निदाएको शरीरलाइ म neutral मा रहेको बाइक भन्न रुचाउछु: स्टार्ट त छ तर गति छैन| अघि बढ्दैन तर समयको इन्धन सकिदै छ| बिहान ८:४५ मा इन्जिन तात्यो मेरो शरीरको| पहिलो गेयरमा हाले, दिनको सुरुवात भयो|
बिहान उठ्ने बित्तिकै, एकछिन मोबाइल चलाउने| ५ मिनेट भन्दा भन्दै ३० मिनेट बितेको पत्तो हुदैन| समय पनि तलब जस्तो है, कुन बेला कहाँ खर्च हुन्छ थाहा नै नहुने| सकिएपछी चाही पुर्पुरोमा हात लगाएर बस्न पर्ने| मेरो दैनिकी यसरि सुरु हुन्न| उठ्ने बित्तिकै १० मिनेटको मेडिटेसन| मेडिटेसन पछी एक कप ब्ल्याक कफी, केहि बिस्कुटको पिस, अनि एक खिल्ली चुरोट| यसरि हुन्छ मेरो दिनको सुरुवात|
“मेडिटेसन गर्ने गर्नुस्, चुरोट खाने बानि छुट्छ|” भूपू मायालुले यति भनेर, कर गर्दै मेडिटेसनको बानि बसाएकी थिइन्| चुरोट त छुटेन, उनले पो छाडेर गइन्| मैले चुरोट छाडिन भनेर मलाई छाडेकी हैनन् उनले| समय छ हजुरसंग? छ भने यो प्रसंग खोलिहाल्न मन लाग्यो| सम्बन्धमा भएपछी माया नगर्ने हुन्न, माया हुन्छ नै| कसैले थोरै गर्छ कसैले धेरै| मायालाइ पनि नाप्न सकिन्छ भनि नसोध्नु| नाप्न र दाज्न नसकिने केहि छैन, मात्र तौल थाहा हुनुपर्छ त्यो मान्छेको चरित्रको| म के भन्दै थिए? अह, सम्बन्धमा भएपछी माया नगर्ने हुन्न, माया हुन्छ नै| कसैले थोरै गर्छ कसैले धेरै| कसैले साचो गर्छ कसैले झुठो| कसैले क्षनिकको माया गर्छ, अनि कसैले गरि नै रहन्छ| उनलाई मेरो दुइटा बानि मन नपर्ने|
पहिलो चुरोट, दोस्रो म रेडियोमा कार्यक्रम संचालन गर्ने| चुरोट बानि, माया जीवन| जीवनमा एउटा बानि बिना बाच्न सकिन्छ तर जीवन नै नभए भने के गर्ने? किस्ताबन्दीमा चुरोट छाड्दै थिए| दिनको एक बट्टाबाट, दिनको दुइ चुरोटमा पुगेको थिए| चुरोटेको एउटा बानि हुन्छ| जब सम्म बिहान चुरोटको धुवा फोक्सोमा अपलोड हुन्न, नितम्बबाट केहि डाउनलोड हुनै गाह्रो हुने| ल भयो यस्ता नचाहिने कुरामा समय नफ्यालौ|
“महिनाको ३००० को लागि के त्यो राति राति काम गरेको?” जहिले यहि भन्ने गर्थिन् उनले| पैसाको लागि गरेको हैन भनि उनलाई न बुझाएको हैन तर सकिन| सुरुमा फकाउन खोजिन, मैले मानिन| यसरि नै कुरा बढ्दै गयो, अनि उनले आफै कार्यक्रममा फोन गरिन्| समस्या हामि बीच थियो, उनले त्यसरी कार्यक्रममा फोन गर्न जरुरि थिएन| पात्र बदलिएर, प्रसंग बदलिएर, कार्यक्रममा उनले त्यो सबै भनिन्, जुन मलाई पहिले देखि थाहा थियो| कार्यक्रममा उनको प्रश्न “अब ,म के गरम? उसलाई छाडौ कि आफु जहिले जस्तो compromise गरौ?”
“जब तिमि खुसि नै छैनौ भने तिमि तिमि हुन सक्दैनौ| तिमीलाई उ प्यारो होला तर उसलाई उसको पेसा|” मेरो यो जवाफ पछी हामि कहिले बोलेनौ|
आथाथाथा, चुरोटले पोल्यो| चुरोट हातमा छ भन्ने भुले| अतितलाइ यसै पिडादायी भनिएको हैन| पहिले मुटु पोल्यो अहिले हात| पहिले मेरो समय खेर गयो अनि अहिले हजुरहरुको| मेडिटेसन… मेडिटेसन भन्दै थिए है? चुरोट छाड्न मेडिटेसन सुरु गरेको| अहिले मेडिटेसन पछी चुरोट तान्न पाउदा, स्वर्ग भ्रमण गरेको अनुभव हुने| हजुरसंग बोल्न लागे, यहाँ अफिस ढिला हुने बेला भयो|
ढिला भएको बेला, शरीर पखाल्ने जमर्को गरिन| मन सफा छ, शरीरलाइ पछी ध्यान दिउला| अफिसमा फेरी मेरो भूमिका अर्कै छ| यहाँ म एउटा नया पात्र भएको अभिनय गर्छु| पुग्ने बित्तिकै, देखे जतिलाइ “Good morning” भनि भ्याउछु| अल्छी लाग्नेछ, यदि मैले अफिसको सबै कुरा भन्न सुरु गरे भने| अल्छी हजुरहरुलाई हैन, मलाई लाग्नेछ| त्यसैले, छोटो मिठो भन्छु| यो ९ घण्टाको समयमा, 5 घण्टा मेरो औलाहरु ल्यापटपमा टासिएको हुन्छन भने, १ घण्टा गफ अनि चुरोटलाइ छुट्याएको हुन्छु| बाकिको ३ घण्टामा १ घण्टा खाना, चिया र नास्तालाइ| बाकि दुइ घण्टा, कहिले मिटिंग, कहिले के कहिले के| नाम भन्न बाकि छ है? मेरो नाम सुलभ हो| मेरो बारेमा पर्याप्त जानकारी दिए, केहि भन्न छुटेको छ भने, कन्जुसी गर्दिन|
अब सुरु गरौ कथा ब्ल्याक कफीको| अफिसको समय ७ बजेसम्म, कार्यक्रम नौ बजे सुरु हुने| १ देखि डेढ घण्टा सम्म खालि समय हुने यो बिचमा| जाम नपर्ने हो भने, यो समय पशुपतिको परिसरमा बिताउन सहि समय हो| पशुपतिमा आरति हेर्न आउनेको भिड हुने| कहिले भिडमा सामेल हुने, अनि कहिले भिडबाट पर| जब भिडबाट पर भइन्छ, आफुसंग नजिक भइन्छ| केहि गलत भने| जब भावना अनि अपेक्षाबाट पर बसिन्छ, तब आफुसंग नजिक भइन्छ| पशुपति पुग्ने सोच मात्र हो|
यो समयमा कहिले रेड मद्, कहिले हिमालयन जाभा| धेरै जाने भएर, वेटरले देख्ने बित्तिकै मुस्कुराउदै स्वागत गर्छ| उसले मलाई देखाएको मुस्कान देखे| मन मनै त सोच्दो हो, “कहिले टिप पनि दिदैन| घन्टौ बस्छ, दुइ काफ कफी मात्र खान्छ| चुरोट पनि आफै ल्याउछ| खाजा पनि केहि मगाउदैन|” उसले जे सोचोस्, त्यो मेरो सरोकारको बिषय हैन| मेरो सरोकारको बिषय हुनु पनि हुन्न|
मलाई समय बिताउन स्थान र शान्त वातावरण चाहिएको, मैले पाए| यो एक देखि डेढ घण्टाको समयमा, म नियाल्नु ब्यस्त हुन्छु| कहिले छेउछाउमा बसेको मान्छे नियाल्छु| कहिले बाटोमा गुडेका गाडी नियाल्छु भने कहिले ट्राफिक दाइलाइ| चुरोटको धुवा बीच सोचको आगमन हुन्छ| ट्राफिक दाइ बाध्य हुनुहुन्छ धुलोमा त्यसरी उभिन| अनि म यहाँ, रम्दै छु यो धुवामा बिलिन हुन| नियाल्दै जादा, केहि लायक भेटे भने, त्यो आफ्नो डायरीलाइ सुनाउछु| डायरी भन्दा याद आयो, हिजो डायरी लेखेको छैन| “मिस कफी” को मेसेजले डायरी लेख्ने मौका नै मिलेन| फेरी आज एकचोटी पनि मेसेज आएको छैन “मिस कफी” को| हिजो पनि “मिस कफी” ले धेरै समय लिएकी थिइन्, आज “मिस कफी” लाइ छाडी डायरी लेख्छु| हिजो कार्यक्रमको एक जनाको फोन आएको थियो| उनीसंगको गफ डायरीलाइ सुनाउनु छ? हजुरहरु पनि सुन्ने हो? ल डायरी अनि हजुरलाई संगै भन्छु|
“फोन बज्छ स्टुडियोको…
