यसमा पनि चित्त बुझ्दैन थियो र झगडा हुन्थियो| झगडा गर्न अचेल कारण नै चाहिदैन मलाई| सुबोधले केहि गर्यो भने पनि रिस उठ्छ अनि केहि नगर्यो भने पनि रिस उठ्छ| रिस भन्नु गलत हुन्छ, चिडीन्छु म| अस्तिको कुरा हो, सुबोधले वासरुम सफा गरेको थियो| म यो बिषयमा पनि रिसाए| रिसाउनुको कारण चाही “किन आफैले गर्नु पर्यो सफा| एउटा मान्छे राखे हुदैन?”सुबोधले मेरो दिन कस्तो भयो सोध्दा पनि रिस उठ्छ मलाई अनि सोधेन भने पनि किन सोधेन भनि रिस उठ्छ| बिहान उसले कफी पिउदा मलाई कफी ल्याइदियो भने निन्द्रा नपुग्दै बिउझायो भनि रिसाउछु अनि ल्याइदिएन भने एक्लै खायो भनि रिसाउछु| म झगडा किन गर्छु मलाई आफै थाहाछैन| म किन चिडीन्छु मलाई आफै थाहाछैन| यो रिस हैन गुनासो हो| जति आफुलाई काबु गर्न खोज्छु त्यति काबु हुदैन| नरिसाउ भन्छु रिस उठीहाल्छ| यति दिन संगै बसेको मान्छे बिना एक्लै कसरि बस्नु भन्ने पिर पनि हो|
सधैको लागि एक्लै बस्नु पर्ने हैन| उ फेरी फर्किएर आउछ| त्यहाँ पुगेपछि उसंग मोबाइल पनि हुन्छ, सधै गफ हुन्छ| यो सबै थाहा छ तर पनि रिस उठ्छ| आफुलाई कसरि काबु गर्ने सिक्न मन छ| यसरि नै किच किच गर्यो भने, माया कम हुन्छ अनि सम्बन्ध पनि अन्यौलमा पुग्छ| सुबोधले के सोच्दो हो| उसले बुझ्दो हो तर कहिले सम्म? म गल्ति गर्दैछु थाहा हुदा हुदै पनि म गल्ति गर्छु| अनि फेरी एकछिनमा महसुस हुन्छ गल्ति गरे भनि, अनि अब यस्तो गर्दिन सोच्छु तर फेरी त्यहि हो| हेर्दा हेर्दै झगडामा नै कति दिन बित्यो| हेर्दा हेर्दै सुबोध जाने दिन पनि आयो| भोलि उसंगको अन्तिम दिन, अनि पर्सि उ जान्छ| अहिले पनि मन मनै सोच्दै छु, नगए पनि हुन्छ होला नि भनि| तर पाप लाग्छ मलाई यदि मैले यहि सोची रहे भने|
