सोचमा झन् घेरिदै गए| सोचमा घेरिएकै थिए, अझै एउटा सोच थपियो| केहि याद आयो, याद आयो कि मेरो जीवनमा माया लेखिएको नै छैन| मेरो भावीमा प्रेम कोरिएको छैन| म जसलाई माया गर्छु, त्यो मान्छे म असंग पर हुदै जान्छ| म त्यो मान्छेलाइ जति धेरै माया गर्छु, त्यो मान्छे झन् त्यति चाडै पर भइदिन्छ| मेरो जीवनमा माया, बेहुलीको हातको मेहेन्दी जस्तै कृतिम छ| केहि दिनलाइ सजिएको देखिए पनि, सुन्दर देखिए पनि, बिस्तारै त्यो मेटिदै जान्छ र बिलाउछ| बिलाउनु अघि निकै घिनलाग्दो पनि बनिदिन्छ| मेरो जीवनमा माया भनेको तलब जस्तै हो| यसको लागि म लामो समय पर्खिएर बस्छु| जुन दिन पाउछु, निकै खुसि हुन्छु, केहि दिनलाइ मेरो खुसि जारि हुन्छ| तर खुसिका दिन थोरै हुन्छन र गोजी जस्तै म पनि रित्तिएर जान्छु|
बरु रगतमा सेतो रंग भेटिएला,रगत भेटिएला आखामा आशुको ठाउमा, आशुमा नुन हैन मिठास भेटिएला, मिठास मीठा बातमा हैन चोटमा भेटिएला, चोट हरेक हर्ष को मुस्कानमा भेटिएला, हर्ष हरेक क्रन्धन मा भेटिएला, क्रंदन पनि सुमधुर सुर भेटिएला, सुमधुर मा पनि धमिलो पन भेटिएला, धमिलोपन मा पनि सबै सफा भेटिएला, सफामा पनि सबै कालो भेटिएला, अनि कालो सबै रगत जस्तै सेतो भेटिएला तर मेरो भाग्यमा माया भेटिन्न| मेरो जीवनमा माया नै छैन| माया मेरो लागि भ्रम हो जुन कृतिम छ| मेरो जीवनमा मायाले यस्तो प्रभाव पार्छ कि म बिर्सिन्छु कि मेरो जीवनमा माया कृतिम हो भनि| अनि यसमै रमाउन लाग्छु| अनि जब म रमाउन लाग्छु…
बरु मेरो शरीरमा रगत रोकिएला, मेरो फोक्सोमा सास रोकिएला, बायुमंडलमा वायु रोकिएला, सुर्यको वरिपरी घुम्न पृथ्वी रोकिएला, पृथ्वीको वरिपरी घुम्न चन्द्रमा रोकिएला, तर मेरो पिडा मेरो जीवनको वरीपरि घुम्न छाड्दैन| मेरो पिडा त्यो छाया हो, जुन दिउसो भरि उज्यालीमा गायब रहन्छ र रातको अन्धकार संगै देखा पर्छ| जबम सोचहरुको अन्धकारमा घेरिन्छु, अनि पिडाको आगमन हुन्छ| म माथि हाबी हुदै जान्छ पिडा अनि मेरो बलत्कार गर्न लाग्छ| मलाई जति यो पिडाबाट घृणा छ, पिडाले त्यति नै मलाई माया गर्छ| म जति घृणा गर्छु, त्यति माया गर्दै जान्छ| अनि सधै जस्तो फेरी पनि म आफुलाई पिडा सामु सुम्पिन बाध्य हुन्छु|
सुबोधले अब फोन गर्दैन भनि म बिस्वस्त भएपनि, आश चाही अझै जीवित छ| कहिँ फोन आइहाल्छ कि भनि| यहि आश र पिडा बीच निकै दिन बिते| दिन हैन हफ्ता| हफ्ता हैन महिना| आज ६ महिना हुदै छ , सूबोध काठमाण्डौ गएको| सुबोधले धेरै आश देखाएर गएको थियो या मैले धेरै आश पालेको हु मनमा| जे होस्, पिडा हुने मलाई हो अनि पिडा मलाई नै हुदैछ| मेरो आशु बटुलेर एक ठाउँमा जमा गर्ने हो भने, पृथ्वीमा अहिले महासागर मात्र हुन्थियो| मेरो पिडाको रास लगाउन मिल्ने भए, पृथ्वीमा अरु कुनै जीवको लागि स्थान हुदैन| मेरो तड्पनको उचाई नाप्ने हो भने, सगरमाथा संसारकै अग्लो टाकुरो हुन्थिएन| यदि मेरो क्रन्दन सुनिने भए, सबै बहिरो हुन्थिए| यदि मेरो चोटको दर्द कसैलाई महसुस गराउन खोजे भने उसको शरीर र आत्मा दुवै सुन्न हुन्थियो|
गएको ६ महिना यसरि नै बित्यो| रातमा आफ्नै सोच बीच घेरिन्छु र दिउसो होटेलको कार्यमा घेरिएको नाटक गर्छु| यो होटेल खोल्ने निर्णय बिल्कुलै सहि रहयो मेरो लागि| नत्र २४ घण्टा नै पिडामा घेरिएको हुन्थिए| भुलिने बाटो पाएकी छु| अनि एउटा नया चिज एहेसास भएको छ| म सम्बन्धको लागि बनेको हैन अनि सम्बन्ध मेरो लागि बनेको हैन| मेरो जीवनमा, यदि कोहि केटा आउछ भने, उ कृतिम हो| त्यसैले अब सम्बन्ध अनि केटा दुवैबाट पर रहने निर्णय लिएको छु| यहाँ मन रोज्ने हैन शरीर लुछ्नेको भिड छ| क्षितिज पनि एक्कासी गयो| सुबोध पनि| तर..
…तर सुबोधले त त्यस्तो केहि गरेन म संग| हामि बीच यस्तो केहि भएको थिएन| सुबोध मसंग मेरो शरीरको लागि थिएन सायद| ए साच्ची, म पो उसलाई खोज्दै गएको थिए| मलाई पो उ चाहिएको थियो, उसलाई म हैन| उसले मेरो मन राख्न मात्र म स्नाग बसेको त हैन नि? म अचेल यस्तै भएको छु| केहि कुराको खयाल नै छैन|होटेलको कुरा गर्दै थिए, फेरी सुबोध तिर बाट मोडछु| कुन बेला के सोच्छु अनि के बोल्छु पत्तो हुन छाडेको छ| सोच्छु केहि अनि बोल्छु केहि| फेरी सधै हैन, बेला बेला मात्र यस्तो हुन्छ नत्र सामान्य नै रहन्छु| साची सुबोध…. के भएको के फेरी? फेरी सुबोध सुबोध गर्दैछु| ल भयो अहिले लाइ सुबोध छियन मेरो जीवनमा| अहिले हैन कहिले नै थिएन, उ ट भ्रम पो हो मेरो|
मेरो जीवनमा पिडा नरोकिए जस्तै, मेरो जीवन पनि रोकिएको छैन| यदि पिडा रोकिए भने जीवन रोकिन्छ अनि जीवन रोकिए भने पिडा| दुवैको सम्बन्ध अजिब छ| जब जीवन रोकिएको छैन भने, म रम्न किन छाड्नु? रम्न नसके पनि रम्ने कोशिश त गर्न सक्छु नि| त्यहि नै गर्दैछु| फेरी घुमी फिरी त्यहि आए| हरे| भयो| आजबाट मैले सुबोधको कुरा गरे भने, मेरो मुखमा कुकुरको मुत|
जीवनमा रम्नलाइ होटेल छ, भाउजु हुनुहुन्छ, नानि छे, दाइ हुनुहुन्छ अनि जीवन पनि छ| भाउजुलाइ नभेटेको धेरै भएको छ| साझमा भाउजुलाइ पार्लरबाट चाडै घर आउन भने| म चाही होटेलबाट खाना लिएर भाउजुकोमा पुगे| धेरै दिनपछिको भेट, गफ निकै नै भयो|
भाउजु: “मैयालाइ सन्चो छैन हो?”
म: “सन्चै छ| किन र भाउजु?”
भाउजु: “निन्याउरो देखिनु भएको छ| केहि छ भने भन्नु|”
म: “त्यस्तो केहि छैन भाउजु|”
भाउजु: “मैया, मनमा जति बोझ राख्यो, त्यो बोझले हजुरलाई नै थिच्दै जान्छ| अरुलाई भनेर हलुको भइन्छ भने किन नभन्ने?”
भाउजुले यति भनेपछी मैले आफुलाई रोक्न सकिन र रुदै उहालाइ अंगाले| अघि भर्खर उसको नाम लिन्न भनेको थिए, अहिले उसको बारेमा सबै सुनाउदै छु भाउजुलाइ| भाउजुले सम्झाउनु भयो र निकै हलुङ्गो भयो| भाउजुले त्यहि बस्न जिद्दी गरे पनि, म घर फर्किए|
