कुरै कुरा बीच बुवाले मलाई केहि प्रश्न गर्नु भयो| प्रश्न भन्दा पनि मेरो झुठ समात्नु भयो बुवाले| “तैले त्यो नानि कलेजको साथि भनिस्, त कुन कलेज पढ्दै छस् र?”
बुवाले मेरो झुठ समात्नु भयो| आमासंग बहाना बनाउन बनाउन गाह्रो भएर, जे आयो त्यहि बोलेको थिए अनि आमाले केहि प्रश्न पनि गर्नु भएन| बुवासंग झुठ बोल्न त्यति सजिलो थिएन, बुवाले झुठ सजिलै समात्ने यदि झुठको बजन हलुका थियो भने| भन्छन नि “बाप बाप होता है” हो रैछ| मसंग दुइटा बिकल्प थियो, अघि बोलेको झुठलाइ अझै पनि निरन्तरता दिने र थप झुठ बोल्ने, त्यो पहिलो झुठलाइ सत्य जस्तो झल्काउन| अनि दोस्रो बिकल्प, आफुले बोलेको झुठ स्वीकार्ने अनि सत्य बोल्ने|
दुवै बिकल्पं सोचे जस्तो सजिलो हैन अनि त्यति गाह्रो पनि हैन| बिचार गर्न लागे, यदि मैले सत्य बोले भने के हुन्छ? बुवाले थप केहि प्रश्न सोध्नु हुन्छ अनि म त्यसको जवाफ दिन्छु, थप केहि प्रश्न अनि थप केहि जवाफ| मैले जे हो त्यहि बोल्न पाउथिए, केहि कहानी सोच्नु पर्थिएन जवाफ दिनु| सत्य बोल्नुको यो फाईदा थियो|
तर यदि झुठलाइ निरन्तरता दिने हो भने, मैले के गर्नु पर्ला? एक पछी अर्को झुठ बोल्नु पर्ने छ र झुठ बोल्दा हरेक शब्द सोचेर बोल्नु पर्ने हुन्थियो| हरेक शब्द बोल्नु अघि त्यो शब्दको लागि एउटा अर्को कहानी सोच्नु पर्ने| यति गरेर फल हात परे हुने नि तर त्यो अनिश्चित थियो| झुठ बोल्दा केहि आश त थियो तर यदि झुठ समातियो भने, यस्तो नमिठो तमाचा हान्छ त्यो झुठले| निर्णय लिन मुस्किल पर्दै थियो|
“इयर लस गर्न मन लागेन| फेरी डर लाग्यो, ३ 4 बर्ष नपढी बस्दा पढ्ने बानि नै गयो भनि के गर्नु भनि| त्यसैले अल्झिन भए पनि, कलेज ज्वाइन गरे|” झुठलाइ निरन्तरता दिने निर्णय रहयो मेरो|
“अनि आइटी कलेजमा इलामको प्रोजेक्ट कसरि?” बुवासँग झुठ बोल्न सजिलो छैन मैले अघि नै भनेको हो, बुवाको यो प्रश्नले केहि मुस्किलमा पार्यो| यदि म अनि इस्मी बीच केहि सम्बन्ध हुदो हो भने, म निर्धक्क भएर बुवालाई सत्य भन्थिए तर इस्मी र मेरो सम्बन्ध कसैले बुझ्दैन| मैले त बुझ्न सकेको छैन| सच्चि कुनै सम्बन्ध पनि छ र? सोच्न लागे बुवाको प्रश्नको जवाफ कसरि दिनु| फेरी अब सत्य बोल्न मिल्दैन, मैले अघिनै झुठ रोजेको हो|
“आइटी हैन बुवा, म्यानेजमेन्ट| म्यानेजमेन्ट थोरै समय दिएर पनि पास हुन्छु जस्तो लाग्यो, त्यसैले|” यो चाही निकै सटिक झुठ बोले मैले| बुवाले थप केहि प्रश्न गर्नु भएन मेरो कलेजको बारे अनि प्रोजेक्टको बारे| सबै चिज सजिलो निप्तियो सोचेर खुसि हुदै थिए|
“अनि पछी गएर बुहारी भन्नु पर्छ कि साच्चिकै साथि मात्र हो?” बुवाको यो प्रश्नको जवाफ मसंग थियो तर त्यो जवाफ बकम्फुसे लाग्न सक्छ बुवालाई| मलाई त त्यो जवाफ बकम्फुसे लाग्छ| तर त्यो जवाफ झुठ होस् जस्तो लाग्ने| कुनै बेला सोच्ने गर्थिए, यदी इस्मीको बिहे नभएको भए, सायद पछी गएर हाम्रो बिहे हुन्थियो| कल्पना त जे पनि गर्न पाइन्छ नि है, चाहे त्यो पानि उडेको होस् या आकाशमा पौडी खेलेको|
“बिहे भइसक्यो बुवा|” मैले दिन चाहेको जवाफ यो थिएन तर शब्द र सोच समेट्दा समेट्दै यहि जवाफ सृजना भयो| मैले इस्मीको बिहे भइसकेको कुरा भन्न हुन्थिएन सायद तर भनि हाले|
मेरो लागि यो जवाफमा आश्चर्य तत्व केहि थिएन तर बुवा अनुहार र भाव दुवैमा आश्चर्य पनि देखे| बुवाले मलाई एकहोरो हुदै हेर्दै, हातमा रहेको रक्सिको गिलास टेबुलमा राख्दै, बुवाले मलाई प्रश्न गर्नु भयो “के रे? के भन्छ?”
बुवाको यो प्रश्न पछी मात्र मैले बुझे, मैले भन्न खोजेको केहि अरु थियो तर बुवाले अरु केहि बुझ्नु भएछ| मैले इस्मिको बिहे भइसक्यो भन्न खोजेको थिए तर बुवाले मेरो र इस्मीको बिहे भयो सोचेको हुनुपर्छ| मैले भन्न नजानेको हो, त्यसैले आफुलाई सच्याउदै फेरी भने “इस्मीको चाही बिहे भइसक्यो| हजुरले गल्ति सोच्नु भएको हो बुवा|” बल्ल बुवाको अनुहारको भाव बदलियो| बुवालाई कस्तो हृदयघाट भएन छ|
“धन्न, नत्र बिहे गरेर मेरो पैसा जोगाइस् कि भनेर खुसि भएको म|” बुवा नभएर उहा मेरो साथि हो भन्दा मैले गल्ति भनेको हैन, तर बुवा यसरि नै जिस्किनु हुन्छ मसंग|
“मलाई पो पैसा जोगाइस् भन्नु भयो, मन मनै त इज्जत जोगियो भएको होला नि?” बुवासंग जिस्किन लागे म पनि| दुवै हास्न लागेउ, थप केहि पेग अनि आमा छतमा आउनु भयो| आमा छतमा आउनु भएको मतलब, बुवा र मेरो रक्सि खाने कोटा पुग्यो| अब हामि तल जानु पर्छ| आमा आउने बित्तिकै बुवाले चुरोट छतबाट हत्याउनु भयो| बुवा चुरोट तान्नु हुन्छ, आमालाई पनि थाहा छ तर आमाको अघि बुवाले कहिले चुरोट पिउनु हुन्न| इस्मीलाइ मेरो कोठा दिइएको थियो र म बैठक कोठामा सुत्नु पर्ने| ११ बज्न लागेछ, इस्मी सुति सकिन् सोचेर म आफु पनि सुत्ने तरखरमा लागे| सानो आवाजमा गित बजाए, अनि सुत्ने कोशिश सुरु भयो| “नजिक” भन्ने गित बजाए सुरुमा|
मोबाइलमा मेसेज आयो र लेखिएको थियो “आउदिन पनि”| इस्मीले गरेकी मेसेज| गितको बोल “नजिक न आउ” अनि उनले “आउदिन पनि” लेखेर पठाएकी| उसले चाही जानेकी छे यस्तो कुरा|
“सुतेकी छैनौ?” मेरो मेसेज| उनले छैन भनि रिप्लाई गरिन्|
“किन नसुतेको त?” मेरो यो प्रश्नको जवाफमा उनले जिस्केर “तिमि छेउमा छौ, सुत्न नै डर लाग्यो|” भनि जवाफ दिइन्| गफ हुदै गयो र रात पनि बढ्दै गयो| १२ बज्न लागेको छ र सुत्ने नाम कसैले लिएको छैनौ| भोलि बिहानै इलाम जाने भनेको थियौ, अहिले सुतिनौ भने निन्द्रा खुल्न गाह्रो हुन्छ|
“ल सुत, १२ बज्न लाग्यो, भुत आउछ नत्र|” इस्मीलाइ मेसेज गरे|
“तिमि छौ त, भुत्त आए पनि तिमीलाई देखेर भाग्छ| ल ल गुडनाइट|” इस्मिले यति लेखेर मेसेज गरिन् र मेरो निन्द्रा सिधै बिहान खुल्छ|
