बितेक 4 दिन उही भएपनि,आज चाही केहि भिन्न भयो| आफैलाई बिस्वास गर्न गाह्रो पर्यो मलाइ, उहाले जवाफ खोज्नु भएको थियो तर मैले केहि बोल्न नै सकिन, मैले आशै नगरेको कुरा उहाबाट आएकोले होला|
“मैले हिजो एउटा रचना लेखेको छु,पढ्छौ?” अस्ति मैले आफैले माग्दा खोजेर पढ भनेको कुरा कसरि भुल्नु मैले, आज आफै पढ्छौ रे, खुसि लाग्यो,मैले चाहेको जस्तै उहा मसंग खुल्दै हुनु हुन्छ|
“किन पढ्नु नि,हजुरको शब्द हजुरबाट सुन्ने,वाचन गर्नुस् न|” जसरि उहा मसंग खुल्दै हुनुहुन्छ, म पनि उहा संग खुल्दै जानु पर्यो नि|
“म लेखक हो, मेरो काम लेख्ने हो,वाचन गर्ने हैन|” मैले जति मिठो गरि उहालाई अनुरोध गरे.त्यति नै खल्लो बनाउने गरि उहा सधै जसो फेरी रुखो हुनु भयो| खै मलाई अचानक के भयो, म कपडामा लागेको त्यो दाग जस्तै जिद्दी भए,जसलाई सर्फ एक्सेलले पनि मेट्न सक्दैन| याद नै छैन मलाई,मेरो जिद्दीपन सामु कसैले जितेको,आज पनि त्यहि भयो,बिस्वासले वाचन गर्न लाग्नु भयो आफ्नु रचना| उहाले पहिलो दुइटा वाक्य वाचन गरि भ्याउदा चाही म पक्का भए,उहा काममा र लेख्न जति उत्कृस्ट हुनहुन्छ,त्यसभन्दा कैयो गुना उत्कृस्ट झुठो बोल्न हुनुहुन्छ| अघिसम्म वाचन गर्न आउदैन भन्नु हुन्थियो,अहिले यति मज्जाले वाचन गर्दै हुनुहुन्छ,खै म के भनु| वाचन उहाले मेरो लागि गर्दै हुनुहुन्थियो तर वरी परिका दुइ तिन जनाले पनि सुने त्यो वाचन, त्यसपछि उहाको के नै लाग्छ र ,उहाको एउटा हातमा मोबाइल पहिले देखि थियो,अब अर्को हातमा माइक पनि आयो| केहि उहाले नाई भन्ने कोशिस गर्नु त भयो तर त्यहाँ भएका सबैको अनुरोध आएपछि,उहाले गर्न सक्ने र पर्ने भनेको वाचन नै थियो|
सुन्दै जाड़ा एकछिन जिउ नै सिरिङ्ग भयो, काडा कुन बेला उम्रिए जिउमा,पत्तो भएन| उहाको अन्तिम वाक्य पछी जब सबैले तालि बजाए,उहा कति खुसि हुनु भयो त्यो अनुमान मात्र गर्न सक्छु म तर म चाही निकै खुसि भयो,यो चाही मेरो अनुमान हैन दाबि हो| उहाको खुसीमा नै आफ्नु खुसि पाउदि रैछु मैले,यो कुरा पनि भर्खर भर्खरै जानी नजानी चाल पाए| खुसि त भए तर डर पनि लाग्दै थियो, बिस्वासले अब के भन्ने हो मलाई| सुरुमा मेरो लागि मात्र पनि वाचन गर्न मान्नु भएको थिएन तर पछी २५-३० जनाको लागि वाचन गर्नु पर्यो उहाले,त्यो पनि मेरो कारणले,रिस उठेको होला उहालाई| त्यहाँ भएका सबैले तालि बजाए र कत्तिले बिस्वासको नाम सोध्दै प्रसंशा पनि गरे, म चाही उहाकै छेउमा बसी खुसि हुदै थिए|
मैले एउटा कुरा भन्न बिर्सिएछु,मैले भने नि,कुरा भन्न बिर्सिने नराम्रो बानि छ मेरो| जहिले उहाले पैसा तिर्ने,आज चाही म तिर्छु भनेर हिजै ढिप्पी गरेकि थिए मैले र दुवै सहमत पनि भएका थियौ हिजो| काउन्टरमा गएर पैसा दिन खोजेको, लिनै मानेन त्यहाको मान्छेले,सरले मन छुनु भयो आज,पैसा लिए भने पाप लाग्छ| अघि मेरो जिद्दी अघि बिस्वासको केहि लागेको थिएन,अहिले चाही काउन्टरमा बसेको जिद्दीको अघि मेरो केहि लागेन| बिस्वासले मात्र सुन्ने गरि केहि भन्न मन लाग्यो “अर्को पालि चाही म नै दिन्छु है पैसा|” र भने पनि यति कुरा| उहा हास्नु भएन, यसको मतलब मैले के बुझ्नु,उहाको रिसाउनु भएको हो त? त्यहाबाट सिधै मेरो घरमा रोकियो बिस्वासको बाइक, उहालाई मेसेज गर्न मन थियो तर उहा रिसाउनु भएको छ भन्ने थाहा हुदा हुदै,मेसेज गरेर झन् रिसाउनु भयो भने|
बिस्वासले वाचन गरेको रचना के थियो,भने मैले?छैन होला, उहाले त्यसको शिर्षक “म बाचें” राख्नु भएको थियो,त्यसको एक एक शब्द मेरो कान हुदै मुटुसम्म नै पुगेको थियो| सायद हजुरहरुलाई पनि यस्तै हुन्छ कि,ल पढ्नुस्:
<<>>मेरो बिस्तरा जहाँ हरेक रात आखाँ चिम्म गरेर आकाश छोएको सपना देख्ने गर्थे म | अहिले पनि बिस्तरा उही छ र आखा पनि तर मेरो सोच त्यो पंखा झुन्डिएको फलाममा सिमित छ,जहाँ सधै म आफुलाई झुन्दिएको पाउछु | सुनौलो समयको पर्खाईमा रहेको म,त्यहि समय हेर्ने हत्केला ठाउँ ठाउँमा काट्न उत्सुक हुन्छु | हो यहि मुख हो जसमा आमाले बच्चा बेला “को खाई को खाई “ भन्दै मायाको साथ लिटो खुवाउनु हुन्थियो तर अहिले त्यहि ओठले म बिष चुम्न तैयार छु | मनमा यस्ता धेरै नकारात्मक सोचहरुको उत्पति हुन लागेको पनि धेरै भयो | स्वाभाविक नै लाग्यो यी सोचहरुले मेरो मनमा दिन प्रति दिन ठुलो स्वरूप लिएको |
बढ्दो उमेर संग काधमा जिम्मेवारी र Marksheet मा तारा उत्तिकै रुपमा बढ्दै थियो | आकाशमा हुदा आकाश नै सजिएको हुन्छ,बर्दीमा थप्पिदा शान नै बढ्छ बर्दीको तर Marksheet मा जब यी ताराको उपस्थिति नियमित हुन लाग्यो ,तब मेरो जिबनमा अरु केहि नबढे पनि हिंबोधता चाही औधी नै बढ्यो | हरेक वर्ष घरपेटीले भाडा बढाए जसरि नै, भगवानले पनि मेरो जिबनमा बाधा बढाउन केहि कसर बाकि राख्नु भएन | ताराले सजिएको Marksheet ले कहिँ जागिर पाउनु भनेको त्यस्तै हो, बुवाले केहि भनसुन गरेर लाइदिएको जागिर पनि चिप्लिएर गयो हातबाट | खल्ती खालि मात्र भएको थियो,प्वाल भनेको परेको थिएन तर मिल्ने साथिहरु सिक्का झैँ कहाँ झरे झरे | कुरा सुनिदिने र बुझिदिने एउटा मोरी थि तर संघर्षको पहिरोमा, त्यो मोरीको माया पनि कहाँ पुरियो पुरियो |ऋषि धमाले भन्दा नातेदारको प्रश्न सुरु भयो भबिस्यमा के गर्छस भनेर | जिम्मेवारीको बोध त्यो पल झन् बढ्दै गयो ,जब काठमाडौंमा गाडी जस्तै आफ्नु गालामा दारी छ्याप छ्याप्ती भयो र नेपालको सिमाना जस्तै बुवाको शिरबाट कपाल कम हुँदै थियो| आमाको फुल्दै गएको कपाल र भुल्दै जाने बानिले पनि घरमा बुहारी नानि चाहियो भनेर संकेत गर्दै थियो| तर यहाँ आफु आफ्नै ज्यान पाल्न गारो भएको क्षनमा, घरमा अझै एउटा सदस्य थप्ने कुरा नि आउन्न| नेताले बोलि परिबर्तन गरे भन्दा धेरै, मैले चिया चुरोट खाने अड्डा परिबर्तन गर्नु परेको छ | नपरोस पनि किन न नपरोस्, एकै ठाउमा धेरै उधारो कति माग्नु | अरुले त छोडे छोडे, निन्द्राले पनि बिस्तारै छोड्दै गयो: भनेको बेला कहिले न आउने | र अन्त्यमा आफ्नु सहनशीलताले पनि हार मान्यो |
गाउलाई नचाउदै छोराको जन्ती लग्ने सोच थियो बुवाको तर आज उही बुवा आखाँ रसाउदै त्यहि छोराको मलामी जादा कस्तो हुन्छ होला उहालाई | हरेक बेला मनमा एउटा प्रश्न खेल्ने गर्थियो,आफ्नु जीवन त्यागेर आत्महत्या गर्ने व्यक्ति सहासी कि कायर? एक मनले सोच्द थियो समस्या भनेको त जिबन भरि आइरहन्छ, एउटाबाट भाग्यो अर्को आउछ ,भागेर सकिन्न,बरु एउटा समस्या संग लडे अर्को संग लड्ने हौसला आउछ र लाग्थ्यो आत्महत्या कायरले गर्छन्| मनै त हो ,अर्को पट्टिबाट सोच्दा ,आफुलाई दशैं बेला कुखुराको प्राण लिदा डर लाग्छ ,झन् आत्महत्या गर्नेले त आफ्नै प्राण त्याग्छन्,उनिहरु साहसी नै लाग्थियो | यो प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन मैले | अहिले मैले आफ्नै अगाडी अस्ति भर्खर बुवाले किनेर ल्याइदेको बेल्टको पासो बनाएर राखेको छु र गलामा भिड्न तैयार छु | फेरी अर्को प्रश्न आयो मनमा| यो मेरो जित हो कि हार ?एकछिन सोचे र लाग्यो ,यो जित त कदापी हुन सक्दैन ,फेरी हार मेरो एक्लोको मात्र पनि हुन्न | म संगै मेरो बुवाको आदर्श,आमाको माया-ममता,साथि भाइको साथ,नातेदारको बिश्वास र मेरो आफ्नै हिम्मत पनि हार्नेछन् र जित केवल मेरो मनमा कब्जा गरेर बसेको डर र पीडाको हुनेछ जब उनिहरु हिजो डेरा लगाएर बसेका जाबो दुइ दिनको पाहुना मात्र हुन् | यहि सोचहरु बीच,त्यो पासो बनाएको बेल्ट फुकाले मैले र आफ्नु फुस्किन लागेको पाइन्टभित्र हाले र बेल्टले पाइन्त्लाई सहारा दिए जस्तै,आफ्नु परिवारको भएर बन्ने अठोट लिदै म बाचें|
तर पनि मैले भेट्न नसकेको सपनाको छठमा झुन्दीएको असफलताको डोरीले,हरेक रात मेरो हिम्मत र आशाको घाटी थिच्दै जान्छ र यसरी मेरो आत्माको हत्या हुन्छ ।<<>>
हजुरहरुले यति पढेर सकी सक्नु भयो तर पनि म अझै दोधारमा छु,बिस्वासलाइ मेसेज पठाउ कि नाई भनि| उहा रिसाको भए कसरि फकाउनु उहालाई, शोभा गएपछि उहा मात्र हुनु हुन्छ जो संग म भुल्लिदै छु, उहा पनि हुनु भएन भने म त एक्लो हुन्छु,मानौ खहरे खोला जस्तै,जसमा बर्सामा बाहेक कहिले हर्षको भेल आउदैन| मनको यस्तै अन्तर द्वन्द बीच, बिस्वासको फोन आयो,पहिलो पल्ट हो उहाले यति राति फोन गर्नु भएको, रिसाएर रातो पिरो हुनुहुन्छ जस्तो छ उहा|
