Part 2

“ हजुर इस्मी हो?” सानदार म:म: को अगाडी उभिने उनि मात्र एक केटि हुन्| उनको अघि बाइक रोकेर, उनलाई  प्रश्न गरे|

“हजुर| हजुर पठाओ है?” उनको जवाफले मैले खोजेको मान्छे उनि नै हो भन्ने पक्का भयो| 

“ म पठाओ हैन, म आसिफ हो|” यसरि जवाफ दिनु मन थियो तर मेरो मजाक रुखो हुन सक्छ उनलाई| 

“हजुर हो, बस्नुस्|” यति भने, उनि बसिन् र सुरु भयो हाम्रो यात्रा| यात्राको सुरुवातमा नै हाम्रो बीचमा उनले आफ्नो ब्याग राखिन्|

शंखमुलबाट ठिमी पुग्नु पर्ने| सोझो बाटो भनेको बानेश्वर चोक निक्लिएर, त्यहाँबाट कोटेश्वर हुदै जानु हो तर अहिलेको अवस्थामा त्यो निर्णय मुर्खता हुन्छ| त्यो बाटो अन्तिम पटक कहिले हिडेको थिए भनि याद छैन मलाई| अफिस आउदा र घर फर्किदा जहिले जाम पर्छ त्यो बाटोमा, त्यसैले त्यो बाटो मेरो रोजाईमा पर्दैन| सात बजे देखि मुसलधारे पानि पर्दै छ| तिनकुनेमा पानि जमेर पक्कै पनि सानो बेगनास ताल बनेको छ| बाटो पनि स्वर्णिम देखिन्छ तर त्यो रंग ढलको हो| त्यसैले त्यो बाटो उचित छैन अहिलेको लागि|

शंखमुलबाट महादेवस्थान हुदै, कोटेश्वर निक्लिने अनि सिध्दै नया ठिमी| म सधै यहि बाटोबाट यात्रा गर्छु| आज पनि यहि बाटोबाट निक्लिने सोचले हिडेको तर महादेवस्थानको पुल कट्ने बित्तिकै जाम सुरु भएको छ| यो बाटो जाम हुदैन भनि यो बाटो आएको तर….

“ धन्न यहाँबाट जाम सुरु भएको रैछ| हाइवेमा माइतिघरबाट जाम छ|” मेरो छेउमा रहेको बाइकको मान्छेले आफैसंग बोल्दै छ कि मसंग, मलाई थाहा छैन तर उसको जानकारी महत्वपूर्ण थियो| हाइवेमा जाम छ मतलब कोटेश्वरमा पनि जाम छ| जुन बाटो गए पनि कोटेश्वर पुग्ने पर्ने, जाममा फस्ने निश्चित| कोटेश्वर नगएर, बालकुमारी पुलको मुनिबाट सिधै जडिबुटी निक्लिन मिल्छ अनि त्यसपछी जाम हुदैन| 

त्यहि बाटो जाने निर्णय लिए मन मनै तर निर्णय मैले मात्र लिएर हुदैन| मेरो बाइक पछाडी इस्मी छिन्, यो यात्रा मेरो मात्र हैन उनको पनि हो, उनको पनि अनुमति लिनु जरुरि छ| ठेट शब्दको प्रयोग गर्नु पर्दा, अहिलेको लागि उनि मेरो साउनी हो, मैले उनको आज्ञाको पालन गर्नु पर्छ| मनको मालिक पनि आफ्नै निर्णयको गुलाम हुनुपर्ने रैछ| अचम्म हैन? उनि बाइक पछाडी चढेपछी, उनीसंग एक शब्द पनि बोलेको थिइन मैले| बोल्ने बाटो र बहाना, दुवै एकैपल्ट भेटे मैले|

“ यो बाटो जाम छ| अर्को बाटो जादा तिमीलाई फरक पर्दैन नि?” प्रश्न भन्दा नि अनुमति लिन खोज्दै छु उनीसंग|

“ हुन्छ| छिटो, सजिलो र सुरक्षित जे हुन्छ त्यहि गर्नु न| ढिलो पनि भइसक्यो|” उनको अनुमति पाए| बाइक बालकुमारी पुल तर्फ अघि बढाए|

“ तिमि जहिले पठाओमा नै हिड्छौ कि के हो?” यात्रा अघि सुरु भएको, बार्तालाप भर्खर, दुवै गन्तब्यमा नपुगी रोक्न मन छैन|

“ सधै त हैन तर धेरै जस्तो| बिहान गाडीमा नै आउछु, बेलुका फर्किदा चाही पठाओमा फर्किन्छु| टुटल पनि ट्राइ गरेको हो तर धेरै ल्यांग हुने, मान्छे ढिलो आउने अनि कहिले आउदै नआउने|” हो हैनमा जवाफ खोज्दै थिए म, उनले पुराण नै सुनाइन्|

“शंखमुलमा चाही अफिस?” प्रश्न सोध्न बाहेक अरु केहि जानिन मैले|
“अफिस हैन, ब्युटीपार्लर छ मेरो| बुटिक छ मेरो शंखमुल टावरमा| अहिले खाजा खान थोरै अगाडी आएको थिए| तिमि चाही पठाओ फुल टाइम हो कि अरु कुनै जब गर्छौ?” उनको जवाफले ताजुब बनायो मलाई|

“मेरो अफिस पनि शंखमुल टावरमा नै हो|” मैले पनि जवाफ दिए| मेरो जवाफले उनलाई पनि ताजुब तुल्याउनु पर्ने हो| उही भवनमा काम गर्ने रैछौ हामि तर पनि अहिले सम्म एक अर्कालाइ देखेको रैनछौ|  कि देखेर पनि बिचार नभएको हो| आखिर जबसम्म गितको शब्दले छुदैन, बोल कहाँ याद हुन्छ र| यहि भएको हुनुपर्छ|

“अहिले सम्म देखेको थिन मैले तिमीलाई| अचम्म है?” मेरो मनको प्रश्न उनले नै मेरो सामु राखिन्| मैले “हजुर” बाहेक जवाफमा अरु केहि भन्न जानिन|

“ अनि तिमि चाही जहिले पठाओ गर्छौ कि के हो?” अघि मैले जे प्रश्न गरेको थिए, उनले त्यहि प्रश्न गरिन् मलाई|

“ हैन| आज पानि परेर निक्लिन ढिलो भयो, अल्छी लाग्यो, त्यसैले पठाओ अन गरेको थिए|” मेरो जवाफ सरल थियो| यसरि नै जवाफ दिए भने, हाम्रो बार्तालाप अबको केहि वाक्यमा सकिन्छ होला| अहिले सम्म जडिबुटी पनि पुगेको छैनौ हामि|

“ धन्न पानि परेछ, अनि तिमीले एसेप्त गरेउ नत्र म ट्याक्सीमा जानु पर्थियो| मैले रिक्वेस्ट गरेको पनि १५ मिनेट भएको थियो, कसैसंग रेनकोट थिएन भने कोहि के भन्ने|” उनि कति सजिलै खुल्दै छिन् मसंग|

“ हाहाहा है| नया ठिमीमा कहाँ बस्छौ?” उनि जस्तो खुल्न जानिन मैले, प्रश्न सोध्न बाहेक अरु केहि जानिन|
“ चोकबाट अलि भित्र हो|” पहिलो पटक उनले यति छोटो जवाफ दिएको हो| चोकबाट अलि भित्र भनेको कति भित्र पर्छ? फेरी उत्तर तिर कि दक्षिण तिर कि पुर्ब कि पस्छिम तिर?

“ ठ्याक्कै कता भन त| म पनि नया ठिमीमा नै बस्ने हो|” बल्ल म पनि खुल्न जान्दै छु|

“ बन्दना डेरी पछी एउटा मन्दिर आउछ नि| त्यहि निर हो|” उनको जवाफले म के पक्का भए, उनको र मेरो काम गर्ने ठाउ मात्र हैन, बस्ने ठाउ पनि नजिकै रैछ| हामि बस्ने ठाउ पनि नजिकै रैछ, मलाई मात्र थाहा थियो, उनलाई पनि बताए| अझै थप गफ र हामि हाम्रो गन्तब्यमा छौ| उनको घरबाट मेरो घरको दुरी २५ मिटरको  पनि छैन| उनलाई घर छाडेर, पठाओमा उल्लेखित पैसा लिएर म आफ्नो घर पुगे| दिनको अन्त्य लगभग यत्तिमै सिमित भयो|

नया बिहानीसंग नया दिनको सुरुवात भयो तर बदलिएको केहि छैन| अहिले पनि झरी पर्दै नै छ र रेनकोट ओढेर नै अफिस पुगे| रेनकोट ओढेर बाइक चलाउन थोरै गाह्रो लाग्छ मलाई| अफिस पुग्न २० मिनेट नै लागेको हुनुपर्छ| अफिस ६ बजे बिदा भयो र अफिस पछी खाजा खान सानदार म:म: पुगेउ अफिसको साथिहरु| यो निर्णय सहि भनौ कि गलत| सहि गलत थाहा छैन मलाई तर… म:म: खाएर होटेलबाट निक्लिने बित्तिकै पानि पर्यो र फेरी पनि शंखमुल टावर नै फर्किनु पर्यो| कोहि साथि कहाँ गए कोहि कहाँ, अनि म फेरी पनि हिजो जस्तै, ६ तल्ला माथि बसेर, चुरोट सल्काउदै छु… 

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts