निन्द्रा खुल्दा, दुबैको मनमा प्रश्न छ| प्रश्न मात्र हैन, धेरै नै प्रश्न| प्रश्न मात्र दोधार पनि छ| दोधार मात्र हैन, संकोच पनि छ| संकोच मात्र हैन, बिबाद पनि छ| बिबाद मात्र हैन द्वन्द पनि छ| द्वन्द मात्र हैन, गृह युद्ध चल्दै छ मन र मस्तिस्क बिच| गृह युद्ध मात्र हैन, क्रान्ति पनि छ| क्रान्ति मात्र हैन, एउटा नया संसार बनेको छ मनमा| प्रश्न र दुबिधाको संसार| सहि र गलतको संसार| स्वीकार्य हुने र नहुनेको संसार| इच्छा र बाध्यताको संसार| चाहना र बिडम्बनाको संसार| खुसि अनि पिडाको संसार| यस्तो संसार, जहाँ न जित छ न हार छ, मात्र केवल मनको…..
भबिस्य, समाज, संकोचलाइ हाबी हुन दिने हो भने, जित कसैको हुने छैन| म अनि प्रनिका पक्कै पनि हार्ने छौ तर हामिसंगै समाज पनि हार्ने छ र सोच कहिले बिकशित हुने छैन| फरक यति छ, हारमा पिडा हामीलाई हुन्छ तर बाकि कसैलाई केहि असर पर्ने छैन| यदि निर्णय हामीले आफ्नो हितमा लिने हो भने, यहाँ हार्ने कोहि हुदैन| जित सबैको हुनेछ, जित हाम्रो अनि समाजको| खुसि हामि दुइ हुने छौ र बाकि जित्दा पनि हारमा जस्तै उदास हुनेछन्|
संगै बस्ने निर्णय हिजै गरेको थियौ हामीले| हिजो जे भयो, त्यसले यो निर्णय परिवर्तन नहोस् भन्ने चाहना छ मेरो| म पक्का छु मलाई के गर्नु छ भनि| प्रनिकालाइ निर्णय लिन गाह्रो हुदै छ| मैले पनि सजिलै लिएको निर्णय हैन| यो निर्णयमा पुग्नु मलाई पनि सजिलो थिएन| धेरै सोचहरुको बाधा पार गरेर म यो निर्णयमा पुगेको हो| प्रनिकालाइ पनि सजिलो हुने छैन यो निर्णय लिन| उसलाइ म भन्दा निकै गाह्रो हुन्छ| मेरो परिवार भनेको दाइ भाउजु, उहाहरुले केहि भन्नु हुन्न मलाई| यो समाजबाट म पहिले नै निकै पर भइसकेको छु| उसको परिवारसंग पनि नाता छ अनि समाजसंग पनि| उसको लागि निर्णय लिनु भनेको, पहाड सार्नु जस्तै छ|
हामिले एक एक पाटो नियाल्न लागेउ| यो सम्बन्धसंग हामि कहाँ पुग्छौ अनि यो सम्बन्ध बिना कहाँ पुग्छौ? यो सम्बन्धले हामिलाइ कसरि असर गर्छ? यो सम्बन्ध हुदा हामी धेरै खुसि हुन्छौ कि नहुदा? यो समबन्धको परिणाममा पिडा र खुसि दुवै छ, तर कस्को प्रभाव धेरै छ? यस्ता धेरै प्रश्न पछी, हामीले हाम्रो सम्बन्धको भबिस्यको जवाफ फेला पारेउ| जवाफ मसंग थियो, उसको जवाफ पर्खिएको हो मैले| उसले संकोच अनि दोधार बीचमा हाम्रो सम्बन्धलाइ रोजिन् र जीवनको यात्रामा संगै अघि बढ्ने भयौ हामि|
हामि संगै बस्ने भएकोले, हामि दुबैको जीवनमा थुप्रै बदलाव आएको छ| हाम्रो यो सम्बन्ध, हामि बीच मात्र सिमित छ र अरुको सामु हामि मिल्ने साथि हौ| हाम्रो सम्बन्ध, सारा संसारले थाहा पाओस् भन्ने इच्छा पनि छैन| जे छ त्यसमै खुसि छौ हामि| एक अर्काको साथ् चाहिएको हो हामीलाई, अरुको अनुमति हैन| साथ् छ अनि साथमा खुसि पनि, म कसरि दुखि हुन सक्छु| साच्ची सम्बन्ध हो, म हैन हामी| हामि दुखि छैनौ, दुवै खुसि छौ| होटेल एक्लै हेर्न गाह्रो हुन्थियो मलाई| प्रनिका भएपछी धेरै नै सजिलो भएको छ| उसले पनि हस्पिटलमा जागिर खोजि रहनु परेन| मौका मिलेको बेला हामि पार्लर पनि पुग्छौ| त्यति गर्दा भाउजु पनि खुसि|
समय संगै प्रनिका र मेरो सम्बन्ध गहिरिनु सामान्य हो| केहि संकोच थिए सम्बन्धमा, त्यो संकोचको ठाउ अहिले मायाले लिएको छ| जीवनभरि नै एक अर्काको साथमा बिताउन सक्छौ हामि| हाम्रो सम्बन्ध यस्तो छ, जहाँ दुबैले दुबैलाई बुझ्छौ| चित्त दुखाउने ठाउ कहिँ छैन| पहिलो पल्ट कुनै सम्बन्धमा यति पूर्ण महसुस गर्दै छु| लाग्दैछ, म आफ्नै प्रतिबिम्बसंग सम्बन्धमा छु|
उसको एउटा बानिले चाही सुबोधको याद दिलाउने बेला बेला| उसले मोबाइल बोक्छे तर उसको मोबाइलमा सिम छैन| मैले किन भनि सोधे र उसको जवाफ “घरमा म रिसर्चको लागि बाहिर आएको छु भनेको छु नि|” जहिले यसरि ढाटेर हुन्न भनेर सम्झाउछु तर उसले बुझ्दिन| परिवारको महत्व उसलाई कसरि बुझाउनु मैले| उसले जहिले एउटा कुरा मात्र भन्छे “अहिले देखि परिवारबाट पर बस्न सिक्दै छु| हाम्रो सम्बन्ध उहाले स्विकार्नु हुन्न, यसै नि पर बस्ने पर्छ| पछीलाइ सजिलो हुन्छ अहिले बानि बसायो भने|” उसको यो वाक्यले पुस्टि हुन्छ हाम्रो सम्बन्ध कस्तो छ| पुरै दुनिया एक तर्फ अनि हाम्रो माया एक तर्फ|
भाउजुलाइ मेरो सम्बन्धको बारे भन्न मन छ| तर कसरि भन्नु? भाउजुलाई भन्नु मतलब दाइलाइ भन्नु| यो सम्बन्धको सुरुवात गर्दा मलाई केहि संकोच थिएन, अहिले संकोच मानेर हुन्छ? भाउजुलाइ जसरि पनि भन्छु भनि, भाउजुलाइ मेरो र प्रनिकाको केहि फोटो पठाए| भाउजुले साथि हो भनि सोध्नु भयो| मैले हैन भने| भाउजुले को हो भनि सोध्नु भयो| जवाफ च्याटमा दिन उचित लागेन|
फोन गरे र सबै भने भाउजुलाइ| भाउजु केहि बोल्न सक्नु भएन| दाइले एकछिनमा फोन गर्नु भयो| दाइलाइ पनि त्यहि भने, जे भाउजुलाइ भनेको थिए| भाउजु र दाइलाई बिश्वास लागेको छैन| उहाहरुले केहि भन्न सक्नु भएको छैन| उहा खुसि हुनुहुन्छ कि नाइँ पनि चाल पाइन मैले| सोचे जसरि नै भाउजुले समाजको डर देखाउनु भयो| यसको जवाफ थियो मसंग|
“म बुझ्छु, हजुरले बुझ्नु हुन्छ तर समाजले बुझ्दैन मैया|” भाउजुले यसरि नै मलाई सम्झाउन लाग्नु भयो| भाउजुले मलाई सम्झाउन खोज्नु हुन्छ अनि म भाउजुलाइ| जित हाम्रो सम्बन्धको भयो अनि दाइ भाउजुले पनि हाम्रो सम्बन्ध स्विकार्नु भयो|
“बहिनि, हामि जस्तो हुदैन समाज| धेरै दुस्ट र मुर्ख हुन्छ| हामीले बुझेउ, उनीहरुले बुझ्दैनन्| त्यसैले तिमि अब अमेरिका आउ, दुवै जना| यहाँ भयो भने, केहि कुराको पनि पिर हुन्न|” दाइको सुझाव राम्रो हो तर त्यस्तो स्थिति आउन्न जस्तो लाग्छ| आज प्रनिका र मेरो, दुबैको खुसीको सिमा छैन|
खुसि मनाउन हामि दुवै होटेल पुगेउ| हाम्रो लागि खुसि भनेको हाम्रो साथ हो, बाकि त सबै बहाना हो| साथमा रम्दै केहि पेग रक्सि, अनि घरको सवारी| यसरि सकियो आजको दिन| प्रनिका रक्सि पिउन मन गर्छिन् तर उसको शरीरले थाम्न सक्दैन| झाप्प निदाईहाल्ने उनि| आज पनि केहि फरक छैन| मलाई अझै पनि निन्द्रा लागेको छैन| फ्लिम हेर्न लागे|
