बिस्तारै तैयार हुन लागेउ हामि, आज काठमान्डौ फर्किनु पर्ने थियो| जे काम गर्न आएका थिएउ त्यो काम पनि फत्ते भयो,सायद| यसबारेमा मलाई केहि थाहाछैन पूर्ण रुपमा,सलिन भाइले जे जे भनेको थियो त्यहि नै गर्दै गएको थिए मैले, काम सकेको नै हुनुपर्ने हो| शरीरले खाना माग्दै छ तर निष्ठाले हतार गर्दै छे, हतार भन्दा पनि उसलाई काठमान्डौ पुगेर नै भुजा खान मन रैछ| आखा मिच्दै वासरुम पसे र ब्रसले दात घोट्न लागे| साझमा कुन बेला घर पुग्ने पनि टुंगो छैन, नुहाउनु उचित लाग्यो र उचित लागेको कार्य पुरा गर्न पछी परिन| म नुहाएर निक्लिदा निष्ठा तैयार भइसकेकी थिइ, म पनि प्रकाशको गतिमा तैयार हुन लागे| प्यान्ट र सर्ट लगाउन कत्ति पनि समय लागेन,यसरि तैयार भए म पनि| कोठाबाट ब्याग अनि अन्य सामान लिदै निक्लिएउ र निष्ठाले नै ताल्चा लगाई कोठामा र चाबी हातमा लिदै रिसेप्टन पुगियो|
रिसेप्टनमा कोहि थिएन| वरिपरी नै हुनुहुन्छ होला भनि हामीले बोलाउदा पनि बोलाएनौ तर ५ मिनेट भन्दा बेसी कट्दा पनि दाइ नआएपछि,निष्ठाले मलाई आखाले इशारा गरि,दाइलाइ बोलाउन भनि| उसले आखाले इशारा गरि र त्यहि आखामा यो ठाउबाट चाडै निक्लिन खोज्दै गरेकी निष्ठालाई पनि भेटे मैले|
“दाई, को हुनु हुन्छ रिसेप्टनमा ?” यति भन्ने बित्तिकै भित्रबाट दाइ निक्लिनु भयो, दाइ पनि भर्खर उठ्नु भए जस्तो लाग्यो| मुखमा ब्रस थियो र आखामा निन्द्रा|
“भाइ हिड्न लाग्नु भएको?” मुखमा रहेको मन्जन छेउको बाल्टिनमा थुक्दै दाइले यति सोध्नु भयो|
“हजुर दाइ,हाम्रो हिसाब कति भयो?” एउटा रकम छ दिमागमा,जसको वरिपरी नै हुनुपर्ने हो दाइले भन्न लागेको रकम पनि तर दाइको हिसाब बढी आएभने पनि मैले पैसा चाही पर्याप्त नै बोकेको छु|
“५४०० भयो भाइ आइरहने मान्छे ५००० देउन|” मैले ८००० को हाराहारीको बिल आउला भनि सोचेको थिए तर मैले धेरै सोचेको रैछु| जम्मा ५४०० उठेको रैछ अनि त्यसमा पनि ४०० दिनु नपर्ने, मन मनै मन पनि खुसि भयो|
रिसेप्टनबाट १ मिनेट हिड्नु पर्छ बाइक सम्म पुग्नको लागि,मेरो बाया हातमा निष्ठाको झोला थियो र दाया हातमा चाही निष्ठाको बाया हात थियो| त्यसरी नै पुगेउ हामि बाइक भएको ठाउ सम्म| दुइ दिन देखि नचलाएको बाइक, अनि रातभरी बाहिर चिसोमा पार्क गरिएको छ, एकछिन निउ खोज्यो बाइकले पनि,तर अन्तिममा स्टार्ट हुनै पर्यो| बाइक स्टार्ट गर्ने बेला झोला छेउको ढुंगामाथि राखेको थिए,त्यो लिनलाई बाइकबाट उत्रिनै पर्यो| निष्ठा भने आफ्नु झोला भिडेर तैयार भइसकेकी थिइ|
“सुन्नुस न, Thank You” म बाइक चढ्न लाग्दा निष्ठा म सामु आइ,यति भनि र अङ्गालोमा कसी मलाइ| उ म प्रति कृतज्ञ हुनुपर्ने कुनै कारण नै देख्दिन| यो मैले उसलाई कुनै उपकार गरेको हैन,यो त मेरो जिम्मावारी थियो, गल्ति मेरो पनि छ नि उसलाई यो हालतमा पुर्याउनमा| तर म केहि बोलिन, उसलाई भन्न चाहिन कि यो मेरो महानता नभई जिम्मेवारी हो किनकि त्यो भन्नलाई मैले उसलाई आफ्नु अंगालोबाट आजाद गर्नु पर्छ,जुन म चाहन्न| आखिर आफ्नो संसारलाई कसैले कसरि अंगालोबाट पर गर्न चाहन्छ होला|
नगरकोटबाट स्टार्ट गरेको बाइक,सिधै मैतीदेवी गएर बन्द भयो,बन्द भएको हैन मैले गरेको| २ बजेको छ, मलाई बिहानै भोक लागेको थियो,अहिले ढल्न मात्र बाकि छु| निष्ठालाई पनि भोकले पिरोलेको रैछ, खाजा खाएर मात्र घर जाने भइयो| “80’s cafe” रोजियो आजको खाजाको लागि,मैतिदेबी चौकमा रहेर यसले प्राथमिकता पाएको हो| निष्ठाले चिकेन मोमो मगाई,मैले भने बफ सी.मोमो अनि त्यस्को साथमा चिकेन चिल्ली र दुइटा चिसो पनि| अर्को एक घण्टा संगै बिताउने मौका पाइयो,खुसि छु म| झन् हाम्रो सम्बन्ध जुन गन्तव्यमा नपुगी बिचमै रोकिएको थियो,यसले फेरी एउटा नया सुरुवात पाएको छ र अग्रसर भएको छ पुरानै गन्तब्य तिर|
निष्ठा त्यहाबाट हिड्दै जान्छु भनि जिद्दी गर्न लागि र गइ पनि| म पनि त्यहाबाट सिधै घर पुगे| घर पुग्ने बित्तिकै मामुले ५ मिनेट सम्म नरोकीकन गालि गर्नु भयो, गालि खान्छु भन्ने कुरा मैले पहिले सोची सकेको थिए त्यसैले असर परेन| यति सानु गालि खाएर त्यति ठुलो काम फत्ते हुन्छ भने,यस्तो गालि त म हरेक घण्टा खान तैयार छु| मामुले खाजा बनाएर राख्नु भएको रैछ, पेट टन्न छ तर थप गालि खानु भन्दा खाजा खानु नै उचित ठान्यो मनले, अनि पेट अटसमटस भयो त्यो जबर्जस्ति खाएको खाजाले|
मामुले बजारबाट समान ल्याउनु छ भन्दै बजार सम्म लग्नु भयो तर मामुले ठिमीको बजार नभई जडिबुटीको सब्जी बजारबाट भन्नु भएको रैछ| थाहा पाएको भए बहाना बनाएर जान्थिन तर अब जानै पर्यो,दुइ घण्टा त्यसै खेर गएको जस्तै भयो| घर पुग्ने बित्तिकै फेरी बुवाले ल्यापटपमा दुइ पेज नेपालि टाइप गर्न लगाउनु भयो| घर पसे देखि एकछिन पनि फुर्सत भएन| बुवाको टाइप गर्ने बित्तिकै मामुले फेरी खाना खान बोलाउनु भयो| निष्ठासंग पेट टन्न बनाएर आएको थिए, मामुले त्यसमाथि खाजा थपिदिनु भएको थियो,अब खाना चाही कुन पेटमा खानु? पेट पो हो मेरो भकारी हैन नि| तर मैले यो केहि भन्न मिलेन, गुन्द्रुक कोचे जस्तै पेटमा खाना कोचना लागे| यति भएपछी बल्ल फुर्सत भयो| निष्ठालाई मेसेज गरे फुर्सत हुने बित्तिकै तर रिप्लाई आएन| फोन गरे अफ भन्छ| मेरो मनमा फेरी अब अनेकौ सोच आउन लागे,सकारत्मक कुनै थिएनन्, सबै नकारात्मक मात्र|
