मलाई झनक्क रिस उठ्यो| फोन राखे र सुत्न गए| उनले फोन गरेको गरेई पछी, झनै रिस उठ्यो र फोन अफ गरिदिए| धेरै पछी झगडा परेको| एक दुइ घण्टा नबोल्ने पहिले पनि हुन्थियो तर कुरा मिलि हाल्थियो| रिसाउने धेरै जसो उनि नै हुन्थीन्| तर यो पटक कहानी फरक छ| रिसाएको म थिए| जिन्दगि र बिहेको कुरालाइ लिएर कसले जिस्किन्छ के? भावनासंग खेल्ने मान्छेले जिन्दगिसंग खेल्दिन भन्ने के छ र?
झगडा परेको थियो, समाधान गर्नु पर्ने हो| यदि बहस गर्यो भने अझै झगडा पर्ला तर समाधानमा पुगिन्छ| मैले समाधानको बाटो नै रोजिन| त्यसैले मोबाइल अफ गरेको थिए| मलाई समाधान गर्नु नै थिएन| लाटो रिस उठेको थियो| मैले गल्ति गर्दै थिए तर उनले पनि नोबेल पुरस्कार जित्ने काम गरेको थिइनन्| मोबाइल अफ गर्ने निर्णय ठिक थिएन| मेरो अचम्मको बानि छ| रिसाएको बेला निन्द्रा धेरै लाग्छ| निदाए|
बिहान उठेर तैयार भए र अफिसको लागि हिडे| बाहिर रोजितालाइ देखे| उनि बिहानै म बस्ने घर अगाडी आएकि थिइन्| मेरो मोबाइल अफ थियो, त्यसैले उनि यहाँ आएको हुनु पर्छ| मेरो रिस ६० % सकियो| उनले गरेको गल्ति ठुलो थियो र उनले मेरो रिस मार्न जुन कदम चालेकी थिइन्, त्यो पनि कम थिएन| बिचरी चापागाउँबाट बिहानै चाहबेल आइन्| उनलाई हेरेर हासे र उनलाई मेरो पछी आउन इशारा गरे| आफ्नो बाइक चाहबेल स्तुपा गएर रोके|
बाइक रोकेर, बाइकबाट ओर्लिएको अर्को पलमा मेरो अँगालोमा रोजिता थिइन्| कति चाडै मलाई अंगालेकी| केहि बोलिनन् उनि केहि बेर सम्म| चुप नै थिइन्| झनै कसेर अँगालोमा हाल्दै थिइन्| उनको मनमा चैन थिएन, त्यसैले ठाउ ठाउमा कस्दै थिइन्| सुक्क सुक्क आवाज आयो| उनि रुदै पो छिन्| रोइहाल्नु पर्ने मैले केहि गरेको थिइन्| उनलाई आफ्नो गल्ति महसुस भयो या आत्मग्लानी भयो| त्यहि पनि यसरि सबैको अघि रुनु जरुरि थिएन| वारीपरिका मान्छेले हेर्दै छन्| उनलाई अंगालोबाट बाहिर गरेर, उनको अनुहारमा हेरे| दुवै आखाबाट आशुको धारा बगेको थियो| आशु पुछे उनको|
“के भयो? यसरि कोहि रुन्छन?” उनलाई जसरि पनि सम्झाउनु थियो तर उनि भने| “सरि, सरि|” भन्दै रुदै थिइन्| उनको आशु थामिएको नै थिएन| यसरि रुनु हुन्न अनि यस्तो सानो कुरा झगडा भइहाल्छ भनि कति सम्झाए|
“अब म यसरि कहिले जिस्किदीन| कहिले हजुरको मन दुखाउदिन|” मैले उनलाई अघिनै माफ गरिसकेको थिए| मेरो रिस पनि उहिले मरिसकेको थियो तर पनि उनले माफी माग्न छाडेकी हैन| फेरी अर्को किस्ताबन्दीमा सम्झाउनु पर्यो उनीलाई| बाहुनीलाई छुट्टिने बेला ब्राउनिको घुस दिए| धेरै पछी यति ठुलो झगडा भएको| यति ठुलो झगडा यति चाडै सकियो|
“त्यति बिहानै आउनुपर्छ त लाटी? अहिले बेलुका आएको भए पनि भेट भइहाल्थियो नि” बेलुका गफ गर्दा उनलाई प्रश्न गरे|
“म बेलुका त आएको हो|” कस्तो अचम्मको जवाफ| बिहान देखेको उनलाई, बेलुका नै आएको रे|
“के भन्छे? अहिले फेरी आउन लागेउ कि के हो?” नबुझे पछी सोधे उनलाई|
“हैन म हिजो बेलुका आएको थिए| हजुरको मोबाइल अफ थियो, guilty फिल भयो| के गरौ गरौ भयो| केहि सोच्न नै सकिन| बेलुका नै हजुरको घर अगाडी आएर बसे| फेरी बिहान भेट नभए भने, म रातिको पर्खाइमा अबसं सक्दिन थिए| मन भारि भएको थियो, त्यसैले रात भरि त्यहाँ बाहिर बसे| अनि बिहानै हजुरसंग भेट भयो|” कस्तो बच्चा बुद्धि उनको| बच्चा बुद्धि त मेरो हो| झगडा पर्यो भन्दैमा मोबाइल अफ गर्ने बेवकुफ म नै हो| मेरो बेवकुफीको सजाय उनले भोगिन्| यस्तो माया गर्ने मान्छेलाइ पनि कसैले यस्तो गर्छ? के भएको मेरो बुद्धि| अरे यार, कोहि आएर मलाई पटमुर्खको उपाधि देउ बरु| उनिसंग माफी मागे| अब देखि कहिले त्यसरी नरिसाउने अनि रिसाएपनि मोबैअल अफ नगर्ने कसम खाए|
“हजुरले घरमा भने जसरि नै बिहे दुइ बर्ष पछी मात्र गर्ने| मेरो पनि पढाइ सकिन्छ|” उनले फेरी बिहेको कुरा निकालिन्| बिहेको बिषय भएको कोइला जस्तै भएको छ| छुन डर लाग्ने| तातोमा छोयो हात पोल्ने डर, चिसो हुदा छोयो, हात कालो होला भन्ने पिर| बिहेको कुराले त डर पो लाग्न थालेको छ| जिस्किएको फेरी| अब फेरी म जिस्किए भनि तपाईहरु नरिसाउनु| नत्र सबै पाठकको घर अघि पुग्न असम्भव छ मेरो लागि|
फेरी सुरु भयो बिहेको गफ| अस्ति जे जे थियो, त्यहि नै दोहोरियो| अस्ति नै सबै योजना गरिसकेको थियौ| थोरै मात्र अबाकी थियो| त्यहि पनि छोरा पाउने कहिले कहिले…. जे जे बाकि थियो, त्यो सबै बिषयमा छलफल सुरु भयो| बिहे भब्य गर्न मन थियो| मलाई पनि भब्य तरिकाले नै बिहे गर्न इच्छा थियो| यो सोच दुबैको मिल्यो|
केहि कुरा चीत्त बुझेको थिएन मलाई| जस्तै बिहे कहाँबाट गर्ने, बिहेपछी कहाँ घर बनाउने तर खैर दुइ बर्ष बाकि छ| समयसंग मेरो सोच या उनको सोच, एक जनाको सोच त अबश्य बदलिने छ| त्यसैले पनि सहमति जनाईदिए|
आजको दिन सम्झिन योग्य थियो| बिहान देखि धेरै उतार चढाव भयो| बिहान रोजितासंगको त्यो पल| अनि त्यसपछि सबै साम्य भएको| त्यसपछि फेरी, साझमा रोजितासंगको अर्को बार्तालाप| सबै नै सम्झन योग्य छ| खै म के भन्दै छु है? मलाई आफै थाहा छैन| खुसि हो कि ब्याकुल हो म| कुरा सकेर फोन राखे|
सुत्ने राखरमा थिए नै, मेसेज आयो…
