म जे गर्दै छु गलत गर्दै छु महसुस भयो र आसिफको फोन उठाए। आसिफको आवाजमा चिन्ता पनि थियो अनि आक्रोश पनि। गल्ति मैले गरेको थिए, माफी उसले माग्दै थियो। मेरो मन पत्थर हैन तर म पत्थर जस्तो बनिदिए। आसिफको भावनाहरुले मलाई केहि असर नगरे जस्तो देखाइदिए। म आफु भित्र रुदै थिए, आफुलाई सराप्दै थिए, मैले यस्तो गर्नु हुन्थिएन तर आसिफसंग कठोर बनि कुरा गर्न लागे। म आफै आक्रोसित भए जस्तो नाटक गरिदिए। जब म रिसाए जस्तो गरे, उसको आवाजमा रहेको आक्रोशको भावनाको ठाउ ग्लानि र पिडाले लियो। रिसाउनु पर्ने उ हो तर उ नै माफी माग्दै छ। उसले मलाई फकाउन कुनै कसर बाकी राखेन। म किन फर्किएको भनि कारण बुझ्न तर मैले जानी जानी चाहिने नचाहिने कुरामा निउ खोज्दै गए।
म त पत्थर बनेको नाटक गर्दै थिए, त्यसैले उसले के बोल्दै छ र के भन्न खोज्दै छ, यी सबले मलाई केहि असर गरेन। पत्थरलाई भावनाको रसले कहाँ नरम बनाउछ र? बरु पत्थर फुटी जान्छ तर नरम हुन्न। कति कोशिश गरोस् आसिफले मलाई मनाउने। आखिर उसले पनि हार मान्नु पनि निश्चित नै थियो। तर मैले उसलाई थप कोशिश गर्न नै दिन। मैले आफुले जे भन्नु थियो, त्यो सबै भने अनि फोन राखिदिए। केहि कठोर शब्द अनि केहि अपशब्द पनि प्रयोग गरे मैले। आसिफलाइ पनि केहि आरोप लगाए। आसिफलाई आरोप लगाउनुको कारण अरु केहि हैन, उसलाई रिस उठाउनु हो। जब जब उसले हामी बिचको यो बार्तालाप सम्झिन्छ, उसलाई रिस उठोस्, र उसले मलाई नसम्झियोस भन्ने चाहना हो मेरो। आसिफ र मलाई उत्तिकै गाह्रो भएको हुनु पर्छ तर बाध्यता मेरो, मैले सोच्न सक्ने, अनि मैले सोचेको, कदम अनि पश्चताप यहि थियो। फोन राख्ने बित्तिकै मैले फोन अफ गरिदिए।
बोल्दा बोल्दै म भक्कानिएर रुन लागेको थिए तर आफुलाई सम्हालेको थिए। थप केहि बोल्नु पर्यो भने पक्कै पनि भक्कानिएर रुन्छु पक्का थियो, त्यसैले पनि फोन अफ गरेको हो। नत्र फेरी आसिफले फोन गर्थियो र …. यसपछि आसिफले फोन गर्यो गरेन थाहा छैन। दिन भरि म आफ्नो ओछ्यानमा रुदै थिए। कहिले आसिफलाइ सम्झिएर रुन्थिए भने कहिले आफुले निश्चललाइ गरेको धोका सम्झी। बेलुका सम्म म निकै कम्जोर भइसकेको थिए। आसिफले फेरी पनि फोन गर्यो। समय थाहा छैन तर मेरो जीवन जस्तै आकाशमा पनि अन्धकार थियो। मैले उसको फोन रिसिभ गरिन र उसलाई ब्लक लिस्टमा हालिदिए। त्यो दिन पछी मलाई आसिफले कहिले फोन गरेन।
निश्चल शुक्रबारको दिन काठमाण्डौ आइपुग्नु भयो अमेरिकाबाट। म अहिले सम्म मनमा ग्लानिको भावको भार बोकेर बाच्दै थिए। कति कोशिश गरे तर बर्दिबासको घटना भुल्न नै सकिन। जुन कोणबाट सोच्दा पनि, मैले आफुलाई दोषी पाउदै थिए। मैले आफ्नो गल्तिको बोझ आफ्नै मनमा लुकाएर राख्न नसक्ने भए। मलाई मेरो नैतिकताले त्यस्तो गर्न दिएन। मैले निश्चललाइ भन्ने निर्णय गरे।आउने बित्तिकै हैन तर सहि समय खोजेर। निश्चल आउनु भयो, मेरो अगाडी हुनु हुन्छ, मैले हास्न खोजे र हासेको जस्तो पनि गरे। मसंग निश्चलको भाइ पनि हुनुहुन्थियो।
“नेपालमा कुलमान आएसी लोडसेडिंग गए भनेको सुनेको थिए।तिम्रो अनुहारमा त अहिले पनि अन्धकार नै छ नि!” निश्चलले मेरो अनुहार पढ्नु भयो।
“भाउजुको कुलमान त भर्खर आउनु भयो नि।” देवर बाबुले जिस्केर भन्नु भयो तर मेरो ठुलो सहयोग भयो यसले गर्दा।
त्यो दिन देखि मैले कति पटक कोशिश गरे निश्चललाइ मैले गरेको गल्ति बारे भन्ने तर सकिन। निश्चलले आए देखि मलाई उहाँको बारे भन्दै हुनुहुन्थियो, यता के गर्ने उता के गर्ने भन्दै हुनुहुन्थियो। उहाँ कति खुशी हुनुहुन्थियो र मेरो सत्यले त्यो खुशी बिथोल्ने थियो। धर्मसंकटमा परे। यदि मैले उहाँलाई भनिन भने, उहाँलाई यो कहिले थाहा हुन्थिएन र यसले हाम्रो सम्बन्धमा केहि असर पार्थिएन। हामी जहिले खुशी हुन्थियौ तर मेरो मनमा यो भार जहिलेको लागि हुन्थियो। यदि भनु भने, सबै खुशीको हत्या हुन्थियो तर म हलुको हुन्थिए। मेरो लागि ठुलो धर्मसंकट थियो यो।
“तिमीलै अस्ति देखि सरि भन्छु भन्थिए, बिर्सिएछु।” निश्चलले यस्तो भन्दा म अवाक परे। गल्ति मैले गरेको थिए तर निश्चलले के को लागि माफी माग्न खोज्दै हुनुहुन्छ?
“लौ किन नि? के को सरि हो?” मैले बुझ्न खोजे। सायद यहि मौका हो मैले पनि आफ्नो गल्ति उहाँलाई बताउने।
“ तिमीलाई कत्ति ठाँउ जान मन थियो है, के के गर्न मन थियो है तर कति चाडै हामी अमेरिका जानु पर्ने भयो। मैले नया job पाएको छु, काम राम्रो छ र पछी सम्मलाइ हुन्छ। त्यसैले पछी बिदा नमिल्ने र अहिले पनि यसभन्दा धेरै बिदा नमिल्ने, त्यसैले हो।” मलाई निश्चलसंग यहि कुराको गुनासो थियो र निश्चलले बुझ्नु भएको रैछ। उहाँले जब कारण भन्नु भयो, म भक्कानिएर रोए। मलाई आसिफसंग बिताएको त्यो रात याद आयो। मैले अधिक मात्रामा रक्सि सेवन गर्नुको कारण पनि यहि थियो। निश्चलको यस्तो मजबुरी नबुझी मैले अरु पुरुष तिर आकर्षित भए। म जस्तो मुर्ख र म जस्तो पापी को होला? मैले अब आफ्नो मनको भावना थाम्न सकिन र निश्चललाइ भन्ने निर्णय गरे।
म: “मैले हजुरलाइ धोका दिएको छु। मैले हजुरको बिश्वास तोडेको छु।”
निश्चल: “मतलब के भन्न खोज्दै छौ?”
म: “म बहकिए एक पटक । रक्सि बहाना बनिदियो, म होशमा थिइन।आवेगमा भनौ कि आबेशमा, तर मैले एक पटक कोहि अरुसंग….”
निश्चल: “Are you out of your mind? के भन्दैछु तिमी?”
म: “मलाई थाहा छ मैले गल्ति गरे। माफी पाउने भए म जे पनि गर्न तैयार छु तर मेरो गल्ति माफी योग्य गल्ति हैन थाहा छ मलाई। धेरै दिन देखि मैले मनमा राखे यो कुरा। हजुरलाई भन्न खोजे तर सकिन। तर भन्नु थियो, हजुरलाइ धोका दिनु थिएन।”
निश्चलमाथि के बित्दै थियो थाहा छ मलाई। उहाँले यस्तो केहि हुन सक्छ भनि सोच्नु पनि भएको थिएन। उहाँले कति भावना लुकाउन खोज्दै हुनुहुन्थियो तर सफल हुनु भएन। मैले एक एक भने उहाँलाई । कसरि, कहाँ अनि कहिले भयो यो सबै भनि।
मेरो छेउबाट उठेर जानु भयो निश्चल। उहाँको मुहारमा आक्रोश र निरास्ता मात्र थिएन, अरु धेरै भावनाहरु थिए जसको लागि मसंग शब्द छैन। उहाँ उठेर सोफामा जानु भयो र सोफा छेउमा रहेको किताब भुइमा फ्यालिदिनु भयो। त्यसपछिको दश मिनेट, न उहाँले केहि बोल्नु भयो, न मैले केहि बोले। म बोल्ने स्थितिमा थिइन, मैले बोल्ने केहि थिइन् ।निश्चल पनि चुप हुनुहुन्थियो र घोरिएर बस्नु भएको थियो। एकछिनको मौनता पछि निश्चल बोल्नु भयो।
निश्चल: “तिमीले गल्ति गरेउ, गर्नु नहुने गल्ति गरेउ। मैले चाहेर पनि तिमिलाइ माफ गर्न सकिरहेको छैन र मेरो रिस पनि शुन्य भएन। मलाई थाहा छैन मलाई कति समय लाग्छ तिमीलाई माफी दिन। एक दिन, दुइ दिन या महिना बर्ष वा जुनी। तिमीले मलाई सबै भनेउ मतलब तिमीलाई आफ्नो गल्तिको पश्चाताप छ। तर म तिमी जस्तो महान छैन, मलाई केही समय चाहिन्छ। घर, परिवारलाइ भने भने सबैले एक कान दुइ कान गरेर थाहा पाउने छन् अनि बदनामी दुबैको हुन्छ। निर्णय म गर्दिन, निर्णय तिमी गर तर म के भन्छु भने, यदि तिमीलाई मन लाग्छ भने तिमी मसंग हिड अमेरिका। त्यहाँ हामि संगै छौ को मतलब यो हुने छैन कि मैले तिमीलाई माफी दिए। हामी संगै भएर पनि संगै हुनेछैनौ र यहि हो तिम्रो सजाय। जुन दिन तिमीलाई लाग्छ, कि तिम्रो गल्तिको भार शुन्य भयो, त्यो दिन फेरी हामी संगै हुनेछौ अनि मैले पनि तिमीलाई माफि दिन सक्ने हुनेछु सायद त्यो पल सम्म। निर्णय तिम्रो, तिमी जाने कि यहि बस्ने।”
मैले धेरै सोचे। आफ्नो सोचे, परिवारको सोचे, भबिस्य सोचे बर्तमान सोचे र अमेरिका जाने निर्णय लिए। त्यो दिन देखि हामी संगै छौ तर पनि संगै छैनौ । अरुको लागि भए पनि, अरुको अघि हुँदा खुशी छौं देखाउछौ र बोले जस्तो गर्छौ तर हामी दुई मात्र हुन्छौ, हामी बीच मौनता मात्र हुन्छ। दुवै एउटा कोठामा पनि हुन्नौ। म उहाँसङ अाँखा मिलाउन सक्दिन र उहाँको अनुहारमा अर्कै भाव हुन्छ।
आज मेरो फ्लाइट छ। बेलुकाको समय, एक अन्तिम पल्ट पार्लर पुगे। आफ्नो ठाँउको माया लाग्ने। सबैलाई भेटेर तलको कफी पसलमा आएर कफी पिउदै थिए। म एक्लै थिए। एक अन्तिम पल्ट आसिफलाइ भेट्ने हो कि भनि सोच न आएको हैन तर मैले त्यो सोचलाइ हाबी हुन दिन। एकछिनमा के देख्छु, आसिफ बाइक लिएर मेरो अगाडी उभिएको छ। मैले उसलाई देखे तर उसले मलाई देखेको छैन। उसको बाइकको पछाडी एउटा केटि आएर बस्छे। केटीको हातमा ब्याग छ र उसले त्यो ब्याग छेउमा राख्छे।
आसिफले बाइक स्टार्ट गर्छ र भन्छ “त्यो ब्याग बिचमा राख्नु न है, छेउमा हैन।”
