“कुन बेला पुगेको तिमि?” चिडियाखानाको एउटा बेन्चमा बस्दै उनलाई प्रश्न गरे|
“अघिनै पुगेको| १५ मिनेट भएको थियो हजुर आउदा|” उनीबाट यति धेरै शब्द एकैचोटी धेरै पछी सुन्न पायो मेरो कानले| उनलाइ हात समाएर बसाउनु पर्यो नत्र उभी नै रहेकी थिइन् उनि|
“सन्चै छौ?” बोल्ने बिषय केहि पाइन, एकछिन सोचेर यति प्रश्न गरे| मलाई प्रश्न सोध्न केहि समय लागेको थियो, त्यो भन्दा अघि हामि बीच मौनता नै थियो| त्यो मौनता चिर्ने प्रयास मैले गर्दै नै थिए तर उनीबाट नि के त्यहि प्रयास हुदै थियो त? मलाइ लाग्दैन उनीबाट त्यहि प्रयास हुदै थियो भनि| उनले जवाफमा “उम्म” मात्र भनि| अब मसंग बोल्ने कुनै बिषय छैन, अघि जस्तै| भिन्न के छ भने, अघि सम्म बिषय खोज्ने इच्छा थियो त अब त्यो इच्छा मर्यो| उनिसंग रिसाउनु पर्ने होला म तर सकिन|
उनिमाथि माया लागेर आयो| माया भनेर गलत शब्द छाने मैले| उनिमाथि दया लागेर आयो| अनि आफु माथि घृणा लागेर आयो| मलाई यति माया गर्ने मान्छे रोजिता| मेरो लागि जे पनि गर्न तैयार उनि| मेरो लागि बदलिन तैयार भएर मेरो लागि बद्लिएकी उनि| अनि अहिले उनलाई हेर्नु पर्छ, पुरै बद्लिएकी थिइन् तर बदलावमा उनको नियत्न्त्रण भएन| अनि म यहाँ उनलाई सम्बन्धबाट मुक्त गर्न आएको छु| म कस्तो पापी मान्छे होला त| यस्तो माया गर्ने मान्छेलाइ मैले यस्तो हालतमा पुर्याए अनि अब यस्तो हालमा उनलाई छाडेर जान खोज्दै छु| म अपराधी हैन त? तर यो अपराध भन्दा अर्को ठुलो अपराध यो हुनेछ कि मैले उनलाई सत्य भनिन भने| उनलाई यथार्थ थाहाछैन| उनलाई अहिले पनि लाग्दैछ कि हाम्रो भबिस्य छ| उनलाई मैले यो झुठबाट बाहिर निकाल्नु पर्छ| तर म त्यति बलियो मुटु भएको मान्छे हैन| उनलाई सिधै भन्न सक्दिन| कसरि भनौ भनि सोच्न लागे|
“त्यहाँ चिम्पाजी छ रे| त्यसको नाम रोजिता हो रे| जाने हेर्न?” उनलाई जिस्काउन खोजे| कोपिला जस्तो उनको ओठमा हासो फक्राउन खोज्नु मेरो प्रयास थियो तर उनले “हुन्छ|” मात्र भनिन्| मैले उनलाई चिम्पान्जी भन्दा, उनले मलाई तर्के आखाले हेर्नु पर्ने हो, मलाई मायाले हिर्काउन खोज्नु पर्ने हो तर उनले हुन्छ मात्र भन्दा, म संग अब कुनै आश छैन अनि शब्द पनि|
“भोक लाग्यो| खाजा खान जाम है|” लगभग आधा घण्टा मौन भएर घुमेपछी, मैले उनलाई खाजाको लागि प्रस्ताभ गरे| फेरी पनि उनको जवाफ हुन्छ मात्र आयो| एक शब्द पनि नबोली हामि खाजा खानको लागि रेस्टुरेन्ट पुगेउ|
“म:म: भनौ?” मैले यति सोधदा उनले हुन्छ भनि|
“अरु के खाने?” मेरो यो प्रश्नको जवाफ उनले “जे भए पनि हुन्छ|” मा दीईन्| मैले जे सोध्दा पनि हुन्छ भन्ने| अचम्म के| अचम्म केहि हैन| किन उनि यस्तो भइन्| मेरो लागि मात्र यहाँ आएकी जस्तो गर्दैछिन्|
मलाई उनको रोजाई, उनलाई के मन पर्छ, उनलाई के मन पर्दैन सबै थाहा छ मलाई| खाजा खाएपछी वेटरले बिल ल्यायो| बिल संगै मिस्रि र सौप पनि थियो| उनलाई सौप मन पर्दैन थियो तर त्यो दिन उनले सौप खाएको देखेर ताजुब भए|
“तिमिलाइ यो मन पर्दैन हैन?” अचम्म मान्दै सोधे|
“हजुरलाइ मन पर्छ हैन? अब मलाई पनि मन पर्नु नै पर्यो|” उनले मलाई पेच हानेकी के गरेकी? उनको यो वाक्यको भाव र भनाइ निकै बेग्लै थियो|
“अनि मलाई जे मन पर्छ तिमीलाई पनि त्यहि मन पर्नु पर्छ भन्ने छ?”
“अनि जहिले किन रिसाउनु हुन्छ त मैले आफ्नो खुसि गर्न खोज्दा?”
“म सधै रिसाएको छु र?”
“अनि मेरो साथिसंग भेट्न जादा संगै जान खोज्नु हुन्न| मलाई समय पनि दिनु हुन्न| मैले जे गर्दा पनि चित्त बुझाउनु हुन्न यो के त?”
“त्यस्तो हैन के| मैले तिमिमा बदलाव चाहेको हो तर तिमीलाई मेरो हातमा चल्ने रोबोट बनाउन खोजेको हैन| मैले तिमीलाई मात्र समय दिन मिल्दैन| मेरो अरु पनि कर्तब्य छन्| अनि मैले तिमीलाई कहिले भनेको छु भन त, मलाई जे मन पर्छ त्यो मात्र गर भनेर|”
“भन्नु भएको छैन तर चाहनु त्यहि हुन्छ नि| नत्र किन हरेक कुरामा रिसाउनु हुन्छ|”
“भयो म केहि भन्दिन| तिमि खुसि छौ म संग?”
“छैन| म धेरै अघि देखि खुसि छैन|”
“अनि किन नभनेको मलाई?”
“मैले त्यति मिहिनेत गरेर हजुरलाइ पाए र अपनाए| मलाई हजुरलाइ यो सबै भनेर हजुरको मुटु दुखाउन मन थिएन र सकेको पनि थिन मैले| त्यसैले मैले हजुरलाइ केहि भन्न नसकेर, हजुरसंग बिस्तारै टाढा हुन खोजे| सुरु सुरमा हजुरलाइ मन पर्ने केटि हुन पनि खोजे तर सकिन| त्यसैले पनि हजुरको अघि चाही हजुरले चाहेको जस्तो हुन खोज्दै थिए| कति समय देखि हजुरलाइ यो सबै भन्न खोजेको थिए तर सकेको थिन| आज हजुरले आफै यो कुरा निकाल्नु भयो|”
उनको यो सबै शब्दले बाणको ताम गर्यो| शब्दको बाणले जब घोच्छ, त्यसपछि मन निकै पोल्छ| त्यहि नै भयो| अहिले सम्म मैले उनको लागि उनको बारे के के सोचिन| उनलाई पिडा होला, उनको मुटु दुख्ला भनेर कति सजक भएर मनमा अकुर खेलाएर बसेको थिए यति दिन| मन मनै आफुलाइ पापी, अपराधी के के सोचिन| अनि अहिले उनको यो शब्द सुन्दा मेरो मनमा के बित्यो होला| टाउकोमा आकाश खस्नु यसलाई नै भन्छ सायद| मसंग बोल्ने शब्द छैन| जब भावना थियो बोल्ने शब्द थिएन| जब शब्द रोजे, शब्दमा भावना नै थिएन|
“यसरि न तिमि खुसि हुन्छौ न म| अहिले पनि हामि दुवै खुसि छैनौ| यसरि सम्बन्ध चल्दैन| ज Lets breakup|” उनको जवाफ पनि हुन्छमा आयो मैले यति भनेपछी| उनलाई रेस्टुरेन्टबाट घर पुर्याइदिन्छु भन्दा मानिन उनले| “म आफै जान्छु|” भन्दै ट्याक्सीमा आफ्नो घर तिर लागिन्| उनको अनुहारमा कुनै भाव थिएन सम्बन्धको मलामी आएका थियौ, भाव कसरि होस् मनमा| तर दुखि त हुनु पर्ने हो नि उनि| उनि दुखि पनि भएको पाइन मैले| खैर दुबैको समझदारीमा अन्त्य भयो सम्बन्ध|
जावलाखेलबाट निक्लिए र बाइक चाह्बेलको सुपर मार्टमा रोके|
क्रमश..
