केहि नजिकिएका छौ म र सनिरा,भेटेको हिजो जस्तै लाग्छ र साच्चिकै भेटेको हफ्ता दिन पनि भएको छैन| शुक्रबार ११ बजे रातको ११ बजे तिर मेसेज आयो सनिराको, सधै जस्तो ठमेलमा नै छु, पंकजसंग| पंकजलाइ सनिराको नाम थाहा नभएपनि, म कोहि नयाँ मान्छे संग दैनिक रुपमै बोल्छु भन्ने थाहाछ|
“के गर्दै हो हजुर?बोल्न मिल्छ? मिल्छ भने फोन गर्छु|” सनिराले पठाएको मेसेज जस्तोको त्यस्तै राखे हजुर सामु| अब मैले मिल्दैन भन्छु होला त? अह, भनिन, हुन्छ भने|
“साथि एकछिन फोन गरेर आउछु, अस्ति जस्तो ढल्ने हैन नि|” हामि बसेको ठाउमा हल्ला बेसी थियो, हल्ला भने भने अन्याय होला अरुको कलामा, गित गाउदै थिए अरु,त्यसैले पंकजलाइ जिस्काउदै एकछिनको लागि बाहिर निक्लिए| उसले पनि बुझ्यो र हास्दै हुन्छ भन्यो| बाहिर निक्लिए र फोन लगाए सनिरालाई|
“ हेल्लो, खाना खानु भयो?” सनिरको प्रश्न सामान्य हो तर उसलाई के थाहा अचेल मेरो शरीरलाइ खानाले भन्दा बेसी रक्सीले थेगेको छ भनि|
“ अलि अलि खाए, के गर्दैछस्?” अब उसलाई कसरि भन्नु मैले कि रक्सि र रक्सी संग अनेक थरि सितन खादै छु, त्यसैले यहि जवाफ नै उचित लग्यो|
“के हो त्यो अलि अलि भनेको?” मैले जे प्रश्नको जवाफ नदिनु परोस् भनि तार्न खोजेको उसले चाही त्यसमै अलि जोर गरि|
“खाना हैन,मोमो खाए, त्यसैले|” मेरो दिमागले यस भन्दा अरु गतिलो जवाफ भेट्न सकेन|
“त्यसो भए त्यसरी भन्नु न|” बल्ल उसलाई शान्ति भएछ|
“त्यसरी|” उसले आफ्नु प्रश्नको जवाफ पाई र मैले जिस्किने मौका|
“कस्तो जिस्किने के हजुर!” उसको जवाफ यहि आउछ भनि मेरो मस्तिस्काले अनुमान लगाईसकेको थियो, त्यसैले मेरो जवाफ मुखमा नै आइसक्यो|
“ मज्जाको जिस्किने नि,कस्तो जिस्किने हुनु|” थप जिस्किन लागे, जिस्किन भन्दा नि उसलाई वाक्क दिक्क बनाउन लागे|
“ह्य, छोड्नु यस्तो हावा कुरा| भोलि म के लगाएर आऊ?” कस्तो गाह्रो प्रश्न, उसलाई कुन लुगामा कस्तो देखिन्छ कसरि भन्नु मैले|
“बुर्खा लगाएर आइज, तलाई देख्दा अरुको सातो जादैन यति भएपछी|” उसको प्रश्नको मसंग उपयुक्त जवाफ नभएपनि, कुरा अर्कै तिर मोड्न र खिल्ली बनाउन चाही जानेको छु मैले|
“कस्तो जे पायो त्यहि हो के तपाइँ, बोल्दिन म|” उसले रिसाएको जस्तो गरेर घुर्की लगाउन खोजि, यो उसको बानि चाही मनपर्छ मलाइ|
“आज भगवानसंग बिहान बिहानै मेरो जीवनबाट सबै नराम्रो कुरा हटाइदिनु भनेको थिए, पुरा हुने भयो|” उसको घुर्की लगाउने बानि र मेरो जिस्किने, हेरम कसले जित्दो रैछ|
“अहिले साच्चिकै बोल्दिन अनि थाहा हुन्छ| भन्नुस के लगाएर आउ?” उसको यो वाक्यको मतलब जित पक्कै पनि मेरै भएको हो|
“ कुर्ता लगाएर आइज न| भेट्न चाही कहाँ भेट्ने र कति बजे भेट्ने?” रक्सीको नशामा छु, अझै कति बजे सम्म हो थाहाछैन, ठाउ र समय थाहा भयो भने अझै कति पिउने अड्कल हुन्छ|
“हजुर भोलि अरु केहि काम छैन नि है?कि कहिँ जानु छ?” कस्तो प्रश्न हो यो, हुन त खालि नै हुन्छु म तर उसले कहाँ जाने सोचिछे?
“१0 बजे पछी खालि नै छु|” बिहान उठेर एक पल्ट घर पनि जानुपर्छ नत्र गालि मात्र खाइन्छ, १० बजेपछिको समय नै उपयुक्त लाग्यो|
“त्यसो भए पाइलट बाबा जाने, मलाई त्यो ठाउ जान यति मन छ|” उसले पाइलट बाबामा त्यस्तो के देखि कि जान मन लाग्यो, हैन फेरी अरुलाई पनि मनपर्छ त्यो ठाउ| मलाई भने खासै रमणीय लागेन त्यो ठाउ, म पनि के के न होला भनि गएको थिए | तर उसलाई यो कुरा भनिन, फेरी मैले जान नखोजेको जस्तो हुन्छ कि सोच्ली उसले|
“हुन्छ, म तलाई लिन आउछु बिहान|” उसको कुरामा सहमति जनाए, मन थिएन त्यही पनि|
“किन आउनु हजुर, मैले ठिमी सम्मको बाटो देखेको छु कि हजुरले भुल्नु भयो, मसंग पनि स्कुटर छ भनि|” उसले भने जस्तै साच्चिकै भुले उसको स्कुटर छ भनि, कहिले देखेको थिइन,याद पनि कसरि होस्|
“त्यसो भए तेरो स्कुटरमा जाने,म बाइक ल्याउन्न| पछाडी मान्छे राखेर चलाउन त सक्छस नि?” उसलाई जिस्काउने मौका कहिले छाड्दिन म र यदि मौका छैन भने आफै मौकाको सृजना गर्छु|
“अस्ति मेरो साथीले यस्तै भन्दै थियो,अहिले तर्साउछ बेला बेला उसले मलाइ|” तर्साउछ रे, उसले के भन्न खोजेको बुझ्न सकेन मेरो दिमागले| उसलाई स्कुटर हाक्न मज्जाले आउदैन भनेको त हैन नि?
“ तर्साउछ रे? के भनेको ?” नबुझेको कुरो सोधे, गल्ति त गरिन होला|
“अनि मैले उसलाई लगेर भिरबाट झारी दिएनि त, अहिले भुत भएर तर्साउछ|” के के न होला भनेको,उ उल्टै पो जिस्किदै रैछे मसंग| सकिएन अब उसंग नि गफ गरेर| अरु थप केहि मिठा गफ बीच उसको सुत्ने बेला पनि भएछ, उ सुत्न गइ र म रक्सि पिउन|
“म सोल्टीलाइ खोज्न झन्डै बाहिर आएको, कहिँ सोल्टी आज आफै ढल्यो कि भनेर|” म भित्र पस्ने बित्तिकै पंकजले यति भनेर जिस्काउन पछी परेन| हासेर नै स्वीकारे उसको मजाकलाइ पनि| आज ठमेलबाट चाडै निक्लिएउ हामि दुवै, दुबैको सहमतिमा| पंकजसंग पाप रैछ तर कोठामा, यहि हो कारण चाडै निक्लिनुमा| चाडै निक्लिए पनि 4 बोतल बियर चाही साथमा घरनै लगेउ, आखिर शरीरले मागेको कुरा पुर्याइदिनु त पर्यो नि| सधै जस्तो नशामा नै निदाए र बिहान उठ्ने बित्तिकै घर पुगे| खाना खाए अनि तैयार हुन लागे,सनिरा मेरो लागि भनि राम्रो हुदै छे, अरु केहि नसकेपनि मैले नुहाउन सक्छु भनि नुहाए|
“ओइ छोरा सुन त|” तैयार हुदै थिए, आमाले बोलाउनु भयो, पक्कै पनि केहि काम लगाउन हुनुपर्छ|
“हजुर आमा|” जुत्ता लगाईसकेको छु,घर भित्र पस्न फेरी जुत्ता खोल्नु पर्छ, त्यति जागरिलो हुन मन लागेन|
“हजुर आमा भन्ने हैन हजुरआमा भन्ने चाहियो अब घरमा| त कहिले हुन्नस् घरमा, हामीलाई एक जना बोल्ने र भुल्ने मान्छे भए पनि हुन्छ घरमा|” आमाले बुझ्नु भयो, म किन यति राम्ररि तैयार भएर बाहिर जादै छु| आमाले आफ्नै पाराले जिस्काउनु भयो मलाई|
घरबाट हिडेर चौक पुग्न ५ मिनेट लाग्यो, चौक पुगेर ५ मिनेट पर्खिनु पर्यो सनिरालाइ भेट्नु अघि| उ अलि ढिलो आइ या म अलि चाडै पुगे, खै| अरुको लागि सामान्य होला तर म पहिलो पल्ट कुनै केटीको स्कुटर पछी बस्दै छु, भिन्न महसुस अबस्य हुदै छ तर खै के महसुस हुदैछ के| एउटा दोबाटोबाट बाया जानु पर्ने, गफैको तालमा दाया गइयो| लगभग १५ मिनेटपछि मात्र थाहा भयो जब बाटो खल्त्यांग खुल्तुंग भयो र मेरो हात उसको कम्मरमा पुग्यो, अनि सोचे बाटो यति बिग्रिएको त थिएन| कटुन्जे पुगिएछ| जुन बाटो आएको त्यहि बाटो फर्किनु पर्ने भयो, फेरी पनि बाटो बिग्रेको नै छ, थाहा नपाई हात उसको कम्मरमा पुग्ने र पुग्ने बित्तिकै हात हटाउने मैले|
“मैले हटाउन भनेको छैन, समाए हुन्छ नत्र लड्नु होला|” मलाई अप्ठ्यारो महसुस भएको सायद बुझी उसले र मलाई सजिलो महसुस गराउन उसले आफ्नु पुरै कोशिस गरि|
“अनि राख्नु पनि भनेको छैनौ नि|” खुरुक्क उसले भनेको मानको भए हुन्थियो मैले तर खै जे कुरामा पनि नचाहिदो तर्क गर्ने बानि लागेको छ|
“मैले केहि नभन्नुको मतलब त्यहि हो|” उसले यति भनि र म फेरी केहि उत्पत्यांग जवाफ दिन्थिए होला तर उसले जवाफ संगै मेरो हात आफै उसको कम्मरमा लगेर राखी| सुरुमा हात राख्न गाह्रो मान्ने म नै थिए तर बिस्तारै उसलाई पछाडीबाट अंगालोमा नै कसे| बाटोमा एउटा यस्तो ठाउ आयो जहाँ ठाडो उकालो थियो, त्यहाँ चाही उ पछी बसी र मैले स्कुटर चलाए| मैले संकोच माने पनि, उसले कुनै संकोच बिनानै मलाई पछाडीबाट अन्गालोमा कसी|
केहि उसको फोटो अनि केहि हाम्रो फोटो, अनि एक छेउमा बसेर एक घण्टा जति गफ, यसरि नै सकियो पाइलट बाबाको यात्रा| फर्किनलाइ तैयार भएर हामि गेटमा पुगेउ र मेरो आखाँ कसैमा पुग्यो| भर्खर एउटा जोडी पस्दै छन् पाइलट बाबा भित्र, त्यो जोडी प्रकाश र निष्ठाको हो| निष्ठालाई पागल जस्तो कहाँ कहाँ खोजिन मैले, उसलाई भेट्नलाई के गरिन मैले, र आज निष्ठालाई अचानक भेट्न पुगे त्यो पनि यहाँ,जहाँ मलाई आउन मन एक रत्ति पनि थिएन| कस्तो अचम्म, जीवनले पनि कहाँबाट के ल्याएर राखिदिन्छ अगाडी|
निष्ठाले मलाई ब्लक गरेपनि मैले एउटा फेक आइडी बनाएर उसको फोटोहरु हेर्ने गरेको छु, त्यसैले त्यो केटा प्रकास भनि चिने मैले| एउटा कुरा भनेको छैन मैले कसैलाई, निष्ठालाई भेटिन्छ कि भनेर म अहिले पनि पंकजको घरबाट फर्किदा मैतिदेबी हुदै फर्किन्छु, बिर्सिन खोजेर पनि नसकेको हो निष्ठालाइ| तर आज उसलाई प्रकाशसंग देखेर मेरो मन नै मर्यो| निष्ठाले पनि मलाई देखि, मैले उसंग बोल्न खोजिन र उसले पनि सायद| सनिरको हात समाए र उसलाई आफु तिर तानेर अन्गालोमा हाले, निष्ठालाई देखाउनको लागि भएपनि| निष्ठा पाइलटबाबा नै थिइ तर म पाइलटबाबाट फर्किदा बाटोभरि उसको अनुहारको झझल्को र उसको याद मेरै वरिपरी घुम्न लाग्यो| एकछिन भक्तपुर दरबार पनि जाने भनि जिद्दी गर्न लागि सनिराले र मैले हुन्न भन्न सकिन,खोजे तर उसको जिद्दी सामु हारे म| ठिमी पुग्दा 3 बज्यो र छुट्टिने बेला पनि भयो,सनिरालाई बाइ भनेर म घर जाने बेला भयो|
“ओइ भुलक्कड, किताब लग|”सनिराले यति भनेर समय त्रासदी मेरो हातमा राखिदि र किताबसंग एउटा सानु बट्टा पनि,सजाइएको छ यो बट्टा|
घर पुग्ने बित्तिकै सनिराले दिएको बट्टा खोले, किरिन्ग छ बट्टा भित्र| “ बाइक राम्ररि चलाउनु है| जति ढिलो आएपनि पर्खेर बसेकी हुन्छु म|” लेखिएको छ किरिन्गमा| किरिंग भित्र बाइको चाबी गयो र मेरो दिमागमा एउटा प्रश्न| “सनिराले कहिँ यो किरिन्ग मार्फत मलाई प्रेम प्रस्ताभ त राखेको हैन| बगलीबाट फोन निकाले, सनिराको नम्बर खोजे र ……
