Part 26

छिट्टै लिएको नतिजा सहि नहुन सक्छ तर सधै गलत पनि त हुदैन|  आजको छिटो लिएको निर्णय गलत हैन सहि साबित भयो| स्कुटर चलाउदै छु र आफ्नै सुरमा मस्त छु| बिहान चिया पिएको ठाउ भनौ या क्षितिजको फोटो जलाएको ठाउ, लगभग त्यहाँ पुगे| बाटो बीचमा, हैन हैन, बाटो भरि नै खसी बाख्रा छन्| बीच बाटोमा कसले चर्न छाड्छ के खसी बाख्राहरु| खसी, बाख्रा चराउनेलाइ पनि गोठालो भन्छन हो? खै थाहाछैन मलाई| तर खसी बाख्रा चराउने कोहि व्यक्ति पनि देखिन| स्कुटरको स्ट्याण्ड लगाएर, खसी बाख्रालाइ आफैले धपाउन लागे| त्यत्तिकैमा बिहानको चिया पसलको दाइ आउनु भयो|
“बहिनिलाइ दुख भयो है| म ग्राहक आएर पसल गएको, यिनीहरु बाटोमा चर्न पुगेछन्| के गर्नु, हाम्रो जति यिनीहरुको दिमाग हुदैन|” दाइले मलाई देख्ने बित्तिकै आफ्नो सफाईमा केहि भन्न लाग्नु भयो| मैले सफाई मागेको थिइन तर दाइलाइ उहाले गर्दा मलाई दुख भयो भन्ने महसुस गर्नु भएछ| मलाई अलिकत्ति पनि दुख लागेको छैन, बरु म रमाउदै छु| बाल्यकाल बेलाको सम्झना ताजा भयो| हाम्रो घरमा पनि खसी बाख्रा पाल्नु हुन्थियो| गाइ पनि थिए हाम्रो घरमा| घर भन्दा ठुलो त गोठ थियो| अनि म गाउ गएको बखत, म खसी बाख्रासंग खेलेर बस्थिए| बाख्राको सानो सानो बच्चालाइ “मुनि मया, मुनि म्या” भन्दै सकी नसकी बल गरेर बोक्थिए| गोठालो दाईसंग बेला बेला म पनि बगैचा र खेत पुग्थिए, जान बस्तु चराउनलाइ| एकदिनको कुरा हो, बेलुका भयो र सबै जान बस्तुलाई घर फर्काउने समय भयो| दाइले कहिले मलाई बाख्राको डोरी समाउन दिनु हुन्थिएन| म चलाक भएर आफै डोरी खोले र त्यसपछी जे भयो, अहिले सम्म पनि बिर्सिन सकेको छैन| मैले डोरी खोल्दा, मेरो खुट्टा डोरीमा नै बेरिएको रैछ र डोरी खोल्ने बित्तिकै त्यो खसी यस्ती कुदयो, यस्तो कुदयो, के भनौ| मेरो खुट्टामा डोरी बेरिएको भएर, खसी दौरिदा म भुइमा लडे अनि खसीले त्यहाबाट मलाई घिसारेर नै घर पुर्यायो| उठ्न खोज्ने कोशिश गर्ने सवाल नै हुन्न, त्यहा के हुदै थियो नै चाल पाइन मैले| लग भाग ५०० मिटरको दुरी आकाश हेर्दै र घिस्रीदै घर पुगे| त्यो बेला धेरै नै रोएको थिए र अहिले त्यो घटना सम्झिदा हासो उठ्छ|

बाल्यकालको याद एकछिनमा नै ताजा भयो| फेरी पनि बर्तमानमा फर्किने समय भयो| चिया पसलको दाइले चिया पिउन जाउ भन्दै जिद्दी गर्न लाग्नु भयो| मैले नाई नाई भन्दै नकार्न कोशिश गरे| धेरै बहाना पनि बनाए| केहि झुठ पनि बोले तर दाइले मलाई पसल लगेर नै छाड्नु भयो| चिया पकाउन ताप्के ग्यासमा राख्नु भयो दाइले र एउटा प्लेटमा केहि खाने कुरा लिएर आउनु भयो| दाइले मलाई किन यति गुण लगाउदै हुनु हुन्छ र माया गर्दै हुनु हुन्छ| एउटा सम्बन्धको अन्त्यले गर्दा, एउटा नया सम्बन्ध जोडिएको छ| दाइ-बहिनीको सम्बन्ध|
“के हो दाइ? किन हजुरले यति दुख गर्नु भएको?”
“ के को दुख हुनु बहिनि| पाकी सकेको कुरालाइ, प्लेटमा राखेर बहिनिलाइ खान दिदा, दुख हैन आनन्द हुन्छ|”
“ पसलमा बिहान पनि दाइ मात्र हुनुहुन्थियो, अहिले पनि दाइ मात्र| बाख्राहरु पनि आफै नै हेर्दै हुनु हुन्छ| घरमा अरु कोहि हुनुहुन्न?”
“ एउटा बुढी अनि एउटा छोरी छन् मेरो| कस्तो कुरा गर्दैछु म, बुढी एउटा त हुन्छ| दुइटा भयो भने त कानुन लागि हाल्छ नि|”
“कानुन थाहा छैन दाइ, पाप चाही लाग्छ| अनि भाउजु र छोरी संगै बस्नु हुन्न?”
“छोरी स्कुलबाट आउने बेला हुन लाग्यो| भाउजु पनि ट्रेनिंगबाट फर्किने बेला त भयो| ल आयु लामो छ यसको पनि, नाम लिदै थियौ, आइ हाली|”

दाइ र म बोल्दै नै थियौ र यत्तिकैमा भाउजु आउनु भयो| दाइले भाउजुअंग चिनजान गराउनु भयो| चिया संगै गफ अघि जादै नै थियो र नानि पनि आइन्| दुइ चुल्ठी बाटेको, निलो स्कर्ट र सेतो सर्ट,परि देखिएकी थिइ नानि| नानिको निधारमा कोठी पनि थियो, र त्यसतै कोठी भाउजुको निधारमा पनि| दाइले चिया भनेर जिद्दी गरेर मलाई त्यहाँ सम्म लग्नु भएको थियो, अब भाउजुले खानाको लागि जिद्दी गर्दै हुनुहुन्छ| “दाइको हातको नमिठो चिया पिएउ, अब भाउजुले पकाएको मिठो खाना खाउ| मिठो खाना बनाउछिन् तिम्रो भाउजुले| दाईले यति भनिसक्दा मैले नाई भन्न पनि मिलेन| पहिलो दिनको दोस्रो भेटमा नै, कोहि यति नजिकिन्छ, आफ्नोपन महसुस हुन्छ, आफ्नै परिवार जस्तो आवास हुन्छ भनि मैले कहिले सोचेको थिइन|
“भाउजु, हजुर के को ट्रेनिंग गर्दै हो?” खानाको पहिलो गास संगै, भाउजुलाइ प्रश्न सोधे|
“ब्युटी पार्लरको ट्रेनिंग हो मैया| पसलमा एक जना बस्दा र दुइ जना बस्दा पनि त्यहि नै हो| सधैको हात मुख जोड्न गाह्रो| त्यहि भएर हिजो बाट ट्रेनिंग जान लागेको| ट्रेनिंग पछी पार्लरमा काम पाउछु|” भाउजुले मैया भन्दा, म यहि परिवारको सदस्य जस्तो आवास भयो|  भाउजुले एउटा आश पनि पलाउनु भयो, ट्रेनिंग गर्यो भने मैले पनि काम पाउने रैछु|
“ट्रेनिंग गर्यो भने त्यति सजिलै काम पाइन्छ र भाउजु?” मेरो यो प्रश्नको जवाफमा भाउजुले सकारात्मक जवाफ दिनु भयो भने, मेरो एउटा ठुलो समस्या हल हुनेछ|
“पाउनु त पर्ने हो नानु|नया नया ब्युटी पार्लर धेरै नै खुल्दै छन्|” भाउजुको यो जवाफले मेरो खुसि दोब्बर भयो| आज स्कुटर किन्नुको निर्णय सहि लाग्न थाल्यो|
“भाउजु, मैले पनि ट्रेनिंग लिन मिल्छ?” यदि यो प्रश्नको जवाफ पनि सकारात्मक आयो भने, आज खुसि मनाउनलाइ दुइ बोतल बियर पिउछु|
“ मिल्न त किन नमिल्नु? तर मैयाले ट्रेनिंग लिएर के गर्नु हुन्छ? काम त गर्नु हुन्न होला| काम गर्ने भए पनि हजुरले खोजे जति पैसा हुदैन मैया|” भाउजुको जवाफले खुसि बनायो मलाई| उहाले पैसाको कुरा पनि उल्लेख गर्नु भयो र पैसा मेरो प्राथमिकता हैन|
“ भाउजु, मैले पैसाको लागि गर्न खोजेको हैन| मलाई समय काट्न गाह्रो हुदै छ, के गरु गरु हुन्छ| यति भएसी कम्सेकम समय काट्ने भाडो पाउछु|” मैले यत्ति भन्ना साथ, भाउजुले फोन निकालेर कसैलाई फोन गर्नु भयो| उहाले ट्रेनिंगको म्यामलाइ फोन गर्नु भएको रैछ| भोलि देखि म पनि तालिममा जाने पक्का भयो|
“म हजुरलाइ सधै बिहान बिहान लिन आउछु नि त है भाउजु| बेलुका पनि संगै फर्किनु पर्छ|” एक ठाउ नै जानु छ दुवै, संगै किन नजानु? मैले भाउजुलाइ केहि प्रस्ताभ गरे|
“बेलुका फर्किदा संगै फर्कौला मैया| बिहान त म पाउरोटी फ्याक्ट्रीमा हुन्छु| ५ बजे देखि १० बजे सम्म त्यहि काम गर्छु|” एउटा परिवारको सदस्यले कति मिहिनेत गर्नु पर्छ आफ्नो जहान चलाउन| दाइलाई सक्दो सहयोग गर्न मन छ| मदत गर्नुको कारण माया हो तर दाइले दया सोच्नु भयो भने, उहालाई नराम्रो लाग्नेछ तर उहा भन्दा धेरै नराम्रो मलाई लाग्ने छ|

होटेल फर्किदा ९ बजि सकेको छ| बियर खाने इच्छा मरी सक्यो| होटेल पुग्ने बित्तिकै ओछ्यानमा पल्टिए र निन्द्राको नगरीमा पुगे| बिहान उठेपछी एक कप कफी र केहि नास्ता| केहि नया सुरुवात गर्दैछु, ताल बाराही पुगे, भगवानलाइ धन्यबाद दिनलाइ| १०:३० मा तालिम पुग्नु पर्ने, समयमा नै पुगे|
नया ठाउ, अनि केहि भिन्न अनुभव बटुल्न जादै छु आजबाट|

Previous article
Next article

Latest Posts