हावामा सुगन्ध छ, एउटा सुगन्ध जुनसंग म चिर परिचित छु| यो सुगन्धमा पहिले नरमिए पनि, यो सुगन्ध कसैको प्रतिबिम्ब थियो, मायाको प्रतिबिम्ब, यो सुगन्ध अपेक्षाको हो| अघि सम्म उनको खोजीमा यता उता हेर्दै थिएँ बसमा| पहिलो देखि अन्तिम, सबै सिटमा आखाँ पुर्याईसकेको थिए उनको खोजिमा तर जब उनि अहिले मेरो छेउमा नै थिइन्, आफ्नो मुन्टो घुमाएर उनीलाई हेर्न पनि सकेको छैन| मलाई थाहा छ उनि मेरो छेउमा उभिएको छिन् तर उनको अनुहारमा मुस्कुराएर हेर्दै, “आउ छेउमा बस” भन्न आट आएको छैन|
म झ्यालबाट बाहिर हेरेको जस्तै गर्दै थिए, फेरी ध्यान चाही अपेक्षामा थियो| किन उभिएकी के उनि, बसे हुने नि| मेरै छेउमा बस्नु पर्दैन तर यति सिट खालि छ, कहिले बसे पनि हुने नि| मलाई अप्ठेरो महसुस हुदै छ| उनिसंग बोल्न मन छ, बोल्न नपाए पनि सधै झैँ हेर्न मन छ तर…. उनि तिर फर्किएर उनिसंग बोल्ने कोशिश नगरेको हैन तर लाग्दैछ, संकोचले सिमेन्टको काम गर्दैछ, लाजले पानिको काम गर्दैछ, समयले बालुवाको काम गर्दैछ, अनि यो सबैको मिश्रणले सिर्जना भएको कंक्रिट मेरो घाटीको वरिपरी जमेको छ, जस कारणले गर्दा मैले चहहेर पनि उनितिर फर्किएर हेर्न सकेको छैन|
“तिमि जहिले यस्तो हो?” उनले सोधिन् मलाई| दोधारमा परे फेरी म| पुरै ध्यान उनि तिर भएता पनि, झ्याल बाहिर घोरिएर हेरेको नाटक गर्दै थिए| उनले बोलाउने बित्तिकै हेरे भने मेरो नाटकको पर्दाफास होला कि भन्ने डर र हेरिन भने दोस्रो पटक उनले नबोलाउली भन्ने डर| माया जुवा हो, यसमा कि दिल हारिन्छ कि याद जितिन्छ, त्यहि जुवा खेले मैले र नसुने जस्तो गरे| तर फेरी आफुलाई रोक्न सकिन र थोरै नाटक अझै गरे अनि उनी तिर फर्किदै भने “के भनेको? मैले राम्ररी सुनिन नि|”
“तिमि जहिले यस्तो हो भनि सोधेको!” उनले अघिकै प्रश्न फेरी दोहोर्याइन्|
“कस्तो?” उनको प्रश्न बुझिन मैले, त्यसैले पनि मैले उनलाई यो प्रश्न गरे| फेरी नबुझी जवाफ दिनु कसरि, केहि तल माथि भयो भने नि|
“जहिले उदास मात्र देख्छु तिमीलाई|” उनले यति भन्दा मेरो मनमा भावनाको एउटा नया मूल भेटियो| उनले मलाई जहिले बिचार गर्ने गरेकी छिन्? उनले जहिले मलाई देख्छिन? कलेजमा मात्र कि बसमा पनि उनले मलाई बिचार गर्छिन भनि जान्न मन लाग्यो|
“जहिले रे? जम्मा एक चोटी भेटेको छौ जहिले रे|” भूमिका बनाउन जानेको थिए मैले, त्यहि नै गरे|
“यो बसमा तिमि एक्लै हुदैनौ, तिम्रो वरीपरि धेरै मान्छे हुन्छन| तर तिमीलाई कसरि थाहा होस्, जहिले टोलाएर बसेको हुन्छौ|अनि कसरि थाहा होस् तिमीलाई वरिपरी को छ? के चल्दैछ भनि| कहिले काही वरीपरि हेरेर चिनेको मान्छेसंग बोले नि हुने नि|” म बसमा भएको उनलाई थाहा रैछ, उनले हरेको दिन देख्ने रैछिन मलाई| मतलब उनले मलाई भुलेकी छैन अनि मैले उनलाई भुल्न दिएको छैन| क्षितिज पारि के हुन्छ थाहा छैन, वृत भन्दा गोलाकार के हुन्छ थाहा छैन, समुन्द्रको गहिराइ थाहा छैन, आकाशको सिमा थाहाछैन, भगवानको अस्तित्व थाहा छैन, अनि यो पनि थाहा छैन कि म आज कति खुसि छु|
“म टोलाउने मान्छे मलाई केहि थाहा भएन| तिमि थाहा हुने मान्छे, तिमि त बोल्न सक्थियौ नि|” जाकिर खानले भने जसरि म पनि सख्त लौन्दा जस्तो हुन खोज्दै थिए| भन्नु पर्दा नारिवर जस्तो, बाहिर कडा अनि भित्र नरम| फेरी मेरो जीवनमा बादल मात्र हैन, उनि पनि जरुरि थिइन्|
“सधै तिम्रो छेउमा कोहि हुन्थियो, आज एक्लै थियौ अनि मौका मिल्यो|” उनले यति खुलेर बोल्छिन भनि कल्पना गरेको थिइन मैले| हुन त पहिलो भेटमा पनि निकै बेर कुरा भएको थियो तर जहिले दशैं हुन्न सोचेको तर आज पनि दशैँ झैँ भयो| उनि केटि, उनले थोरै भाउ खान सक्थीइन्, थोरै नाटक गर्न सक्थीईन्, थोरै धुर्की लगाउन सक्थीईन्, थोरै भूमिका बनाउन सक्थीईन् तर उनले त्यस्तो केहि नगरी सिधा जवाफ दिदै थिइन्| यसरि उनि मेरै छेउमा आएर बसिन् अनि थप गफ सुरु भयो|
“मैले आफ्नो प्रश्नको जवाफ अहिले सम्म पनि पाइन|” एकछिन पछी उनले यस्तो भनिन्| मैले कुन प्रश्नको जवाफ दिन बाकि छ र? हो उनलाई पनि यहि प्रश्न गरे|
“किन जहिले उदास हुन्छौ? किन जहिले सोचमा डुबेको हुन्छौ?” उनले आफ्नो प्रश्न प्रस्त्याईन्|
“उदास छैन म| तिमीले मेरो मुस्कान हेर्न नजानेको रैछौ| कसैको मायामा डुब्न नसकेर सोचमा डुबेको हो! बुझेउ?” मैले सक्दो कोशिश गरे, आफ्नो जवाफमा रस भर्ने| कबिता कोर्ने बानि थियो, त्यो बानिले सहयोग गर्यो थोरै भएपनि| यस्तै गफ हुदै गयो र उनले थप मेरो बारे केहि प्रश्न गरिन्| केहि प्रश्नको सत्य जवाफ दिए भने केहि प्रश्नको जवाफ लुकाए|जे होस् तर मनमा एउटा भावनाले बास गर्न सुरु गर्यो| मलाई शंका छ, शंका गलत शब्द हो, मलाई के आभास हुदै छ भने….
