इस्मी नराम्री हैन, अत्तिनै राम्री छिन् तर उनलाई त्यो नजरले अहिले सम्म हेरेको छैन| यो कुरा पछी, साथिको नाम किन सिलिन्डर भयो भन्छु है| पहिलो पटक काठमाण्डौ आउदा, झोला दुइटा थियो, एउटा खालि अनि एउटा भरि| मनमा सपना चाही तन्न, अत्तिनै धेरै| जति खल्ती खालि हुदै जान्थियो त्यति सपना बढ्दै| यसरि मैले यो साथिलाइ भेटेको थिए| साथिको नाम पदम| पहिले छुट्टा छुट्टै बसिन्थियो तर संगै बस्न लागियो| कारण धेरै छन्, त्यस मध्य एउटा हो पैसा जोगिने| मुख्य कारण नै यहि भने पनि हुन्छ अनि अर्को हो समयको बचत| एक जना बस्दा र दुइ जना बस्दा पनि कोठा भाडा उही हो अनि एक जनालाइ खाना पकाउने समय र दुइ जनाको लागि खाना पकाउने समय पनि उही हो| २ पछी ३ अनि 4 अनि ५| एउटा ठुलो कोठामा ५ जना बस्न लागियो| ठुलो कोठा अनि एउटा भान्सा|
एउटा टेबुल पनि किनिएको थियो| पैसा जोगीन्थियो, जोगिएको पैसाले सामा जोड्ने हामि| मैले साथीको नाम अहिले अम्म भनिन है| उसको नाम चन्दन हो| खाना खाने समय जहिले एक जनालाइ टेबुलमा ठाउ नपुग्ने| चन्दनको कद सानो थियो र थोरै मोटे पनि थियो| त्यस्तो मान्छे, जहिले सिलिन्डर माथि बसेर खाना खान्थियो| एक दुइ दिन त्यसरी नै भयो अनि उसको नाम नै सिलिन्डर भयो| अहिले पनि सिलिन्डर भनेर जिस्काउछौ हामि उसलाई| अझ रमाइलो कुरा के हो भने, चन्दन अहिले पनि सिलिन्डरमा नै बस्न रुचाउछ|
मेरो नाम चाही नाइटो छ| सबैलाइ यो नाम थाहाछैन, केहि साथिलाइ मात्र थाहा छ| यसको पछाडी पनि एउटा कहानी छ| गाउबाट आउदा या गाउ जादा, जहिले म रात्रि बसमा जाने| बाटो लामो थियो, अनि रात्रि यात्रा मन पर्ने मलाई| त्यसैले पनि जहिले साझको बस समातेर बिहान घर पुग्थिए| साथीले सोध्ने गर्थिए “कुन बेला जान्छस्, के मा जान्छस्?” मेरो जवाफ जहिले “नाइटमा” हुन्थियो| नाइट गाडी भन्नु पर्ने नाइट मात्र भन्थिए म| भाव बुझे शब्दको के महत्व सोचेर भनेको, साथिहरुले जिस्काउने बाटो पाए| मैले नाइट भनेको सुन्दा सुन्दा, उनीहरुले मेरो नाम नै नाइटो राखिदिए| नाम पछाडीको कारण यहि हो| आजको दिन, यहि मिठो सम्झना सहित अन्त्य गरौ है| रात अबेर भइसक्यो| अब गर्नु के नै छ र|इस्मीको नम्बर छ, उनलाई फोन गर्न भनि मनले जिद्दी गर्दै छ तर सम्झाए र फकाए मनलाइ| यति राति फोन गर्दा उनले के सोच्दी हो|
बिहान उठ्ने समय सधै उही हुन्छ मेरो| बिहान उठ्यो अनि अफिसको लागि तैयार हुन लाग्यो| तैयार खासै केहि हुनु पर्दैन| ल्यापटप र चार्जर ब्यागमा हाल्यो, ब्रस गरेर मुख धोयो, मन लागे नुहायो नत्र त्यो पनि पर्दैन| यति हो| बिहानको पहिलो चिया पनि अफिसमा नै पिउने बानि छ| घरमा भनेको बिहान, पेट खालि बनाउनु अघि चुरोट मात्र तान्छु| चुरोटको धुवा शरीर भित्र नपुगेसम्म , मलद्वारबाट मल बाहिर आउन नै मान्दैन| हाहाहा| अचम्म चाही अचम्म हो, जति बल गरे पनि, चुरोट नभयो भने, बिहान हलुको हुन निकै मुस्किल पर्ने| आज पनि त्यहि हुदै छ| हिजो जम्मा 4 खिल्ली चुरोट थियो मसंग| एक खिल्ली इस्मीले भाचिन्, बाकि तिन वटा राति नै सकियो| फर्किदा चुरोट किन्ने सोच न आएको हैन तर इस्मी संगै हुदा आट आएन|
अफिस जान भनि तैयार भए| इस्मीलाइ फोन नगरी बाइक स्टार्ट गर्न सकिन| घन्टी बजेको छैन र घन्टी बज्नु अघि नै फोन काटे मैले| फेरी एक पल्ट सोचे, मैले फोन गर्नु ठिक हुन्छ कि नाइँ| आफ्नो प्रश्नको जवाफ आफैले दिए फेरी, “जब संगै घर आउन हुन्छ भने, संगै अफिस जान पनि हुन्छ|” इस्मीलाइ फोन गरे|
“कहाँ छौ?” इस्मीको हेल्लो पछी मैले प्रश्न गरे|
“हिजो तिमीले जुन घर अगाडी छाडेको छौ, त्यहि घर भित्र|” इस्मीको सरल र मिठो जवाफ|
“ म अफिस जान लागेको|” मैले भूमिका बाध्न खोजे|
“ के भयो त!” मैले त्यति मिहिनेत गरेर खडा गरेको भूमिकाको ढांचा, उनले आफ्नो तिन शब्दको प्रयोगले एकैपल्टमा ढालिन्|
“केहि हैन|” मैले केहि भन्न जानिन अनि उनि हास्न लागिन् मेरो यो जवाफ सुनेर| उनले मेरो खुट्टा तान्दै थिइन्, उनि सफल पनि भइन्| मैले यो कुरा अघि नै बुझ्नु पर्ने हो|
“ तिमि कस्तो माया लाग्दो के| तिमि जहिले यस्तै हो?” इस्मीले हास्दै आफ्नो वाक्य पुरा गरिन्| यति मायाले मलाई माया लाग्दो भनिन्, मिल्थियो भने दुध चुस्ने बच्चा बनिदिउ जस्तो लाग्यो| धेरै बोले क्या हो| मिलाएर बुझ्नु है|
“ हास हास| सोझो भयो भने जसले पनि हेप्ने के|” मेरो जवाफ|
“ यस्ता कुरा छाड, म ११ बजे मात्र हिड्छु|” इस्मीले यति भनेपछि, सधै जस्तो एक्लै जान तैयार हुन लागे| तैयार भइसकेको थिए, बाइक स्टार्ट गरे र अफिस पुगे|
“आसिफ, मिटिंग बस्नु पर्छ| ब्याग राखेर आइ हाल मिटिंग रुममा|” अफिस भित्र पस्न पाएको छैन, शिशिर दाइले मिटिंगको लागि बोलाउनु भयो| कहिँ केहि काम बिग्रियो कि भनि तनाब पो भयो| काम बिग्रिएको भए हिजै राति फोन आउनु पर्ने हो| काम नमिलेर भन्नु कि काम बिग्रिएर, कहिले काही रात भरि काम गर्नु पर्थियो, चाहे घरमा बसेर होस् या अफिसमा| काम बिग्रिएको भए पनि त्यस्तो बिजोग हुने गरि बिग्रिएको छैन भनि निर्धक्क भए| ब्याग राखेर मिटिंग रुम पुग्न ३० सेकेन्ड पनि लाग्दैन, तर सोच यति आउने दिमागमा| यो ३० सेकेण्डमा, दिमागमा बिश्व युद्ध ३ सकिन्छ| गालि खाने आफ्नो ठाउमा छ, यहाँ बिहान राम्ररि हलुको पनि भएको छैन म| अफिस पुग्ने बित्तिकै चुरोट तान्छु अनि ट्वाइलेट पस्छु सोचेको, मिटिंग रुम पस्नु पर्ने| यस्तो बेला मिटिंग बस्दा के हुने हो मेरो, पेटको गु दिमागमा पुग्यो भने| हाहा| जिस्किएको नि फेरी|
“के भयो दाइ? के बिग्रियो?” पहिले आफ्नो गल्ति स्विकार्दा, गालि कम खाईन्छ|
“ बिग्रियो रे| हसाउने बिहान बिहानै| नया प्रोजेक्ट आएको छ, त्यसकै लागि हो|” दाइको यो जवाफमा खुसि पनि छु अनि दुखि पनि| गोरु पेलान् काम गर्नु पर्छ| फेरी नया काम सिक्ने राम्रो मौका पनि हो| आजको दिन मिटिंग रुममा नै सकियो| खाना खान र चुरोट तान्न बाहेक, मिटिंग रुमबाट निक्लिएको पनि छैन| अनि एक पटक हलुको हुन पनि निक्लिएको हो, यो त बिर्सिन नि भएन| ६ बजे काम सकियो, आजको लागि, तर अब यसरि नै हफ्ता दिन ब्यस्त हुने भइयो| यस भन्दा धेरै व्यस्त|
“ आसिफ, आज बाहिर बसौ| दिउसो भरि यति काम गरिएको छ|” दाइको प्रस्ताभलाइ एक दुइ पल्ट पहिले पनि नाइँ भनेको थिए, यो पटक मैले नाइँ भने पनि, दाईले मलाई घिसारेर भएर पनि लानु हुन्छ| शिशिर दाइ, सुजन अनि बाकि केहि साथि आज बाहिर बस्ने भइयो| बस्ने ठाउ पक्का भएको छैन| ठाउ खोज्न लागियो| बबर महलमा अवस्थित, “काठमाण्डौ बुटिक कटेज” बस्ने भइयो| बिहान अफिस आए देखि एक चोटी पनि फोन हेर्न पाएको थिइन| फोनमा हुने केहि हैन पनि, गेम खेल्नलाइ हो, आज त्यो समय पनि मिलेन|
फोनमा इस्मीको मेसेज देखे| दिउसो ३ बजे “कफी?” लेखेर मेसेज गरेकी थिइन् उनले| कस्तो दिन मेसेज गरेको उनले| आज दिन गलत| मैले मेसेज रिप्लाई नगर्दा उनले के सोचिन् होला फेरी| हुदा खादाको तनाब भएर आयो| इस्मीलाइ फोन गरे, फोन अफ छ उनको| “सरि, आज अत्तिनै बिजी भए, भर्खर मोबाइल हेर्दै छु|” यति लेखेर पठाए उनलाई|
भोलि बिहान अफिस आउनु पर्ने, चाडै सुत्नु पर्छ| हामि होटेलको लागि निक्लि हालेउ, समय खेर किन फ्याल्नु| कस्तो राम्रो होटेल| भयो, बयान गर्नु भनेको सुन्दरताको बेइजत गर्नु हो| जम्मा 4 कोठा तर अत्तिनै राम्रो, कटेज जस्तो, भयो भयो अरु केहि भन्दिन| ब्याग कोठामा छाडेर हामि रक्सि पिउन लागेउ| ९ बजेको छ, अनि हामि नशामा डुबीसकेउ| मोबाइल कोठामा थियो| इस्मीको रिप्लाई आयो कि भनि हेर्ने चाहना भयो, बहाना बनाएर कोठा पुगे| इस्मीको मेसेज छैन, तर ३ मिसकल छ| त्यो पनि एक घण्टा अगाडी|
मैले यता आउछु भनि भनेको छैन उनलाई, भन्नु पर्ने थियो| दिमागले बिचार पुर्याएन अनि मैले दिमाग पुर्याइन| उनले सगै घर जान भनि फोन गरेको हुनुपर्छ अनि म यहाँ आफैमा रम्दै छु| अहिले फोन उठाइन अनि दिउसो मेसेज रिप्लाई दिन पाइन, उनले के के सोची होलिन्| यदि उनको ठाउमा म भएको भए, म त के के सोचेर भ्याउथिए| अहिले पनि सोच्दै नै छु| फोन गरे उनलाई|
“कहा छौ?” यहि प्रश्न मैले गर्न लागेको थिए तर उनले मलाई यो प्रश्न गरिन्
“आज अफिसबाट बाहिर आएको छु, बाहिर नै बस्ने भए| अलि पिएको पनि छु| तिमि कहाँ?” मैले पनि प्रश्न गरे| थोरै पिएको छु भनि भने तर मेरो बोलिले प्रस्ट हुन्छ, थोरै हैन धेरै लागि सक्यो भनि|
“भनेर जानु पर्छ नि| म यहि शंखमुलटावरमा छु|” म धेरै झ्याप भएको हो कि उनले झुठ बोल्दै छिन्?
“किन शंखमुल?” फेरी पनि प्रश्न गरे|
“तिमीलाई फोन गरेको, तिमीले फोन उठाएनौ| पठाओ पाएन, ट्याक्सी पनि छैन| कसरि जानु|” उसले मलाई पहिलो प्राथमिकता दिदा खुसि हुनुपर्ने हो तर ग्लानि महसुस भयो| मेरो आश गरेर बसेकी थिइन् उनि, अनि मैले गर्दा उनले दुख पाइन्|
“अब के गर्ने?” मसंग उपाय छैन, उनलाई नै सोधे|
“खै, तिमि रमाइलो गर, म हिड्दै जान्छु|” उनले यति भनि फोन राखिन् र मेरो दिमाग खालि भयो| अब के गर्न भनि सोच्न नै सकिन| कसरि ठिमीसम्म हिडेर पुग्छिन् उनि|
हेल्मेट लिएर कोठा बाहिर निक्लिएरम, बाइक स्टार्ट गरे र शंखमूल टावर तिर लागे| त्यता फेरी साथिहरुले के भयो भनि सोध्दै थिए तर मसंग जवाफ दिने समय छैन| शंखमुल टावर पुगे| निकै नै मात्तिएको छु, यो हालतमा किन म बाइक हाक्दै छु भनि मलाई नै थाहाछैन| शंखमुल टावर पुग्छु उनि छैनन्| फोन गर्छु फोन उठ्दैन|उनि रिसाएर फोन न उठाएको हुनुपर्छ सोचे| तर उनि कहाँ छिन्? कहिँ साच्चिकै हिड्दै त जादै छैनन् नि उनि? उनलाई खोज्दै जाने निर्णय गरे| यो मैले हैन, मदिराले गरेको निर्णय हो| कोटेश्वर सम्म उनलाई खोज्दै, बाइक १० को स्पिडमा लगे| त्यहि पनि इस्मीलाइ कहिँ देखिन| अगाडी ट्राफिक प्रहरी छ, मापसे जाच हुदै छ| के गर्ने भनि सोच्न लागे| प्रहरीलाइ छलेर भएपनि पुग्छु सोच्यो दिमागले, दिमाग हैन मदिराले| तर सोचेको जस्तो नहुने, प्रहरी दाइले समाते..
