यदि एक हफ्ता पछी, हामिलाइ एकअर्का संगै बस्न मन नलागे भने के गर्ने भनि प्रश्न आयो| यहि प्रश्नको जवाफ खोज्दा खोज्दै एउटा सर्त पनि आयो| सुबोधले केहि यस्तो भन्यो, लाग्दैछ आफ्नो शब्द उसको स्वरमा सुन्दै छु|
सुबोध: “ संगै बस्ने भनेउ, मैले हुन्न भन्दा पनि मानिनौ| संगै बस्ने निर्णय लिनु सजिलो छैन, यो निर्णय पनि मुश्किल निर्णय हो| तर यो निर्णय सजिलो बनिदिन्छ अरु निर्णय सामु| ल हामि संगै बसेउ, हफ्ता दिनको समय पनि तोकेउ| अब हफ्ता दिन पछी पनि समय पर्याप्त लागेन भने समय थपौला| तर हफ्ता दिन पछी संगै नबस्ने निर्णयमा पुगेउ भने के हुन्छ? यो पनि त सोच्नु पर्छ| अहिले हामि बीच जुन सम्बन्ध छ त्यो राम्रो छ| पुरै काचो पनि छैन र पुरै पाकेको पनि छैन, आपको टिकौरा जस्तै| थोरै अमिलो छ अनि थोरै मिठास पनि| फेरी थोरै मिठो हुन्छ यो पनि, धेरै भयो भने पेट खराब अनि दात पनि| यस्तो राम्रो सम्बन्ध, हाम्रो अहिलेको कदमले केहि असर नपरोस् यसमा| हफ्ता दिन पछी हाम्रो निर्णय जे होस्, तर अहिलेको सम्बन्धमा केहि असर पर्नु हुन्न| संगै नबसे पनि, अहिलेको सम्बन्ध अन्त्य हुनु हुन्न| मेरो सर्त यहि हो|”
सुबोधले मेरै मनको कुरा गरेको हो, मैले नाइँ कसरि भनौ| भोलिबाट हामि संगै बस्ने भयौ| तर किन भोलिबाट? आज संगै बस्न कसैले रोकेको छ? हामीले साइत हेरेर भोलि देखि संगै बस्ने भनेको हैन| कुनै शुभ साइत हेरेर तय गरेको पनि हैन| फेरी भोलि उसलाई मैले कसरि भेट्नु? कहाँ भेट्नु? उसंग न मोबाइल छ र न मलाई थाहा नै छ, उ कहाँ बस्छ भनि| सधै जस्तो भोलि पनि बेलुका भेट्ने त पक्कै हैन|
म: “भोलि हामि कति बजे भेट्ने हो?”
सुबोध: “मेरो जुन समय पनि मिल्छ| तिमीलाई कुन समयमा सजिलो हुन्छ?”
म: “मलाई पनि त्यहि हो| बिहान १० बजे हुन्छ?”
सुबोध: “यदि तिमीलाई हुन्छ भने मलाई पनि हुन्छ|”
म: “ल १० बजे पक्का भयो| तर कहाँ भेट्ने?”
सुबोध: “तिम्रो घर कहाँ हो?”
म: “पामे भन्दा अलि पर|”
सुबोध: “त्यसो भए म त्यहि आउछु नि|”
म: “पामे हातमा अट्ने ठाउ हो र त्यहा आउदैमा मलाई भेट्नलाइ? एक त तिमिसंग मोबाइल छैन, अनि तिमि पामेमा कहाँ आउछौ भनि मलाई के थाहा?”
सुबोध: “ मसंग पो छैन| कोहि संग त होला नि| तिमि मलाई आफ्नो नम्बर देउ, अनि म त्यहाँ पुगेर फोन गर्छु|”
म: “ झ्याउ हुन्छ| तिम्रो होटेल कहाँ छ भन त|”
सुबोध: “ यहाँबाट पाच मिनेटको दुरीमा| ए बुझे बुझे, म बिहान १० बजे यहि आउने हो| हरे, तिम्रो संगतले मेरो दिमाग सकिन लागेछ| अघि सोच्नु पर्ने हो मैले| ”
म: “ जति सोचे पनि के गर्छौ| एक त ढिलो गरेउ सोच्नलाइ अनि त्यो पनि गलत सोचेउ| आज हामि यहि बस्ने हो, अनि भोलि होटेल जाने| होटेल जाने, तिम्रो लुगा लिने अनि मेरो घर जाने|”
सुबोधको यो बानि चाही निकै नराम्रो| हिस्किचाउने बानि छ| हिच्किचाएको हो कि भाउ खाएको| भाउ खाएको हो कि मन चोरेको| खोई, जे होस् तर उसको यो बानि मन पर्दैन मलाई| फेरी पनि एकछिन फकाउनु पर्यो उसलाई| एकछिन फकाउदैमा मान्छ| यो बानि चाही मनपर्छ फेरी| उसको बानि जस्तो होस्, उ मान्छे जस्तो होस्, मलाई उ मन पर्छ| भोलि देखि मात्र हैन, आज पनि संगै हुने भयौ हामि| अब संगै बस्ने भएपछी कोठा जान हतार छैन| जुन बेला गए पनि भइगयो नि, आफ्नै कोठा, आफ्नै मान्छे अनि आफ्नै समय| थप बियर पर्यो रोजाईमा| कोठा पुग्दा बिहानको 4 बजेको छ|
कोठा आफ्नो खुट्टामा पुगेको हैन, सुबोधको जिउको आडमा पुगे| सुबोधले पहिलो पल्ट हैन मलाई यसरि कोठा छाडेको| तेस्रो पटक हो| फरक यति छ, पहिलो र दोस्रो पटक म थोरै पनि होसमा थिइन| अहिले होसमा छु तर हालतमा छैन| सुबोधले कोठा नम्बर सोध्यो, बिर्सिए त मैले| कति हो मेरो कोठा नम्बर? सुबोधलाइ भन्न त मिलेन नि, अब मलाई कोठा नम्बर याद छैन| होटेलको चाबीमा किरिंग थियो, काठको किरिंग, अनि त्यसमा कोठा नम्बर लेखेको थियो| तर त्यति ठुलो किरिंग बोक्न गाह्रो हुन्छ भनेर किरिंग निकालेर मैले चाबी मात्र ल्याएको छु| नत्र किरिंगबाट नै थाहा हुन्थियो| याद आयो, कोठा नम्बर ११२, सुबोध र म मेरो कोठामा पुगेउ| सुबोधले ढोका खोल्न चाबी माग्छ, चाबी छैन मसंग|
पकेटमा हेरे, पकेटमा छैन| पर्समा हेर्न खोज्छु, पर्स नै छैन| पर्स तल बारमा नै भुलेछु| सुबोधलाइ कति रिस उठ्दो हो, तर उसले केहि भनेन| म पर्स लिन जाने हालतमा छैन| उसले मलाई ढोका अगाडी राखेर, आफु पर्स लिन गयो| कति समय लगाएको उसले जाबो एउटा पर्स ल्याउन| एक्लै बसेर के गर्नु मैले| एउटा नया साथि बनाए| मेरो नया साथि ढोका भयो| ढोका संग बोल्न लागे| म बोल्छु ढोका सुन्छ तर केहि बोल्दैन| म पनि कस्तो लाटी हो, कहिँ ढोका पनि बोल्छ र| हरे मेरो दिमाग, सुबोधसंग बसेर मेरो दिमाग पनि के भएको यस्तो| सुबोध एक्लै गएको थियो, अहिले एक अर्को मान्छे पनि उसंगै आउदै छ| उसंग कोहि केटा आउदै छ| यति राति केटासंग आउदै छ, कहिँ उसलाई केटा मन पर्ने त हैन नि? कहिले उसले मलाई ढोका दिदै छैन नि? के के सोच्छु फेरी म| नशाले मेरो सोच शक्तिलाइ यस्तो के असर गरेको| आफै माथि अनि भित्र भित्रै हास्न लागे| सुबोध मेरो अगाडी पुग्यो| उसले मेरो पर्स भेटेन छ| पुरै बार खोजेछ तर कहिँ भेटेन छ| पक्कै पनि मैले सुरुको बारमा छाडेको हुनुपर्छ| तर उसंग को आएको? उसंग आउने केटा को हो?
सुबोधलाइ सुटुक्क सोधे, उसले रिस्पेसनको भाइ भनि भन्यो| अब पर्स नभएपछी चाबी पनि छैन| चाबी नभएपछी कि बाहिर बस्नु पर्यो कि सुबोधको होटेल जानु पर्यो| यहाँबाट म कहिँ जाने हालतमा छैन| त्यसैले सुबोधले जुक्ति लगाएर होटेलको भाइलाई लिदै आएको हो| होटेलको भाइले ढोका खोलिदियो अनि हामि भित्र पसेउ| सुबोधलाइ लिदै ओछ्यानमा हाम फाले| म हास्न लागे, आफ्नै सुरमा हास्न लागे| म हासेको देखेर सुबोध अकबक्क भयो| उसलाई अलिकति मेसो छैन कि म किन हास्दै छु| उसको अनुहारमा अन्यौलता छाएको छ| मेरो हासो रोकिने नाम छैन, उ बाध्य भयो म किन हासेको सोध्न| उसलाई मेरो हासोको कारण बताउन खोज्छु तर सक्दिन| मेरो हासो रोकिने हैन| अझै एकछिन हासेको हासेई भए र बल्ल सुबोधलाइ मेरो हासोको कारण बताउने हालतमा पुगे|
हुन चाही के भएको भन्दा, अहिले हामि जुन कोठामा छौ, त्यो कोठा मेरो हुदै हैन| मेरो कोठामा मेरो ब्याग थियो, अनि अरु पनि सामान थियो तर यो कोठामा केहि छैन| अहिले हामि गलत कोठामा छौ, कोहि अरुको कोठामा छौ| सुबोध अत्तालियो, रिसेप्न्सनमा जान खोज्दै छ| मैले केहि हुन्न भनि सम्झाउन खोजे तर उ अझै पनि अत्तालिएको छ| उसलाई आफु तिर तान्न खोजे सकिन| म आफै उ तिर पुगे र उसलाई चुम्न लागे| उ झन् अत्तालियो| उसले केहि चाल नै पाएन के हुदै छ| केहि बेरमा उ साम्य भयो र उसले पनि मलाई चुम्न लाग्यो| एक अर्काको आखामा नियाल्दै, एक अर्काको ओठ चुम्दै छौ| चुम्बन भन्दा केहि अघि पुगेका मात्र के थियौ, सुबोधले यो यात्रा यहि टुंग्याईदियो|
“हफ्ता दिन पर्खिदा हुदैन?” उसले यति भयो र मैले पनि सहमति जनाए| सायद मैले भन्नु पर्ने थियो तर उसले भन्यो| उसलाई मेरो शरीर चाहिएको हैन, म चाहिएको हैन, मेरो साथ् चाहिएको हो, म यसमा पक्का भए| एक अर्काको अँगालोमा नै निदायौ दुवै|
बिहान १० बजे घर जाने योजना थियो, निन्द्रा १ बजे खुलेको छ| ओछ्यान छाड्न आलस्य लागेको छ तर घर जानै पर्यो अनि भाउजुकोमा पनि पुग्नु छ| दोधारमा पुगे| सुबोधलाइ भाउजुको घर लग्नु कि नाइँ? अहिले सम्म पनि मैले सुबोधको बारेमा भनेको छैन भाउजुलाइ| भन्नु पनि कसरि, अहिले सम्म भन्नलाइ पनि केहि थिएन| सुबोध र भाउजुको चिनजान गराउने निधो गरे| होटेलबाट २ बजे निक्लियौ| भाउजुको गएर एकछिन गफ गाफ अनि त्यसपछी घर|
“तिम्रो कार छ भन्ने कहिले भनेकी थिनौ तिमीले|” सुबोधले पहिलो पल्ट मेरो बारे केहि सोध्दै छ र म बारे जान्ने रुची देखाउदै छ|
“ भन्ने मौका नै मिलेन| मौका बिना भन्दा फेरी धक्कु लगाएको जस्तो हुन्छ|” जे हो त्यहि भने| गफ बीच मेरो घरको ढोका अगाडी पुगेउ| अनि केहि समयमा घर भित्र|
