काठमाण्डौ सहर, भवन थपियो, मान्छे थपिए, भवनमा तल्ला थपियो अनि मान्छेको शंख्या पनि| भवन, मान्छे, सवारी साधन, काठमाण्डौ सहरमा यस बाहेक केहि देखिन्न| यदि काठमाण्डौबाट भवन,गाडी अनि मान्छे हटाउने हो भने, काठमाण्डौ आफैमा ठुलो टुडिखेल हुने थियो| यस्तो भएको भए, त्यस्तो भएको भए, यस्तो भएको भए त्यस्तो हुन्थिएन, त्यस्तो भएको भए यस्तो हुन्थिएन| त्यसैले यो सब सोचेर केहि फाइदा नै छैन| फाइदा भन्दा पनि, सोच्नुको औचित्य नै देख्दिन| जे छैन, त्यस माथि छलफल नगर्दा नै राम्रो होला|
काठमाण्डौको शंखमुलमा अवस्थित एउटा भब्य भवन| ६ तल्ले भवन, छतबाट हेर्ने हो भने, काठमाण्डौ उपत्यकाको दृश्य प्रस्ट देखिने| काठमाण्डौ उपत्यका पनि भन्न रुचाइन मैले, जता हेरे पनि भवन मात्र देखिने, कुनै ठुला कुनै साना| हेर्ने मान्छे अनुसारको व्याख्या अलग होला तर काठमाण्डौमा जति भवन र मान्छे छन्, त्यसभन्दा धेरै सपना छन्| भवनको आकार र उचाई भन्दा निकै ठुलो छन् त्यो भवनमा बस्ने मानिसको सपना| एउटा घरमा जति कोठा छन्, त्यसको १० गुना सपना बोक्ने मान्छे एउटा कोठामा बस्छ|
काठमाण्डौलाइ कसैले मन्दिरको सहर भन्छन, कसैले मान्छेको सहर भन्छन, कसैले के भन्छन अनि कसैले के| म चाही काठमाण्डौलाइ सपनाको सहर भन्छु| सपना अनि अवसरको सहर| काठमाण्डौ पस्दा धेरै सपना लिएर पस्छन, केहि सपना पुरा हुन्छन अनि पुरा हुने बित्तिकै अरु सपना र चाहना थपिदै जान्छन| म पनि सपना बोकी काठमाण्डौ पसेको थिए|
जब अन्धकार सन्ध्यामाथि हाबी हुन खोज्छ र बिस्तारै रात पर्दै जान्छ, तब काठमाण्डौ झनै सझिदै जान्छ| अन्धकारले कहिले जित्न नै पाउदैन, झलमल घर अनि गाडीको बत्तीले, काठमाण्डौको सुन्दरता बढाउछ| म त्यसै सपनाको सहर भन्दिन काठमाण्डौलाइ| दिउसो भरि धुवा धुलोमा अल्झिएको मान्छे, कोहि ओछ्यानमा गएर सपना देख्न लाग्छन, कोहि मान्छे बीच सपना देखि रहेको हुन्छन भने कोहि सपना बाची रहेको हुन्छन| म पनि यो खेलको एउटा प्यादा हु| यो खेल खेल्ने दिमाग हुन मन छ|
१० बर्ष, कति सपना पुरा भए अनि कति अपुरो नै छ| सपना अनि बितेको १० बर्षको कुरा गर्नु समय खेर फ्याल्नु मात्र हुन्छ| अतित हैन बर्तमानको चर्चा गर्दा ठिक होला| अहिले साझको 7 बजेको छ| शंखमुलको कुनै छ तल्ले भवनको छतमा बसेर, काठमान्डूलाइ नियाल्दै चुरोटको धुवा प्रदुसित बातावरणमा मिसाउदै छु| असार महिना, झरीको महिना, अहिले पनि झरी पर्दै छ| त्यसैले पनि अहिले म यहाँ छु नत्र घर पुगी सक्थिए|
पानि रोकिन्छ अनि घर जान्छु भनि चुरोट पिउदै बसेको पनि एक घण्टा भएछ| ८ बजी सकेछ र मेरो चुरोटको धुवाले अझै पनि बादलबाट परि रहेको झरीलाइ चिर्दै, खुला भइ उड्न खोज्दै छ| यहि क्रम चल्दै थियो बितेको एक घण्टा देखि| यो पलमा रम्दै थिए नत्र रेनकोट ओढेर घर पुग्ने बिकल्प पनि थियो मसंग| पानि रोकिएला भन्ने आशमा बसेको, पानि रोकिने संकेत देखिन| एउटा हातमा चुरोट, अर्कोमा मोबाइल अनि आखा जान्छ पठाओ एपमा| थोरै अघि, केहि पैसाको जरुरत थियो मलाई| पठाओमा मैले अकाउन्ट खोल्नुको कारण यहि थियो|
लगभग एक महिना, मैले पठाओमा कति मान्छेलाइ उनिहरुको गन्तब्यमा पुर्याए| अहिले म जहाँ छु, त्यहि भवनको चौथो तल्लामा मेरो अफिस छ| त्यो एक महिना, अफिसपछिको ३ 4 घण्टा जहिले पठाओमा पैसा कमाउन लागि पर्थिए| नया मान्छेसंग नया ठाउमा जानुको नया अनुभव, निकै भिन्न हुने| त्यो बेला पैसाको कमिले गरेको भए पनि, यो अनुभवको चाही लत परिसकेको छ मलाई| अहिले पनि, नया मान्छेसंग बोल्नको लागि मात्र भएपनि, हफ्ताको एक या दुइ दिन जस्तो पठाओ चलाउने गरेको छु| अचम्मको लत लागेको छ|
आज पनि पठाओ चलाउन मन लाग्यो त्यसैले पठाओ खोले| एक पछी अर्को गरि, मोबाइल ह्यांग हुने गरि नै रिक्वेस्ट आए| म जानु पर्ने नया ठिमी र पाठाओमा सबै स्वयम्भु, ललितपुर र बुढानिलकण्ठको लागि रिकेस्ट आउदै छ| पानि रोकिएको छैन तर कम भएको छ| यहि सहि मौका लाग्यो र पार्किंग पुगेर रेनकोट ओढेर बाइक स्टार्ट गरे| याद आयो, पठाओ अफ गर्न बिर्सिएछु|
रेनकोट ओढीसकेको थिए, मोबाइल निकाल्नु महाभारत नै भयो| अफ गर्न औला अफलाइन बटनमा पुगीसकेको थियो, एउटा नया रिक्वेस्ट आयो| पठाओको रिक्वेस्ट आउदाको आवाज कसैले बिचार गर्नु भएको छ| सुरुसुरुमा मान्छे अत्तालिन्छ सुन्दा| पुरै आपत परेको जस्तो भन्नु कि साइरेन बजे जस्तो| बानेस्वरमा बज्यो भने माइतीघरमा सुनिन्छ होला| ल भयो त्यता नजाउ, रिक्वेस्ट नया ठिमीको लागि थियो| अघि खोजेको रिक्वेस्ट अहिले भेटे| नाम “इस्मी इस्मी” छ| पहिलो पटक सुन्दै छु यो नाम| एसेप्ट गरे राइड|
“हेल्लो कहाँ हुनुहुन्छ?” हरेक मान्छेलाइ फोनमा मैले सोध्ने पहिलो प्रश्न यहि हो|
“सानदार म: म:| दाइ हजुर आउन कति टाइम लाग्छ?” उताबाट जवाफ आयो| तर दाइले? मन परि साइनो लगाइदिने? मैले यस्तै केहि सोच्नु पर्ने हो है? तर बानि परिसक्यो| त्यसैले दिमाग खालि राखे|
“१ मिनेट पनि लाग्दैन| पुगीहाले|” यति भन्दै फोन राखे र सानदार म:म: पुगे| १0 देखि २० मिटरको दुरी पार गर्न कत्तिनै गाह्रो हो र|
“ह
